धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान यतिबेला फेरि चर्चामा छ। अव्यवस्थापनको सबैजसो हद पार गरिसकेको सो संस्थाको शुद्धीकरणको माग राख्दै त्यहाँ आबद्ध सम्पूर्ण फ्याकल्टी, कर्मचारी, आवासीय चिकित्सक एवम् विद्यार्थीहरुले आन्दोलन गरिरहेका छन्। उनीहरुको साथमा नागरिक दबाब सञ्जाल पनि थपिएको छ। तर, आन्दोलन शुरु भएको १६ दिन पुगिसक्दा पनि वार्ता र सहमति हुन सकेको छैन।
बिपी प्रतिष्ठानको मुख्य उद्देश्य हो- चिकित्साशास्त्रको अध्ययन, बिरामीको उपचार र अनुसन्धान। तर, प्रतिष्ठानको वातावरण यी उद्देश्यको प्रतिकूल ढंगले अघि बढिरहेको छ। बरु, कमिसनको जालो, अव्यवस्था, सहमतिको उल्लंघन जस्ता विषयले प्राथमिकता पाइरहेका छन्। करोडौं खर्च गरेर स्वास्थ्य उपकरण खरिद गर्ने, तर तिनको उपयोग नगर्ने। बिगार्ने र मर्मतका लागि भन्दै कमिसनलाई केन्द्रमा राखेर बार्षिक ठूलो रकम खर्च गराउने प्रवृत्ति प्रतिष्ठानभित्र मौलाएको छ। अव्यवस्था कतिसम्म छ भने, प्रतिष्ठानभित्रको फोहोर व्यवस्थापनका लागि समेत प्रधानमन्त्रीलाई पत्र लेख्नुपर्ने र आन्दोलन गर्नुपर्ने स्थिति छ। इन्टरनेट सुविधामा समेत लाखौं कमिसनको चलखेल रहेको आरोप लागिरहेको छ। अर्थात् समग्रमा भन्दा प्रतिष्ठान अहिले अनियमितता र अव्यवस्थाको अखडा बनेको छ।
परिणाम: बिरामीले सहज, सुलभ र गुणस्तरीय सेवा पाउन सकेका छैनन्। उनीहरु धेरैजसो स्वास्थ्य परीक्षणको रिपोर्ट लिनसमेत अन्यत्र जान बाध्य छन्। यसले बिरामीमा हैरानी र खर्च बढाएको छ। विद्यार्थीको शैक्षिक क्रियाकलाप पनि प्रभावित भएको छ। यसको असर दीर्घकालमा देखिने छ।
त्यस्तै, 'फ्रन्टलाइनर'ले भत्ता नपाएको, बढुवा नभएको, आवासीय चिकित्सकहरु र विद्यार्थीको छात्राबास निर्माण, छात्राबासको शुल्क, इन्टरनेट सर्भिस, विद्युत, पानी लगायतका कैयौं समस्याको चाङ लागेको छ। यो प्रवृत्ति एक/दुई दिन वा महिनाको घटना मात्रै होइन, लामो समयदेखि चलिरहेको छ। कुनै बेलाको प्रतिष्ठित प्रतिष्ठानको साख अहिले दैनिक रुपमा गिर्दै गइरहेको अनुभूति यसलाई माया गर्नेहरुले गरेका छन्। त्यसैले प्रतिष्ठानको समग्र सुधारका लागि र बेथितिको प्रतिरोधस्वरुप असार १ गतेदेखि आन्दोलन भइरहेको छ।
आन्दोलनकारीले औंल्याएका समस्याको चित्तबुझ्दो निकास खोज्नुको सट्टा प्रतिष्ठानका पदाधिकारी भने बेवास्ता गर्दै अघि बढेका छन्। पदाधिकारीहरुले एक–अर्कालाई खराब देखाएर आफ्नो दुनो सोझ्याउने रणनीति अख्तियार गरेकै थिए, प्रतिष्ठानका उपकुलपति प्राडा ज्ञानेन्द्र गिरीले त गैरजिम्मेवारीपनको हद पार गरे। आन्दोलनकै बीच प्रतिष्ठान छाडेर काठमाडौं हिँड्नुले उनको गैरजिम्मेवार र समस्या सुधारप्रति उदासिन प्रवृत्तिलाई पुनः पुष्टि गरिदियो।
