विश्व अहिले कोभिड–१९को कारण अस्तव्यस्त छ। नेपालमा पनि संक्रमणले ठूलै समस्या निम्त्याइरहेको छ। कोरोना संक्रमिते चाप पनि ह्वातै बढेको छ। गत सालमै यहाँका स्वास्थ्य संरचना पर्याप्त थिएनन्, यसमा पनि स्वास्थ्यर्मी त झनै पर्याप्त हुने कुरा भएन।
यस्तो विषमस्थितिमा आफ्नो ज्यान जोखिममा राखेर बिरामीको ज्यान बचाउन स्वास्थ्यकर्मीमाथि कुटपिट हुनु दुखद हो। यो अवस्थामा स्वास्थ्यकर्मीको मनस्थिति कस्तो होला? यसै त हामी सुनिरहेका छौं बिरामीको सेवा गर्दागर्दै डाक्टर, नर्स तथा अन्य स्वास्थ्यकर्मीको मृत्यु भयो भनेर। झन् आक्रमण नै हुन थालेपछि स्वास्थ्यकर्मीको मनोबल कसरी बढ्न सक्छ?
गत शुक्रबार भेरी अञ्चल अस्पतालमा भएको स्वास्थ्यकर्मीमाथिको कुटपिटको प्रसंगमा मेरी साथी अन्जु खनाल (कोशी अस्पतालमा कार्यरत)को सामाजिक संजालमा स्टाटस पढेँ। ‘अब नर्सले जुडो, कराँते पनि सिक्नुपर्ने भएछ, यो त नर्सिङको पाठ्यक्रममा राख्नुपर्ने भएछ’ भनेर लेखिएको थियो।
शुक्रबार मात्रै पुर्व विद्यार्थी संघ विराटनगरका अध्यक्ष प्राडा रामशरण मेहता लगाएत सबै सदस्यसँग जुम मिटिङ्ग भएको थियो। यसै प्रसंगमा फ्रन्टलाइन नर्सहरुको समस्याको बारेमा मेरो विशेष चासो रहेर केही कुराहरु भएका थिए। हामीले सोचेका, कल्पना पनि गरेका छैनौँ नर्सहरु कति मानसिक तनाबमा छन् भनेर।
नर्सहरुले पिपिइ लगाएर ८ घण्टासम्म पानी नखाइ, मासिकस्राव भएकाहरुले प्याड फेर्न सम्म पाएका हुँदैनन्। अनि दुधे वच्चा छोडेर आएकी नर्स गानिएको दुध पनि फाल्न नपाइ काम गर्नुपर्दाको पीडा पनि उत्तिकै छ। पोहोर साल कोभिड वार्डमा ड्युटी गर्ने नर्सले घर नगई सिधै अस्पतालको आइसोलेसनमा बस्नु पथ्र्यो। जसले गर्दा सिधै घर नजाँदा घर परिवारमा संक्रमणको जोखिम कम थियो। तर अहिले सिधै घर जानु पर्ने बाध्यता छ। यसले गर्दा कतिको घरमा सासु ससुराले घरमा पस्न नदिएर डेरामा बस्नु परेको पीडा त कति छ कति। यति मात्र होइन कयौं श्रीमान्हरुले नर्सको जागीर छोड्न समेत दवाव दिनेका छन्।
गएको वर्षदेखि हालसम्ममा कोभिड वार्डमा ड्युटी गर्दै आएका काठमाडौंका २ जना नर्सलाई धेरै तनावको कारण मानसिक अस्पताल नै भर्ना गर्नु परेको नेपाल नर्सिङ संघकी केन्द्रीय सदस्य अन्जु महतो जैसवालले सुनाउनु भएको थियो। यसको मतलव नर्सहरुको आफ्ना तनाव त छ नै अरु दिन रात बिरामीको यो दर्दनाक अवस्था देखेर पनि मानसिक तनावमा छन्।
नेपालमा करीब एक लाख नर्सहरु काउन्सिलमा दर्ता छन्। जम्मा अस्पताल ७२५ छन् भने नर्सको दरबन्दी १४०९९ हुनुपर्नेमा अहिले ९९५१ सेवारत छन्। यस्तै अनमीको दरबन्दी १०,००० रहेकोमा कार्यरत ६,३१६ रहेका छन्। यसै त दरबन्दी अनुसार नर्सहरु पर्याप्त छैनन्, यसमा झन यस्तो विसम परीस्थितिमा के होला कसरी काम गरिरहेका छन् नर्सहरु।
विकशित देशहरुमा बिरामी तथा नर्सको संख्या मिलाएर नर्सलाई काम खटाइएको हुन्छ। अर्थात कतिजना नर्सले कती बिरामी हेर्ने भनेर स्पष्ट हुन्छ। जस्तो सघन उपचार कक्षमा एकजना नर्सले बढीमा दुई जना नत्र भने एक जना बिरामी हेर्न सक्छिन्। यस्तै रातमा एकजना नर्सले दश जना बिरामी हेर्न सक्छन् तर हाम्रो देशमा दुईजना नर्सले ४० जनाभन्दा बढी बिरामी हेर्नुपर्ने अवस्था छ। यसरी हेर्ने हो भने नर्समाथि श्रम शोषणत यत्तिकै छ। यस्तै अब अहिले ह्वातै बिरामीको चाप बढेकोले भेन्टीलेटर लगाउनु पर्ने अवस्था उत्तिकै छ। यो मेसिन चलाउन दक्ष नर्स, डक्टर चाइन्छ। तर उनिहरुले जवरजस्ती जान्नुपर्ने अवस्था भएको छ। यस्तो परीस्थितिमा राम्रो सेवा कति आश गर्न सक्छौँ। सरकारी र निजी अस्पतालको अवस्था खासै भिन्न छैन। अझ कति निजी अस्पतालमा झनै धेरै श्रम शोषण छ।
आवाज उठ्छ तर दबाइन्छ। कारण पनि प्रष्ट छ धैरै महिलाहरुको बाहुल्यता रहेको कारणले नै होला। तर नर्सको आवाजलाई बुलन्द पार्नुपर्छ। उनीहरुको समस्यालाई समाधान गर्नैपर्छ। नर्सका कुरा कस्ले सुन्ने? यसलाई किन सधै अस्पतालका सहयोगी संस्थाको रुपमा मात्र लिँदै आइएको छ? त्यसकारण नर्सका पक्षमा सबैले बोल्नुपर्छ। उनीहरुको समस्या समाधान गरिनुपर्छ। होइन भने भेरीमा जस्तै नर्सका घाँटी फेरि थिचिनेछन्। नर्समाथिका अन्याय रोकिने छैनन्। नर्सको समस्या समाधान नहुँदा आफ्नो रक्षका लागि पनि नर्सले जुडो र कराँते नै सिक्नुपर्ने अवस्था आयो भने? अहो यस्तो अवस्था आउन दिनुहुँदैन। त्यसकारण आवाज बुलन्द पारौँ र नर्सको समस्या समाधान गरौँ। बिरामी र नर्सको अनुपात मिलाउँ। गुणस्तरीय स्वास्थ्य सेवा कायम गरौँ।
(मैनाली नर्सिङ विषयमा स्नातकोत्तर गरेकी पूर्व नर्स हुन्।)