काठमाडौं- २०७४ फागुन ३ मा गठित केपी शर्मा ओली नेतृत्वको सरकारबाट सबैभन्दा पहिले पदमुक्त हुने मन्त्री थिए, शेरबहादुर तामाङ। २०७४ चैत २ गते कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बनाइएका उनले एउटा विवादित अभिव्यक्तिका कारण २०७५ साउन ८ गते राजीनामा दिनुपरेको थियो।
२०७५ साउन ४ गते प्राक्सिस इन्टरनेसनल एकेडेमीमा एसइई परीक्षामा उत्तीर्ण विद्यार्थीलाई गरिएको सम्बोधनमा उनले बंगलादेश पढ्न गएका छात्राहरुले आफूलाई सुम्पिनुपर्ने अभिव्यक्ति दिएका थिए। 'हामी हाम्रा छोरीचेलीहरुलाई पढ्नलाई विदेशमा पठाउँछौं। तर, उसले त्यहाँ आफूलाई नसुम्पीकन सर्टिफिकेट प्राप्त गरिरहेको स्थिति छैन', मन्त्री तामाङले भनेका थिए।
त्यतिबेला डा गोविन्द केसीको २५औं अनसन जारी थियो। त्यसैले चिकित्सा शिक्षा सम्बन्धमा आम बहस जारी थियो। पक्ष र विपक्षमा आफ्नो मत राख्ने काम धेरैले गरिरहेका थिए। सत्ता पक्षले डा केसीको आलोचना गरिरहेका थिए। व्यवसायी दुर्गा प्रसाईंले केही दिनअघि मात्रै डा केसी अनसन बसेरै डा बनेको भन्ने खालका अभिव्यक्ति दिएका थिए। मन्त्री तामाङले पनि डा केसीको माग व्यवहारिक छैन भन्ने देखाउन त्यस खालका अभिव्यक्ति राख्न खोज्दा चिप्लिएका थिए। उनले कुनै प्रमाण बिनाका अभिव्यक्ति दिएका थिए।
उनको सो अभिव्यक्तिको चौतर्फी आलोचना भएको थियो। सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको अभिव्यक्तिलाई आपत्तीजनक भनेका थिए। साथै, अन्य सरोकारवालाहरुले पनि उनको राजीनामा मागेका थिए। उनको राजीनामा माग्दै बालुवाटारमा प्रदर्शन नै भयो।
आफ्नो अभिव्यक्ति विवादित भएपछि तामाङले विज्ञप्ति निकालेर स्पष्टीकरण दिने प्रयास गरे। साउन ६ गते जारी गरेको विज्ञप्तिमा उनले आफ्नो भनाइले बंगलादेशमा अध्ययनरत र अध्ययन गरी फर्केका छात्राहरुलाई पर्न गएको चोटप्रति क्षमा मागे। तर, आफ्नो भनाइ तथ्यगत रुपमा ठीकै रहेको आशय दिए।
'बंगलादेशमा हाल २ हजारभन्दा बढी नेपाली छात्राहरु चिकित्सा शिक्षामा अध्ययनरत रहेको अवस्था छ', विज्ञप्तिमा भनिएको थियो, 'ती विद्यार्थीले बंगलादेशमा भोग्नुपरेका केही समस्यालाई मैले उजागर गरेको हो।
उनको स्पष्टीकरणपछि पनि विवाद कम भएन। राजीनामा माग भइरह्यो। प्रधानमन्त्री केपी शर्मा ओलीले नै राजीनामा मागेपछि उनी राजीनामा दिन अग्रसर भए। उनी त्यतिबेला माधव नेपाल समूहमा थिए।
उनले साउन ८ गते सिंहदरबारमा पत्रकार सम्मेलन गरेर राजीनामा घोषणा गरे।
‘बंगलादेशमा चिकित्सा शिक्षा पढ्ने हाम्रा केही छोरीहरू हिंसामा परेको कुरा सुनेपछि म आफै स्तब्ध भई बोल्ने क्रममा त्यो कुरा मैले बोलेकै हुँ। हिंसा भएको छैन भनेर हामी कसरी समाधान गर्न सक्छौँ? प्रश्न उठेको हो, मैले बोलेको विषयलाई लिएर बोलेका पूर्ण पृष्ठलाई टाउको र खुट्टा काटेर बीचको भागमात्रै पोस्ट गर्दै, अझ बढाइचढाई र अतिरञ्जित पार्दै मेरा बारेमा गलत र षड्यन्त्रमूलक समाचारहरू आएको पाउँदा म अति दु:खित छु’, उनको राजीनामा सम्बोधनमा उल्लेख थियो।
‘तरपनि सामाजिक रूपमा यति कुरा उठिसकेपछि, वर्तमान प्रधानमन्त्री एवम् सरकारले अगाडि सारेको 'समृद्ध नेपाल, सुखी नेपाली' भन्ने नारामार्फत् देश विकासको पूर्वाधार खडा गरिरहेको अवस्थामा सरकारकै असफलताका रूपमा जोडेर, अतिरञ्जित नाराहरू लगाउने कार्यहरू भइरहेकाले प्रधानमन्त्री र सरकारलाई सफल बनाउन, निहित स्वार्थ बोकेकाहरूलाई परास्त गर्न म मेरो पदभन्दा पनि प्रतिष्ठाको खातिर काम गर्ने व्यक्ति भएकोले मैले मन्त्री पदबाट राजीनामा दिनुपर्छ भनिठानी नैतिकताको आधारमा सम्माननीय प्रधानमन्त्रीजीसमक्ष राजीनामा पेस गर्न गइरहेको छु‘, राजीनामा सम्बोधनमा उल्लेख थियो।
राजीनामा घोषणा गर्नुअघि मन्त्री तामाङले आफूले पदभार सम्हालेपछिका उपलब्धिहरुको चर्चा गरेका थिए। त्यसक्रममा उनी भावुक बनेका थिए। उनको गला अवरूद्ध भएको थियो।
राजनीतिक नियुक्ति र सार्वजनिक पदबाट अवकाश लिएको १५ दिनमा सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्छ भन्ने प्रस्ताव गर्दै तामाङले साउन २१ गते आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरे। २०७४ चैत २ गते मन्त्री हुँदा पनि उनले चैत ५ गते नै पत्रकार सम्मेलन गरेर सम्पत्ति विवरण सार्वजनिक गरेका थिए। १ सय ३२ दिन मन्त्री भएका उनको सम्पत्ति ८५ हजार घटेको थियो।
कानुन मन्त्रीबाट बाहिरिएको तीन वर्षपछि तामाङ पुनः मन्त्री बनेका छन्। उनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ। स्वास्थ्य क्षेत्रसँग जोडिएको विषयमा दिएको अभिव्यक्तिका कारण राजीनामा दिन बाध्य भएका उनलाई स्वास्थ्य मन्त्रालय नै दिइएको हो।
तामाङले महामारीको बेला महत्त्वपूर्ण जिम्मेवारी पाएको बताए। उनले जिम्मेवारीलाई अवसरका रुपमा लिएर काम गर्ने बताए। सबैको साथ र सहयोगमा खोप खरिदलाई पारदर्शी बनाउने उनको अपेक्षा छ। सबै नेपालीलाई खोप लगाउने व्यवस्था मिलाउने कामलाई प्राथमिकता दिने उनले बताए।
'मेरो लागि चुनौती र अवसर दुवै हो। महामारीको अवस्थामा सफल बन्न सकेँ भने मेरो राजनीतिक जीवन अझै माथि पुग्नेछ', तामाङले भने।