काठमाडौं- दुर्लभ रोगीहरूलाई सहयोग गर्ने युरोपेली संस्था युरोपियन अर्गनाइजेसन फर रियर डिजिजले आयोजना गरेको अन्तर्राष्ट्रिय फोटोग्राफी प्रतियोगितामा पोखराका खिम लामिछानी ‘काजी’ले खिचेको तस्बिर विश्वकै उत्कृष्ट ५ मा परेको छ।
फोटोग्राफीका माध्यमबाट दुर्लभ रोगबारे जनचेतना फैलाउने उद्देश्यले वर्षेनी आयोजना गरिँदै आएको प्रतियोगितामा काजीले खिचेको आफ्नै छोराको तस्बिर उत्कृष्ट ५ मा पर्न सफल भएको हो।
काजीका छोरा अनिमेषलाई सजिलै हाड भाँचिने अष्ट्रियो जेनेसिस इन्पर्फेक्टा (ओआई) रोगबाट पीडित छन्। यो दुर्लभ रोग हो। ११ महिनादेखि हालसम्म ४० भन्दा बढी पटक अनिमेषको हाड 'फ्याक्चर' भएको काजीले बताए।
छोरा दुर्लभ रोगबाट पीडित हुनुको पीडा भएपनि आफूले खिचेको आफ्नै छोराको तस्बिर उत्कृष्ट ५ मा परेपछि काजीले खुशी व्यक्त गरे।
खिम लामिछाने 'काजी'
छोरालाई ह्विल चेयरमा राखेर काजीकी श्रीमती विद्यालय लैजाँदै गरेको तस्बिरमा दृश्य छ।
प्रतियोगितामा काजीसँगै, आइसल्यान्ड, अमेरिका, स्लोभाकिया र अष्ट्रियाबाट छनोट भएका छन्। प्रतियोगिताको अन्तिम नतिजा सामाजिक सञ्जालमा प्राप्त भोटको आधारमा २४ फेब्रुअरीका दिन दुर्लभ रोग दिवसका अवसरमा घोषणा गरिनेछ।