मैले नर्सिङ सेवाको सुरुवात गरेको दुई दशक पूरा भएको छ। यस अवधिमाकुनै पनि बिरामीलाई आफूले सकेको सेवा निस्वार्थ मनले गरेकी छु र गर्दै आएकी पनि छु। रोगी दुःखले छट्पटाउँदा तिनीहरूकै सेवामा समर्पित हुनु हाम्रो पेशागत धर्म भएकोले पनि हामी निरन्तर सेवामा लागेकै हुन्छौँ। कहिले गर्भवतीको, कहिले एनआइसीयूमा राखिएका बच्चाहरूको, कहिले आइसीयूमा रहेका बिरामीहरूको सेवा र कहिले अप्रेशन थिएटरमा रोगसँग लडिरहेकाहरूको सेवमा रहेर कार्य गरेकी थिएँ। अहिले विभागीय प्रमुखको हैसियतले कार्य गरिरहेकी छु।
जुुनसुकै जिम्मेवारीमा रहेर कार्य गर्दा र कहिल्यै पनि नहिच्किचाइकन अगाडि बढ्दा आत्मसन्तुष्टि मिल्ने गर्दथ्यो। आजसम्म उनै सेवा गरेका बिरामीहरूको आशिर्वादले राम्रै भइरहेको छ। एउटा साधारण मध्यमवर्गीय परिवारमा जन्मिएर गाउँले जीवनबाट दश कक्षासम्मको पढाईपछि सहरीया वातावरणमा घुलमिल भएर आफ्नो अध्यायनलाई अघि बढाउँदै आज यो ठाउँसम्म आईपुग्न सफल भएकी छु। यो सबै हुनुमा सबैभन्दा ठूलो हात मेरा बुबा, आमा र परिवार तथा मैले सेवा गरेका बिरामीहरूको आशिर्वाद नै हो भन्ने कुरामा मलाई ठूलो विश्वास छ र सदैब रहने नै छ।
आज कोभिड–१९ ले विश्वव्यापी रूपमा मानिसको जनजीवन अस्तव्यस्त भइरहेको छ। यसको पहिलो छालमा म आफैं कोभिड १९, आइसोलेसन वार्ड इन्चार्ज भएर प्रत्यक्षरूपमा बिरामीको सेवामा खटिएकी थिएँ। त्यसबेला म सधैँ सोच्ने गर्थेँ हामी युद्धको रणमैदानमा छौँ र हामीले यो युद्ध जित्नैपर्छ। त्यो समयमा पनि हामीले बिरामी डिस्चार्ज गरेर घर पठाउँदा उहाँहरूले खुशी भएर दिनुभएको धन्यवाद र आशिर्वाद अहिलेसम्म ताजै छ। बिरामीको सेवा गर्दागर्दै स्वयम् सङ्क्रमित हुनपुगे पनि कहिल्यै सेवाबाट पछि नहटीकन निरन्तर रूपमा सेवा दिँदै आफू र आफ्ना परिवारका सदस्यहरूको स्वास्थ्य अवस्थाको वास्ता नै नगरी काखको सानो दूधे बालक र दीर्घरोगी बुबा–आमालाई छोडेर आफू कोरोनाविरुद्धको लडाइँमा सधैँभरि होमिइरहेँ।
अहिले नेपालमा कोरोनाको दोस्रो छाल आउँदा मैले प्रत्यक्षरूपमा बिरामीको सेवा नगरे तापनि अप्रत्यक्ष रूपमै सेवामा कमि गरेकी छैन र पछि हटेकी पनि छैन। तर, आजका दिनहरूमा विभिन्न कारणले गर्दा बिरामीहरूले सेवाबाट बञ्चित हुनु परेको आँखाले टुलुटुलु हेर्नुपर्दा मेरो भित्री मन रुन्छ। र, म ती मेरा बितेका समयहरू सम्झन्छु। दिन रात नभनी हामी त बिरामीको सेवामा लागि नै रहेका छौँ, तर पनि कहिले बेडको अभाव त कहिले अक्सिजन