कोरोन संक्रमण फैलिएपछि देशैभर निदान र उपचारको ठूलो चुनौति देखियो। सरकारी मात्र होइन निजी स्वास्थ्य संस्थाले यो समयमा कसरी काम गर्छन? महामारीका समयमा निजी स्वास्थ्य संस्थाले कसरी सरकारलाई सहयोग गर्छन भन्ने विषय पनि छर्लङ भयो। तर, केही निजी क्षेत्रका स्वास्थ्य संस्थाले भने आफ्नो जिम्मेवारी महसुह गरी यो महामारीको समयमा अघि सरेर काम गरेका पनि छन्।
यस्तै संस्थामध्येको एक हो बाँकेको नेपालगञ्ज (कोहलपुर) मेडिकल कलेज एण्ड शिक्षण अस्पताल। यो अस्पतालमा लकडाउनको समयमा अछामबाट हेलिकोप्टरमा उद्दार गरी ल्याएको एक कोरोना संक्रमित गर्भवतिको शल्यक्रिया गरिएको थियो। कोरोना संक्रमितको शल्यक्रिया भएको यो नै सम्भवतः पहिलो घटना थियो।
कोरोना भाइरस संक्रमणपछि अस्पतालले कसरी उपचार सेवा संचालन गर्यो, केके समस्या भए, अस्पतालको कोभिड र ननकोभिड स्वास्थ्य सेवाका बारे लर्डबुद्ध एजुकेशनल एकेडेमी लिमिटेड तथा नेपालगञ्ज मेडिकल कलेजका सहायक निर्देशक डा नितेश कनोडियासँग गरेको कुराकानी :
कोरोना संक्रमितको उपचारमा नेपालगञ्ज मेडिकल कलेल निकै सक्रिय रहेको थियो। सुरुवाती दिनमा कसरी संक्रमितको उपचारका लागि तयारी गर्नुभयो?
एक वर्षअघि कोभिड आउँदा सबै कुरा नयाँ थियो। सर्वसाधारण मात्र होइन, हाम्रो लागि पनि यो विषय नयाँ थियो। जसको कारण डर त्रास एकदमै थियो। कसरी स्वास्थ्य उपचार सेवा संचालन गर्ने, संक्रमितको व्यवस्थापन कसरी गर्ने भन्नेमा दुविधा नै थियो।
नेपाल सरकारले कोरोना व्यवस्थापन गर्ने सन्र्दभमा हाम्रो अस्पताललाई लेवल ३ अस्पतालको रुपमा सूचीकृत गरेको थियो। त्यो हाम्रो लागि ठूलो चुनौतिपूर्ण जिम्मेवारी र अवसर दुवै थियो।
कोहलपुरस्थित अस्पतालमा सबै इन्फास्ट्रक्चर छ तर छुट्टै ब्लक छैन। सबै एउटै भवनमा छ। त्यसले गर्दा कोभिडका लागि कसरी अलग्गै बनाउने भन्ने ठूलो चुनौति थियो। हामीले एउटा सेक्सन छुट्टाएर कोभिड डेडिकेटेट बनायौं। हामीले पहिला हाम्रा स्वास्थ्यकर्मीलगायत अन्य स्टाफलाई कसरी परिचालन गर्ने र उनीहरुलाई उत्पे्ररित गरेका थियौं। हामीले आइसियुबाट सेवा सुरु गरेको थियौँ। यो कुरा धेरेलाई थाहा छैन। हाम्रो अस्पतालमा पहिलो कोभिड सर्जरी भएको थियो। अछामबाट रेस्क्यू गरी ल्याइएकी एक गर्भवतीको शल्यक्रिया भएको थियो। भैरहवादेखिको जटिल सुत्केरी केस हाम्रोमा नै आउथ्यों। यो क्षेत्र बाँकेको मात्र नभई साविकको मध्य र सुदुरपश्चिमका सबै जिल्लाका बिरामी आउँछन्। हामीले यो क्षेत्रका करिब देशका ७७ मध्ये २३ जिल्लाका बिरामीको उपचार गरिरहेका छौँ। यो रेफरल अस्पताल भएकाले कोभिड ननकोभिड बिरामीको हामीले सेवा गर्न सक्यौँ भन्दा गर्व पनि लाग्छ।
सरकारले कोभिड अस्पतालको रुपमा सुचीकृत नगर्दै अस्पतालले कसरी कोभिडको व्यवस्थापन गर्नुभएको थियो?