आन्दोलन अघि बढ्दै गर्दा असार १४ गतेदेखि रिले अनसन शुरु भएको छ। आन्दोलनमा रहेका कर्मचारी तथा विद्यार्थीले असार १३ गते उपकुलपति गिरीलाई ३ दिने अल्टिमेटम पनि दिएका थिए। मंगलबार उनले पत्रमार्फत दिउँसो साढे ३ बजे वार्ताका लागि आह्वान गरेका थिए। सोहीअनुसार वार्ताका लागि पुगेका प्रतिनिधिहरुसँग उनको उपस्थिति असामान्य रह्यो। त्यसक्रममा गिरी मदिरा सेवन गरेर लठ्ठ परेको अवस्थामा प्रस्तुत भएको भन्दै आक्रोशित आन्दोलनकारीहरुले उनीसहित पदाधिकारीलाई वार्तास्थलमै थुनिदिएका थिए।
घटनाक्रमलाई हेर्दा डा ज्ञानेन्द्र गिरीले उपकुलपति हुनुको गरिमा गुमाइसकेका छन्। उनको शैक्षिक योग्यतामाथि त प्रश्न छँदैछ, संस्थाको नेतृत्वकर्ताको रुपमा उनीबाट जिम्मेवारीबोध र सुझबुझपूर्ण व्यवहारको अपेक्षा गर्नु पनि औचित्यहीन बन्न पुगेको छ। मंगलबारको घटनाले त उनको बर्खास्ती अपरिहार्य हुन पुगेको छ।
यससँगै बहस गरिहाल्नुपर्ने अर्को विषय हो, यस्ता संस्थाहरुको पदाधिकारी चयन गर्दाको प्रक्रिया। राजनीतिक आवद्धताका आधारमा पदाधिकारी र नेतृत्व चयन गर्ने गरिएको कुरा खुला सत्य हो। जसको परिणाम पछिल्लोपटक बिपी प्रतिष्ठानमा देखिएको छ। वर्षौं लगाएर आर्जन गरिएको संस्थाको प्रतिष्ठा र साखलाई यस्ता नियुक्तिहरुले केही वर्षमै धुलिसात बनाउने रहेछन् भन्ने यो एउटा उदाहरण बनेको छ। गिरी मात्रै कारक नहोलान्, तर उनको भूमिका प्रमुख छ र उत्प्रेरक छ भन्ने कुरालाई नकार्न सकिँदैन।
अनियमिततामा संलग्नहरुलाई दण्डित गर्ने प्रक्रियाको थालनी गर्नु अहिलेको प्रमुख आवश्यकता हो। साथै, चुस्त र पारदर्शी व्यवस्थापनको पनि तत्कालै सुनिश्चितता हुनुपर्छ। तर, यो सबै गर्नका लागि अहिलेको नेतृत्वले नैतिक बल भने गुमाइसकेको छ। त्यसैले आन्दोलनलाई थप कडा हुने र धेरै जनाले दुःख भोग्नुपर्ने बाटोतिर जान नदिन त्यहाँ उठेका मागका सन्दर्भमा तत्कालै निष्कर्ष निकाल्न जरुरी भइसकेको छ। त्यसका लागि तत्काल प्रतिष्ठानका उपकुलपति गिरीलाई बर्खास्त गरिनुपर्छ र आन्दोलनमा उठेका विषयलाई प्राथमिकताका साथ सम्बोधन गरिनुपर्छ। यसलाई सम्बोधन गर्न जति ढिला हुन्छ, प्रतिष्ठित संस्थाको साख झन् रफ्तारमा ध्वस्त हुनेछ।
यो पनि :
'बिपी प्रतिष्ठानका उपकुलपति डा गिरी मदिरामा लठ्ठिएपछि भाँडियो वार्ता' [भिडियो]