काठमाडौं– अनामनगरकी ६४ वर्षीया सरीता श्रेष्ठ कालिकास्थानमा रहेको खोप केन्द्रमा मंगलबार भेरोसेल खोप लगाउन पुगिन्। बिहान भीड हुन्छ भनेर दिउसो केन्द्रमा पुगेकी उनले तुरुन्तै खोप लगाउन पाइन्।
खोप लगाएपछि आराम गरिरहेकी श्रेष्ठले खोप पाएपछि कोरोनाको जोखिम कम हुने बताइन्।
‘अघिल्लो पटक खोप लगाउन पाइएन, चैतमा ६४ वर्ष पुगेँ, अहिले खोप लगाउन पाइयो, अब कोरोनाबाट बाचिन्छ कि भन्ने आशा छ,’ उनले भनिन्, ‘खोप पनि सहजै सँग लगाउन पाइयो, लाइन बस्न परेन, खोप लगाउँदा दुख्ने पनि रैनछ, खोप पाउँदा खुशी लागेको छ।’
ज्ञानेश्वरमा रहेको खोप केन्द्रमा पनि खोप लगाउन पुग्ने वृद्धवृद्धाहरुको चहलपहल देखिन्थ्यो।
वृद्धवृद्धाहरुलाई खोप लगाउने पालो नआउदासम्मका लागि कुर्सीको व्यवस्था गरिएको थियो। वृद्धवृद्धाहरु कुर्सीमा बस्दै आफ्नो पालो अनुसार खोप लगाउन खोप कक्षतर्फ जाँदै थिए ।
खोप लगाएपछि दाहिने हातले देब्रे हातको पाखुरा समाउदै खोप कक्षबाट बाहिर निस्किएका वृद्धवृद्धाहरुको अनुहारमा मुस्कान देखिन्थ्यो।
‘अघिल्लो पटक खोप दिँदा भीड भएर पालो नै पाइएन, अहिले त घर नजिकै सजिलैसँग लगाउन पाइयो’ खोप लगाएर निस्किँदै गरेका सेतोपुलका कृष्णबहादुर सिंहले खुशी हुँदै सुनाए।
कोरोनाको त्रासमा रहेको अवस्थामा कोरोनाविरुद्धको खोप लगाउन पाउँदा खुशी लागेको सिंहले बताए।
‘६४,६५ वर्षको मान्छे, कोरोनाले के होला कसो होला भन्ने डर थियो,’ उनले हाँस्दै भने, ‘अब त खोप लगाउन पाइयो, खुशी लागेको छ।’
सोही खोप केन्द्रमा खोप लगाएर आराम गरिरहेका थिए काठमाडौं महानगरपालिका–महाकवी मार्गका गोकुल थापा ।
थापाले यसअघि नै ज्येष्ठ नागरिकका लागि खोप लगाउने कार्यक्रम सञ्चालन हुँदा खोप लगाउन केन्द्रमा पुगेका थिए। तर खोप लगाउनेको भिड देखेर उनी खोप नै नलगाइ फर्किएका थिए।
आफू पनि खोप लगाउने उमेर समुहमा पर्ने भएपछि थापा बिहानै आफ्नो वडाको खोपकेन्द्रमा पुगे। खोपकेन्द्रमा पहिलाजस्तो भिडभाड नभएको र व्यवस्थित भएकाले उनले खोप लगाउन लाइन बस्न परेन।
‘म त पहिला पनि खोप लगाउने भनेर खोप केन्द्रमा पुगेको थिएँ, त्यो बेलामा भिडबाटै कोरोना सर्छ कि भनेर खोप नै नलगाइ फर्किएको थिएँ,’ उनले भने, ‘आफ्नै वडामा खोप लगाउन पाइयो, अहिले त सजिलो भयो।’
कोरोनाको उच्च जोखिममा ज्येष्ठ नागरिकहरु हुन्छन् भन्ने सुन्दै आएका थापा खोप पाएपछि भने आफूमा अब कोरोनाको जोखिम कम हुने भएकाले केही ढुक्क भएको बताउँछन्।
‘इन्जेक्सन त धेरै लगाइयो, तर यो खोप त थाहै नपाइ लगाइदिनु भयो, दुख्छ कि भन्ने सोचेको थिएँ, खोप लगाइसकेको थाहै पाइन,’ थापाले भने, ‘कोरोनाले हामीजस्तो उमेरका व्यक्तिलाई बढी जोखिम हुन्छ भन्ने गरिन्थ्यो, खोप लगाउन पाउँदा राम्रो लागेको छ, खोप लगाएपछि केही न केही सुरक्षा त पक्कै हुन्छ होला।’
खोप केन्द्रमा नागरिकलाई सजह बनाउन काठमाडौं–३० का वडा अध्यक्ष दल बहादुर कार्की खोप केन्द्रमै थिए।
ज्येष्ठ नागरिकहरु उत्साहका साथ खोप लगाउन आइरहेको भएपनि केन्द्रमा खोप भने कम मात्रामा प्राप्त भएको कार्कीले बताए।