सुचीकृत हुनुअघि नै हामीले फिवर क्लिनिक संचालन गरिसकेका थियौँ। त्यसको लागि जेनरल प्रोटोकल आइसकेको थियो। फिवर क्लिनिकबाट केसहरु छुट्टाएर सो अनुसार उपचार गर्न थालेका थियौँ। त्यसपछि सरकारले हामीलाई लेवल ३ अस्पतालको रुपमा सुचीकृत गर्यो। हामीले कोभिड डेडिकेटेट युनिट नै सेटअप गर्यौं। किनभने कोभिड केस धेरै आउन थाल्यो। शल्यक्रिया गर्नुपर्ने केस धेरै आउन थाल्यो। आइसियु केस बढ्न थाल्यो। हाम्रो अस्पतालमा भर्ना भएका बिरामीलाई राख्ने ठाउँको अभाव हुन थाल्यो। भर्ना भएका बिरामीमा कोरोना पोजिटिभ देखिन थाल्यो। त्योबेला अर्को चुनौति के भयो भने हामीसँग पिसिआर ल्याब थिएन। त्यो बेला भेरी अस्पतालले पिसिआर ल्याब संचालन गरेको थियो। यो क्षेत्रमा पहिलो पिसिआर ल्याब भएकाले एक्कासी धेरै नमुना भएर २/३ दिनसम्म नमुना होल्ड हुन थालेको थियो। नमुना धेरै दिनसम्म परीक्षण गर्न नसक्दा बिरामीका आफन्तलाई सम्झाउन निकै समस्या भएको थियो। त्यसको केही महिनापछि मात्र कोहलपुरमा पिसिआर ल्याब संचालनमा ल्यायौं।
तपाईंहरुको नेपालगंज र कोहलपुरमा गरी २ वटा अस्पताल छ। कोरोनाको लागि कोहलपुरमा मात्र व्यवस्था किन गर्नुभयो?
हामीले अस्पतालमा कोभिड बिरामी राख्नुभन्दा एउटा अस्पतालमा मात्र राख्ने अर्को अस्पतालमा ननकोभिड बिरामीको उपचार गर्ने व्यवस्था गरेका थियौँ। नेपाल सरकारले पनि सुचीकृत गरेको कोहलपुरको अस्पताललाई थियो। राजमार्गमा रहेको अस्पताल भएकाले सबैलाई सहज रुपमा पायक पनि त्यहाँ हुन्थ्यो। मध्य र सुदुरपश्चिमका बिरामीलाई आउन सहज पनि कोहलपुर नै हुन्छ।
प्रिआइसोलेन र फिवर क्लिनिक दुवै अस्पतालमा राखेका थियौँ। शंकास्पद बिरामीको पिसिआर पोजिटिभ आयो भने कोहलपुर कोभिड अस्पतालमा सार्ने गरेका थियौँ। आफ्नै कोभिड युनिट भएकाले सजिलो पनि भयो। तर डाक्टर, नर्स र स्वास्थ्यकर्मीलाई मनाउन पनि चुनौति भयो। हाम्रो सिनियर डाक्टरहरु हिम्मत देखाएर उपचारमा अघि आएपछि अरु सबैलाई पनि सहज भयो। त्यो समयमा हाम्रो सर्जरी डिपार्टमेन्टको जति प्रंशसा गरेपनि कम हुन्छ। उहाँहरुले आँट गरेर सर्जरी गर्न अघि सर्नुभयो।
कोभिडको पहिलो सर्जरी कोहलपुरमा भएको थियो। त्यो केसको बारेमा अलि बिस्तारमा बताउनुस न?