जस्तो अत्यावश्यक कुराको कमिले बिरामी र तिनका आफन्तहरू छट्पटाएर बसिरहेको देख्दा कसको मन नरोला र ? त्यसमा पनि पहिलेदेखि नै आफ्ना चिनजानका, नातागोता, साथीभाइ आदिलाई निस्वार्थ मनले गरेको सेवा सम्झेर उनीहरू अहिले पनि सेवाको लागि आश र गुहार बोकेर आएका बेला आफूले केही पनि गर्नसक्ने अवस्था छैन। यतिखेर म केही गर्न सक्दिनँ भन्दाखेरी त झन् भित्रैबाट मन भक्कानिएर आउँछ।
म सबैजनालाई के भन्न चाहन्छु भने यो हाम्रो युद्ध कहालीलाग्दो रात हो र हामीले यसलाई जित्यौँ भने सुनौलो बिहानी अवश्य आउने छ। यो कोरोनाविरुद्धको लडाइमा अवश्य पनि जित तपाईं हाम्रै हुनेछ। त्यसैले धैर्य गर्नुहोस् नआत्तिनुहोस्, चिकित्सकले बिरामीको जाँच गरेर अक्सिजनसहित घरमा नै उपचार गर्ने सल्लाह दिएको खण्डमा मात्र घरमा अक्सिजन सिलिन्डर राखौँ। त्यत्तिकै अक्सिजनको अभाव भएको हल्लाको पछि लागेर जरुरत नै नपरीकन पहुँचहुनेले घरघरमा अक्सिजन सिलिन्डरहरू थुपारेर नराखौँ, किनभने घरमा अक्सिजन चलाउन त सक्नुहोला, डाक्टर र नर्सलाई पनि पैसा तिरेर राख्नुहोला, तर, अवस्था बिग्रँदै गयो भने अस्पताल नगईकन धर छैन। घरमा आइसीयू तथा भेन्टिलेटर लगायतका सेवा पाउन पनि मुश्किल नै पर्छ। त्यसैले घर घरमा अक्सिजन सिलिन्डरहरू नराखी मानवताको नाताले सम्बन्धित ठाउँमा फिर्ता गरौँ र अशल तथा जिम्मेवार नागरिकको भूमिका निर्वाह गरौँ।
घर घरमा राखिएका अक्सिजन सिलिन्डरका कारण अस्पतालले अभाव झेलिरहेका बेला बिरामी भर्ना लिन नसकेर बिरामीले ज्यान गुमाउनु परिरहेको छ। त्यसैले जतिसक्दो चाँडो अक्सिजन सिलिन्डरहरू घर घरबाट निकालेर अस्पतालसम्म पु¥याएर बिरामीको रक्षा गर्न सहयोग पु¥याउने काम गरौँ। सङ्क्रमण रोकथामका नियमहरू पालना गरौँ, सकारात्मक सोच राखौँ र बिरामीहरूलाई पनि यस्तो रोग लागेर निको हुनेहरूसँगको अनुभव, भोगाई साटासाट गरेर सकारात्मक सोचाई राख्न भनेर सधैँभरि परामर्श गरौँ।
साथै यो माहामारीमा खटिने डाक्टर, नर्स लगायत सबै स्वास्थ्यकर्मीहरूको यो महामारीको समयमा रहेको भूमिकाको उच्च मूल्याङ्कन सम्वन्धित निकायहरूबाट गरियोस् भन्ने आकाङ्क्षा छ। यसका अतिरिक्त अत्यन्त महत्वपूर्ण कुरा भनेको अक्सिजन जस्तो अत्यावश्यक वस्तु आपूर्तिमा सहजीकरणहोस् भनी विभिन्न सरोकारवालाहरूसँग बिन्ती गर्दै भगवान पशुपतिनाथसँग बिरामीहरूको जीवन रक्षा गरिदिनुहोस् भन्दै दश औँला जोडी भित्री मनबाट नै प्रार्थना गर्दछु।
(सुवेदी ओम अस्पतालमा कार्यरत छिन्)