‘आज पहिलो दिन ६४ वर्षकालाई मात्र दिने भनेर खोप सिमित मात्रामा आयो, तर लकडाउनको अवस्थामा ६० देखि ६४ वर्ष उमेर समुहका सबै नागरिकहरु उत्साहका साथ आउनुभयो,’ उनले भने, ‘खोप लगाउन आएका ज्येष्ठ नागरिकलाई किन फर्काउने भनेर ६० देखि ६४ वर्षका सबैलाई दिएका छौं।’
वडा अध्यक्ष कार्कीले आफ्नो वडामा खोप लगाउन सक्ने जनशक्ती र स्थान पर्याप्त मात्रामा भएपनि सिमिति मात्रामा खोप उपलब्ध भएकाले केही ज्येष्ठ नागरिकहरु खोप नलगाइ फर्कनुपर्ने अवस्था समेत आएको जानकारी दिए।
‘सुरुमा ६० देखि ६४ वर्षका सबै भनिएको थियो, पछि ६४ वर्षकालाई मात्र आज लगाउने भन्ने भएछ अनि खोप कम आयो,’ उनले भने, ‘हाम्रो जनशक्ती त दैनिक ५०० भन्दा बढीलाई खोप दिनसक्ने छन्, तर खोप नै साढे २ सय डोज मात्र आएकाले ढिला आउनेहरु आज फर्किनुपर्ने अवस्था आयो।’
सरकारले मंगलबारबाट सुरु गरेको खोप अभियानमा जेष्ठ नागरिकहरुको उत्साहजनक सहभागिता रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
चीन सरकारले १० लाख डोज खोप अनुदानमा उपलब्ध गराएपछि सरकारले यसअघि खोप नपाएका ६० देखि ६४ वर्ष उमेर समुहका ज्येष्ठ नागरिकका लागि खोप अभियान सुरु गरेको हो।
स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा झलक गौतमका अनुसार चीन सरकारबाट अनुदानमा भेरोसेल खोप प्राप्त भएपछि देशभर मंगलबारदेखि ६० देखि ६४ वर्ष उमेर समुहका ज्येष्ठ नागरिकलाई लक्षित गरी खोप लगाउने कार्य सुरु गरिएको हो।
‘चीनबाट भेरोलेस १० लाख डोज खोप प्राप्त भएपछि ७ प्रदेशका ७७ वटै जिल्लामा खोप वितरण गरेका छौं,’उनले भने, ‘अहिले हाम्रो प्राथमिकता पहिला छुटेका ६० देखि ६४ वर्ष उमेर समुहका नागरिक हुन्।’
यसअघिको खोप कार्यक्रममा छुटेका ज्येष्ठ नागरिक जोखिम समुहमा पर्ने भएकाले उनीहरुलाई लक्षित गरि खोप कार्यक्रम सञ्चालन गरेको डा गौतमले जानकारी दिए।
उनका अनुसार यो उमेर समुहका खोप लगाउनुपर्ने जनसंख्या करिब ८ लाख छ।
डा गौतमले खोप कार्यक्रम पालिकाहरुले निर्धारण गरेको केन्द्रबाट सञ्चालन भइरहेको जानकारी दिए।
विभिन्न किसिमका दीर्घरोग भएर सामान्य किसिमका नियमित औषधि खाइरहेका ज्येष्ठ नागरिकलाई खोप लगाउन मिल्ने पनि उनले जानकारी दिए।
‘यदी खोपको एलर्जी छ, बिरामीको अवस्था सिकिस्त छ, ज्वरो आएको वा कोरोनाको लक्षण छ भने त्यस्ता व्यक्तिलाई खोप लगाउन मिल्दैन,’ डा गौतमले भने, ‘तर उच्चरक्तचाप, मधुमेह, दम, क्षयरोग लगायतका दीर्घरोगीले नियमित औषधि खाइरहेको भएपनि खोप लगाउन मिल्छ।’
डा गौतमले दीर्घरोगको औषधि सेवन गरीरहेका ज्येष्ठ नागरिकहरुलाई चिकित्सकले नै खोप नलगाउन सुझाव दिएको अवस्था बाहेक अन्य अवस्थामा खोप लगाउन सकिने जानकारी दिए।
नेपालमा गत माघदेखि कोरोना भाइरस विरुद्धको खोप अभियान सुरु भएको हो।
गत माघ महिनादेखि हालसम्म २१ लाख नागरिकले कोरोना विरुद्धको खोपको पहिलो मात्रा पाएका छन् भने करिब ७ लाख नागरिकले खोपको दुवै मात्रा पाएको डा गौतमको भनाइ छ।