२५ वर्षीया महिलाको आन्द्रा बेरिएको केस थियो। जसलाई अछामबाट ल्याइएको थियो। उहाँ गर्भवती पनि हुनुहुन्थ्यो। आन्द्रा बेरिएको र गर्भवती पनि भएकाले हाम्रो जिम्मेवारी आन्द्रा बेरिएको पनि सर्जरी गर्नुपर्ने सँगै आमा र बच्चाको पनि ज्यान जोगाउनुपर्ने थियो। उहाँ मुम्बईबाट आएर अछामको क्वारेन्टाइनमा बस्नुभएको थियो। स्वास्थ्यमा समस्या भएपछि हेलिकोप्टरबाट रेस्क्यू गरी कोहलपुर ल्याइएको थियो। उहाँ भारतबाट आएकाले पनि हामीले पहिला पिसिआर जाँच गर्दा कारोना पोजिटिभ देखिएको थियो। उक्त केसको उपचार गर्न हामीले हतार नगरी २ दिन समय लियौं। त्यो एउटा केस म्यानेज गर्न पुरै अस्पताल सील गर्नुपर्ने अवस्था भयो। कोभिडको पहिलो सर्जरी भएकाले तलमाथि भए त्यसको नकारात्मक सन्देश बाहिर जान्थ्यो। त्यही भएर हामी बढी नै सचेत थियौँ। उहाँको सुरुमा आन्द्राको मात्र शल्यक्रिया गरेर बचायाँै। उक्त शल्यक्रिया सफल भएपछि हामीले अस्पतालको अन्य सेवा पुनः संचालन गर्यौं।
त्यो समयमा सबैभन्दा बढी अस्पतालले भोगेको समस्या के थियो?
निजी संस्था भएकाले स्वभाविक रुपमा आर्थिक समस्या नै सबैभन्दा बढी भयो। सबै खर्च आफैं व्यवस्थापन गर्नुपर्ने अवस्था थियो। त्यो समयमा एन९५ मास्कको मूल्य नै ४/५ सय पर्ने गथ्र्यो। अन्य व्यक्तिगत सुरक्षा सामग्री पनि निकै खर्चिलो थियो। एकातिर आर्थिक भार, लकडाउनले गर्दा अस्पतालको ननकोभिड सेवा ठप्प नै थियो। लकडाउनका कारण बिरामी आउन पाइरहेको थिएन। अर्कोतिर, सुरुसुरुमा कोभिड केस राख्न थालेपछि मानिसमा यति डरत्रास थियो कि ए त्यो अस्पतालमा कोरोनाको बिरामी राखेको छ भनेर तर्केर हिँड्ने अवस्था थियो। त्यहाँ जान हुन्न भन्ने डर थियो। हाम्रो ५ सय वेडको अस्पतालमा दैनिक १२–१५ लाखको आर्थिक कारोबार हुने ठाउँमा ६०–७० हजारसम्म झरेको थियो। एकातिर खर्च बढ्को थियो भने अर्कोतिर आर्थिक अवस्था कमजोर हुँदै गएको थियो। ननकोभिड उपचारका लागि स्वास्थ्य सामग्री पनि किन्न पर्यो। नन कोभिडको लागि सामग्री त झन महंगो नै थियो। तर, आम्दानी धरासायी नै भयो। अर्को हामीलाई परेको समस्या चाँहि कोभिड युनिट स्थापना गर्ने समयमा नै थियो। एक पछि अर्को गर्दै कोरोनाका बिरामी बढ्न थाल्यो। गम्भीर खालका बिरामी पनि बढ्न थालेपछि त्यो समय निकै गाह््रो भएको थियो। त्यही बिचमा हाम्रो अस्पतालका दुई जना कर्मचारीलाई कोभिडकै कारण हामीले गुमाउनु पर्यो। निमोनिया भएर गम्भीर भएका बिरामीको उपचारमा पनि समस्या थियो। रेम्डीसिभिरको अभाव थियो। प्लाज्मा थेरापी त निकै पछि मात्र आएको हो।
अहिले तपाईंहरुले कोभिड युनिट बन्द गुर्नभएको छ? तर कोरोना संक्रमण बढ्ने क्रममा छ?
