स्वास्थ्य क्षेत्रमा स्थापित विभिन्न पेशा मध्येको एक हो नर्सिङ पेशा। पहिले पहिले छोरी बिग्रिए नर्स भन्ने गरिन्थ्यो भन्ने कुरा बुबा, आमा, हजुरबुबा र हजुरआमाबाट अहिले पनि सुन्न पाइन्छ। महिलाहरुको पढाइमा अग्रसरतासँगसँगै आज नर्स (नर्सिङ) पेशा धेरैको रोजाइमा पर्न सकेको छ। तर धेरैको रोजाइमा परे तापनि यसले आफ्नो मूल्य भने उठाउन सकिरहेको छैन।
प्रसङ्ग कोभिड–१९ को मारामारीको हो। अहिले हरेक पत्रिकाको कुनामा, सामाजिक सञ्जालमा नर्सिङको विज्ञापन देख्न सकिन्छ। विज्ञापन देख्दा अष्ट्रेलिया, अमेरिका, दुबई, युके, क्यानडा इत्यादि जाने नर्सहरुलाई बोलाए पनि यहाँका विज्ञापनको पूर्ति हुन सक्दैन होला जस्तो लाग्छ। काठमाडौंको चक्रपथलाई एक फन्को लगाउँदा ३० वटा भन्दा धेरै अस्पताल छन् तर अधिकांश अस्पतालमा काम गरेर स्तर अनुसारको पारिश्रमिक र इज्जत पाएका नर्सहरु बिरलै भेटिन्छन्। हिजोआज देखिएका विज्ञापनमा पनि १०,००० देखि २५,००० सम्मको पारिश्रमिक भनेर लेखिएको पाइन्छ। अझै कतैतिर त दैनिक ज्यालादारीको सूचना पनि छ।
जो कोहीलाई देख्दा लाग्न सक्छ, २५,००० पारिश्रमिक भनेको मूल्य भएकै त हो नि तर १२ घण्टा अस्पतालमा काम गरेर पाएको पारिश्रमिक नै एउटी नर्सको मूल्य हो त? अहिले खुलेको विज्ञापनको आधारमा २ महिना काम गर्दैमा नर्सिङ पेशा माथि उठ्छ त? छ्याप्ती छ्याप्ती खुलेको नर्सको माग के मूल्य बुझेर नै खुलेका हुन् त ? प्रश्नको उत्तर दिने न त नर्सिङ पेशामा लागेर माथिल्लो निकाय पुगेका नर्स नै भेटिन्छन् न त नर्सको हकहितको लागि बोल्ने नर्सिङ संगठन नर्सिङ एसोसिएसन अफ नेपाल नै।
कोभिड–१९ मा खट्ने स्वास्थ्यकर्मी दिने भनिएको जोखिम भत्ता अहिलेसम्म दिन नसकेको सरकारले फेरि पनि खोलिएका विज्ञापन पदपूर्ति होस् भन्नकै लागि खोक्रो आश्वासन दिन भने छोडेको छैन। आममानिसलाई सरकारका घोषणा सुन्दा स्वास्थ्यकर्मीलाई दिने भनिएको सेवासुविधा प्रशस्त लाग्छ होला तर अहिलेसम्म पहिलो पङ्क्तिमै रहेर कोभिड–१९मा काम गर्नेहरुलाई संघीय सरकारले जोखिम भत्ता उपलब्ध गराएको छैन र त्यसको प्रमाण म आफैँ पनि छु।
विदेशमा इज्जतिलो मानिने नर्सिङ पेशाले हाम्रोमा त्यो इज्जत अहिलेसम्म पाउन सकेको छैन। मूल्य भएको पेशा भए काम गरेको कदर हुन्थ्यो, इज्जत हुन्थ्यो र पारिश्रमिक हुन्थ्यो तर मूल्य हराएर अहिलेसम्म हराएको मूल्य खोज्न अगाडि बढ्न नसकेको हाम्रो नर्सिङ पेशा कहिले अगाडि आउन सक्ला ?
(लेखक स्टाफ नर्स हुन्)