काठमाडौं– कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएपछि देशका विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा असारदेखि भने खुकुलो पारिँदै लगिने भएको छ। देशभर कोरोना संक्रमणको गति क्रमश: न्यून हुँदै गइरहेको भन्दै संघीय सरकारले नै निषेधाज्ञा खुकुलो बनाउँदै लैजाने तयारी थालेको हो।
गृह मन्त्रालयले अहिले देशभर जारी गरिएको निषेधको आदेश कार्यान्वयन र संक्रमणको अवस्थाबारे समीक्षा भइरहेको जनाएको छ। अहिले जारी समीक्षा अनुसार संक्रमण दर घट्दै गइरहेको देखिएकाले सोहीअनुसार निषेधाज्ञा खुकुलो बनाइँदै लैजाने तयारी भएको गृह मन्त्रालयका अधिकारीले जानकारी दिएका छन्।
गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहाल अहिले निषेधाज्ञा जारी रहेका जिल्लाबाट त्यहाँ निषेधाज्ञाको कार्यान्वयन र संक्रमणको अवस्थाबारे रिपोर्टिङ लिने क्रम जारी रहेको बताउँछन्।
गृह मन्त्रालयका प्रवक्ता दाहाल हाल देशका विभिन्न जिल्लामा 'लकडाउन' कै रुपमा निषेधाज्ञा जारी रहेको बताउँछन्। असारदेखि भने 'लुज डाउन' हुने उनको भनाइ छ। 'अहिले निषेधाज्ञा जारी रहेका देशभरका जिल्लाबाट रिपोर्टिङ लिने काम भइरहेको छ। सबै जिल्लाबाट रिपोर्ट प्राप्त भएपछि निषेधाज्ञा खुकुलो बनाउनेबारे निर्णय हुनेछ,' प्रवक्ता दाहाल भन्छन्,' 'केही सहजीकरण भने पक्कै हुनेछ।'
संक्रमणभन्दा संक्रमण मुक्त (निको) हुने दर दोब्बर हुँदै गएको र मृत्युदर समेत न्यून हुँदै गएकाले निषेधाज्ञामा केही खुकुलो गर्ने योजनाका साथ अहिले काम भइरहेको दाहालले जानकारी दिए।
गत वैशाख १३ गतेको मन्त्रिपरिषद् वैठकले हिमाली तथा पहाडी जिल्लामा २०० र तराईं तथा शहरी क्षेत्रका जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित पुगे प्रमुख जिल्ला अधिकारीले नै निषेधाज्ञा जारी गर्नसक्ने निर्णय गरेको थियो। सरकारले निषेधाज्ञा जारी गर्ने र हटाउने अधिकार प्रमुख जिल्ला अधिकारीले नै दिएकाले गृह मन्त्रालयले आवश्यक समन्वय र निर्देशन दिनसक्ने प्रवक्ता दाहाल बताउँछन्।
कोरोनाको पहिलो लहरमा जारी गरिएको बन्दाबन्दी एक्कासी खोल्दा संक्रमणले गति लिएको उदाहरण प्रस्तुत गर्दै गृह प्रवक्ता दाहालले यसपाली भने त्यो 'गल्ती' नदोहोरिने बताए। उनका अनुसार आवश्यकताका आधारमा विस्तारै खुकुलो पार्दै लगिने छ।
निषेधाज्ञा खुकुलो पारिए पनि तत्कालै सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लव, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, हेल्थ क्लव, फुटसल, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, सङ्ग्राहालय, चिडियाखाना, दर्शकसहितको खेलकूदका गतिविधि भने खुल्ने छैनन्।
मुख्यतः कृषि कर्मको बेला भएकाले त्यसलाई प्राथमिकता दिने योजना रहेको दाहाल बताउँछन्। दाहालले भने, 'दैनिक जनजीवनसँग जोडिने कुरा प्राथमिकतामा पर्छन्, वर्षाको समय छ, मल बीउ, कृषि कर्म, अत्यावश्यक जनशक्ति व्यवस्थापन, सामग्री ओसारपसार र विकास निर्माणलाई प्राथमिकता दिइने तर पूर्णस्वास्थ्य मापदण्ड पालनामा भने कडाइ गरिनेछ।'
कोरोनाको दोस्रो लहर फैलिन थालेसँगै नेपालमा गत वैशाख ७ गते बाग्लुङबाट निषेधको आदेश जारी गर्नेक्रम शुरु भएको थियो। संक्रमण नियन्त्रणका लागि वैशाख १३ गते बाँके र १४ गते सुर्खेतमा गरिएकामा १६ गतेदेखि उपत्यकासहीत धेरै जिल्लाले निषेधाज्ञा जारी गरेका थिए। जेठ मसान्तसम्म खोटाङ र मनाङ बाहेकका ७५ जिल्लाले निषेधाज्ञा जारी संक्रमण नियन्त्रणमा सक्रियता देखाइरहेका छन्।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवर आदेशको पूर्ण कार्यान्वयनमा ७७ वटै जिल्लाका प्रहरी खटिएको बताउँछन्। अझै पनि मानिस आफ्नो स्वास्थ्यका लागि सचेत नभएको उल्लेख गर्दै प्रहरी प्रवक्ता कुँवर प्रहरी देखे मात्रै मानिस सचेत हुने त्यसपछि लापरवाही गर्ने क्रम कायम रहेको बताउँछन्। राससको सहयोगमा