कोभिड सुरु भएको केही महिनापछि जनताले कोरोनाबारे बुझ्न थाले। अस्पतालका बारेमा पनि पहिलेको भन्दा सकारात्मक रुपमा कुराहरु जान थालेको थियो। हाम्रो कोभिड अस्पताल छुट्टै छ। ननकोभिडको अस्पताल छुट्टै छ। त्यसपछि बिरामी आउन थाले। कोभिड युनिट बन्द गरेको केही महिना मात्र भयो। सरकारले होम आइसोलेसनलाई स्वीकृत गरिसकेको, माइल्ड केसहरु डाक्टरसँग परार्मश गरेर घरमै बस्ने अवस्था बन्यो। त्यसले भर्ना हुने केस निकै कम भयो। पछि एक दुई जना केस मात्र हुन थाल्यो। त्यो बिचमा भेरी अस्पतालले पनि १५, २० वेडबाट ८०,९० वेडको कोभिड सेटअप गरिसकेको थियो। त्यसले गर्दा उनीहरुको बेड खालि हुने, यता १०० वेडको युनिटमा एक, दुई जना मात्र बिरामी हुने अवस्था भएको थियो । त्यसपछि हामीले बाँकेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँके(डिसिएमसी) को बैठकमा कोभिड केस व्यवस्थापनसँग ननकोभिड बिरामीको उपचार पनि महत्वपूर्ण भएको भन्दै प्रस्ताव गरेर बन्द गरेका थियौँ।
कोरोना देखिएको सुरुवाती समयमा नै हामीले बाँके र कोहलपुरमा रहेको तीन ठूला अस्पतालमध्ये एक अस्पताललाई पुरै कोभिड डेडिकेटेट अस्पताल बनाऔँ भन्ने प्रस्ताव समेत गरेका थियौँ। कारणवशः त्यसो हुन सकेन। कोहलपुर र नेपालगञ्ज मेडिकल कलेज र भेरीमध्ये भेरीमा कोभिड अस्पताल बनाऔँ, त्यहाँ सरकारलेको सुविधा पठाउन पनि सजिलो हुन्छ भन्ने थियो। हामी चाँहि अन्य ननकोभिड सेवा भेरीकै शुल्कमा प्रदान गछौँ भन्ने प्रस्ताव राखेका थियौँ। तर, पछि हामीलाई सरकारले डेडिकेटेड अस्पताल बनायो। त्यसपछि हामीले सेटअप गरेका हौँ।
कति संख्यामा कोभिड बिरामीको उपचार गर्नुभयो? फ्रन्टलाइनर कर्मचारीलाई आउनेजाने व्यवस्थापन कसरी गर्नुभयो?
हामीले ४८६ जना कोरोना संक्रमितको उपचार गर्यौँ। तीमध्ये ५२ जना संक्रमितको उपचारका क्रममा दुखद् निधन भयो। हामीले कोहलपुर चिसापानीस्थित क्याम्पसको गेष्टहाउमा कर्मचारीलाई बस्नेखाने व्यवस्था गरेका थियौँ। त्यहाँ खुला ठाउँ पनि भएको, बस्नलाई सहज भएकाले हामीले हाम्रा १८८ कर्मचारी खानेबस्ने व्यवस्था गरेका थियौँ। त्यो समयमा कोभिड ननकोभिड दुवै सर्जरी धेरै गर्न सक्यौँ। हाम्रा डाक्टर, नर्स र अन्य कर्मचारीले उच्च मनोबलका साथ काम गर्नुभएकाले सबै स्वास्थ्य सेवा दिन सम्भव भएको थियो।
अन्यत्र जस्तै पहिल्लो समयमा बाँकेमा पनि कोरोना संक्रमण बढ्दो छ। गम्भीर बिरामी पनि बढ्न थालेका छन्? यस्तो अवस्थामा अस्पतालले कोभिड युनिट पुनः संचालन गर्ने योजना छैन?
हामीले यसै हप्तादेखि कोभिड युनिट संचालन गर्दैछौं। हाम्रै अस्पतालमा आइसियुमा भर्ना भएका बिरामीमा कोभिड देखिन थालेको छ। फेरि यो नयाँ भेरियन्ट एकदमै छिटै संक्रमण फैलाउन सक्ने भएकाले र बिरामी पनि कडा खालका लक्षण लिएर आइरहनुभएको छ। कति जना निमोनियाले ग्रस्त बनाइपछि आइरहनुभएको छ। पहिलेभन्दा हामी अझै सक्षम छौँ उपचार गर्न। आइसियुको संख्या एकवर्षको अवधिमा दोब्बर बनाएको छौँ। १०० भन्दा बढी आइसियु बेड छ। ३० वेडको भेन्टिलेटर बढाएको छौँ।
कोभिडबाहेक अस्पतालको ननकोभिड स्वास्थ्य सेवा बिस्तार गर्दै हुनुहुन्छ, त्यसबारे बताइदिनुस न?
