कार्यक्रम नेपाल नर्सिङ संघको ५५ औँ वार्षिकोत्सव। सात सयको संख्यामा नर्सको जमघट साँच्चै महत्वपूर्ण थियो। नर्सिङ संघको वार्षिकोत्सव भए पनि ५० प्रतिशत संघका सदस्य नरहेका नर्स कार्यक्रममा रहेछन्। नर्सहरुको एक मात्र पेसागत संगठनमा धेरैजसो नर्स त सदस्य नै रहेनछन्।
नर्सिङ काउन्सिलका अनुसार नेपालमा नर्सको संख्या ६० हजार नाघिसकेको छ। तर, ६ भागको एक भाग नर्स पनि संघका सदस्य बन्न सकेका छैनन्। नचाहेर हुँदै होइन, समेटिने बाटो नदेखेर वा समेट्नेले बाटो देखाउन नसकेर होला।
नर्सिङ संघका १५ वर्षको जवानीमा पुगिसकेछ। यत्रो उमेर पार गर्दा नेतृत्व पनि धेरै पायो होला। नर्सिङ संघको कार्यक्रममा बसिरहँदा मलाई लाग्यो, कति संघ आफू मात्रै हुर्कियो कि? संघ पेसागत समस्यातिर पनि ध्यान दिएर उमेर खाएको हुँदो हो त अहिलेको नेतृत्वले २० बुँदामा माग तय गर्नुपर्ने थिएन। यो संघ चलायमान हुन्थ्यो भने त्यसमा रहेका अधिकांश माग उहिल्यै सम्बोधन भइसक्थे।
धेरैलाई लाग्ला, संघर्षको मैदानमा ऐक्यबद्ध भएर अघि बढ्नुपर्ने बेला संघको विरोध गरेर किन बसेकी होली ! हामीले सधैँ अनुहार राम्रो देखियोस् भनेर ऐना पुछिरह्यौँ, अनुहार राम्रो देखिएन भनेर ऐनालाई दोष लगाइरह्यौँ। कतै सबै दाग ऐनामा होइन, केही दाग हाम्रो अनुहारमा पनि छन् कि? त्यसैले अब हामीले एकपल्ट आफ्नै अनुहार पनि सफा गरेर ऐना पुछ्न अघि सर्ने हिम्मत गर्नुपर्छ। जसले गर्दा हाम्रो प्रयास विफल हुनेछैन।
परिवर्तनका मुख्य संवाहक युवा हुन्। नर्सिङ क्षेत्रमा पनि परिवर्तन जरुरी देखिएको छ। तर, नर्सिङ संघमा परिवर्तनकै मुख्य संवाहक युवा खोइ? मैले त्यो दिनको कार्यक्रममा पनि देखेँ, युवा नर्सको सहभागिता एकदमै न्यून थियो। निराश पनि भएँ, युवा नर्सको उपस्थिति न्यून देखेर।
वरिष्ठ र कनिष्ठ नर्सबीचको खाडल गहिरिँदै गएको छ। जो नेतृत्वमा छन्, उनीहरु सिनियर नर्स छन्। नर्सिङ पेसामा जोडिएका अधिकांश समस्या जुनियर नर्ससम्बन्धित छन्। अचानोको पीडा खुकुरीलाई के थाहा ! त्यसैले पनि सिनियर नर्सले जुनियर नर्सका पीरमर्का बुझ्न नसकेको गुनासो आइरहेको हुन्छ। यसकारण संघर्षमा उत्रिनुअघि नर्सका यी दुई तहको दूरी घटाउनु अपरिहार्य छ।
यसका लागि नेपाल नर्सिङ संघले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। उसो त यस्ता कार्यक्रममा सिनियर नर्स मात्रै सहभागी हुन पाउनुका केही प्राविधिक कारण छन्। जुनियर नर्स फुल टाइम ड्युटीमा हुनुपर्ने र सिनियरहरु आफ्नो राउन्ड सकेपछि हिँड्न पाउने भएकाले पनि होला। अहिले हामी नर्सहरुको श्रम शोषण भइरहेको भन्ने कुरा उठाइरहेका छौा। कतै त्यसका मतियार हामी आफैँ भइरहेका त छैनौँ ! त्यो दिनको कार्यक्रममा बसिरहँदा मैले मञ्च राम्ररी नियालेकी थिएँ। त्यहाँ एक जना सिनियर नर्स विशिष्ट व्यक्तित्वको आसनमा हुनुहुन्थ्यो। मलाई झलझली सम्झना आयो, उहाँ कार्यरत अस्पतालमा जागिर माग्न गएको दिन। उहाँ त्यस अस्पतालको मेट्रोन हुनुहुन्थ्यो। उहाँले नै भन्नुभएको थियो, ‘भोलेन्टिएर नगरी जागिर पाइँदैन।’ यही भोलेन्टिएर प्रथा हटाउनुपर्छ भन्ने विषयमा कुरा उठ्दै गर्दा पहिला उहाँहरुले पनि मानसिकता परिवर्तन गर्नुपर्छ कि? त्यो दिन उहाँले पनि भाषण गर्नुभयो र भन्नुभयो, ‘यो भोलेन्टिएर प्रथा हटाउनैपर्छ।’ ताली बज्यो। ठूलै गडगडाहट भयो।
अब नर्सहरुमाथि भइरहेको शोषण अन्त्यको ताली बजाउनुपर्छ। ताली बज्न दुई हात चाहिन्छ। त्यो दुई हात भनेका सिनियर नर्स र जुनिएर नर्स हुुन्। नेपाल आइएलओको सदस्य भएको वर्षाैं बितिसकेको छ। तर, अझै शिक्षितमाथिकै श्रम शोषण हट्न नसक्नु जस्तो दुर्भाग्य अरु के हुन सक्छ? सिनियर नर्सले आफैँ कार्यरत संस्थामा संघर्ष गर्नुहोस्, भोलेन्टिएर प्रथा हटाउन, बिरामी–नर्सको रेसियो मिलाउन र पारिश्रमिकको विभेद हटाउन। संघर्ष गर्नुपरे हामी जुनियर नर्सलाई सम्झिनुहोस्। अन्यायविरुद्ध लड्न हामी नर्स तयार छौँ। धमला शिक्षण अस्पताल महाराजगन्जमा कार्यरत छन्।