स्वास्थ्य सेवा गुणस्तरीय र प्रभावकारी बनाउन अस्पताल व्यवस्थापन टीम एग्रेसिभ रुपमा अगाडी बढेको छ। पछिल्लो समय प्रतिस्पर्धा पनि बढेको छ। बाँकेमा पहिला भेरी र हाम्रो अस्पताल मात्र थियो। तर, पछिल्लो समयमा अन्य धेरै अस्पताल खुलिरहेका छन्। यसले गुणस्तरीय र विशेषज्ञ सेवाको प्रतिस्पर्धा बढाएको छ। भेरी अस्पताल नै केन्द्रिय अस्पतालका रुपमा छ। धनगडी, दाङ, सुर्खेतमा हाम्रो भन्दा ठूलो अस्पतालहरु सरकारी तवर मै संचालन हुँदैछ। त्यस्तो अवस्थामा हामीले विशेषज्ञसहितको गुणस्तरीय सेवा थप बढाउनै पर्छ। हामीले निकट भविष्यमा नै कार्डियोलोजी, आइभिएफ सेन्टर सुरु गर्ने योजना छ। त्यस्तै ल्याप्रोस्कोपी, एमआरइ सेवा पनि हाम्रो योजनामा रहेको छ। अहिले हामीकहाँ बालरोग विभाग निकै बलियो छ। यो क्षेत्रकै सबैभन्दा ठूलो एनआइसियु छ। त्यसबाहेक हार्डजोर्नी विभाग, न्यूरोलोजि, प्लाष्टिक सर्जरी विभाग पनि अहिले संचालन भइरहेको महत्वपूर्ण सेवा हुन्।
यो त मेडिकल कलेज पनि हो। पछिल्लो समय मेडिकल शिक्षामा आएको नयाँ नीतिले प्राइभेट सेक्टरलाई धरासायी बनाएको छ। शिक्षा र स्वास्थ्य त खासमा राज्यकै दायित्व हो। कि राज्यले सबै आफैंले दायित्व लिनुपर्यो, होइन भने काम गरिरहेकालाई ठाउँ दिनुपर्यो, सहजीकरण गर्नुुपर्यो।
अहिले भारतमै पनि हरेक मेडिकल कलेजको ५० सीट बढाइरहेको छ। उनीहरु एग्रेसिभ्ल्ली हेल्थ एजुकेसनमा लागेका छन्। सरकारी होस वा निजी दुवै क्षेत्रमा। नीति नियममा उनीहरुले पनि कडाइ गरेका छन्। केन्द्रकृत प्रवेश परीक्षा जस्ता कुरा त्यहाँ पनि छन्। हाम्रोमा केही नीतिगत कुरा निकै राम्रो छ। तर नेपालको मेडिकल एजुकेशन पोलिसि रिफर्म गरिरहँदा त्यहाँ निजी क्षेत्रको पनि सहभागिता हुन जरुरी छ। नेपालमा ८० प्रतिशत बेड संख्या निजी क्षेत्रको छ। त्यसमा सबैभन्दा ठूलो योगदान मेडिकल कलेजको छ। सायद माथेमा कमिटिबाटै निजी मेडिकल कलेजलगायत निजी क्षेत्रको सहभागिता भएको भए अहिलेको जस्तै समस्या आउने थिएन। अब पब्लिक प्राइभेट पार्टनरसिपमा जानुपर्छ।
नेपालमा एमबिबिएस पढ्ने व्यक्तिको कमी छैन। तर, सीट निकै कम गराइएको अवस्था छ। यसको सिधा असर त देशको पैसा बाहिर जाने नै हो। जहाँ मेडिकल शिक्षाको लागि नेपालमा विद्यार्थी आउथे। त्यसले देशकै आम्दानी बढाएको होइन र? जब सीट संख्या घटाउने विषयमा मेडिकल कलेजले विरोध गर्यो त्यसपछि अर्को बन्देज लगाइयो, ७५ वर्षभन्दा माथिको प्रोफेसर राख्न नपाइने भनेर। जनताबाट पनि कान समाउने काम नै भइरहेको छ। निजी क्षेत्रमा सरकारको निगरानी हुनु जरुरी छ। हुनुपर्छ। तर प्राइभेटलाई अलग राखेर गरिने प्राइभेट कै लागि नीति बनाइनु न्यायोचित होइन। निजी क्षेत्रको सहभागिता, छलफल हुनु जरुरी छ।