काठमाडौं- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरी र प्रतिष्ठानका आन्दोलनरत कर्मचारी तथा विद्यार्थीबीचको वार्ता भाँडिएको छ।
प्रतिष्ठानका कर्मचारी तथा विद्यार्थीले आन्दोलन सुरु गरेको १५ दिन आज मंगलबार उपकुलपति गिरीले आफैंले पत्र काटेर वार्ताका लागि बोलाएका थिए। आन्दोलनरत कर्मचारी तथा विद्यार्थीले संघर्ष समिति बनाउँदै आन्दोलन गर्दै आइरहेका छन्।
उपकुलपतिले नै बोलाएपछि वार्ताका लागि संघर्ष समितिले सकारात्मक हुँदै ११ सदस्यी वार्ता टोली बनाएको छ। तर वार्ताका लागि उपकुलपतिकहाँ पुग्दा उनी मदिरामा लठ्ठिएको पाएपछि वार्ता नै भाँडिएको आन्दोलनकारीले आरोप लगाएका छन्।
उपकुलपति मदिरामा लठ्ठ परेको फेला परेपछि आन्दोलनरत कर्मचारी र विद्यार्थीले उपकुलपति गिरीसहित प्रतिष्ठानका रजिष्ट्रार डा मोहनचन्द्र रेग्मी, रेक्टर डा गुरु खनाल, अस्पतालका सहायक निर्देशक डा देवराज मिश्र र डा प्रमोद बराललाई कार्यकक्षमा नै थुनिदिएका छन्।
आन्दोलनरत पक्षले अहिले प्रतिष्ठानमा नाराबाजी गर्दै आएका छन्।
'वार्ता गर्न उपकुलपति कहाँ पुग्दा उहाँले मदिरा सेवन गरेर आउनु भएको पाइयो', उनले भने 'उहाँले मदिरा सेवन गरेर लठ्ठिएको विषयमा प्रतिष्ठानका अरु पदाधिकारी पनि जानकार थिए। तर पनि उहाँहरुले वार्तामा बस्न बोलाएका कारण सबैलाई एकै स्थानमा राखेर बाहिरबाट ताला लगाइएको हो।'
उनले उपकुलपतिसहितका पदाधिकारीलाई ताला लगाएर थुनिदिएपछि धरानका मेयर र प्रहरी उहाँहरु भएको स्थानमा पुगेर छलफल गरिरहेको जानकारी दिए।
उपकुलपति डा गिरीले मदिरा सेवन गरेर आएको चाल पाएपछि आन्दोलनरत कर्मचारी र विद्यार्थीले भिडियो समेत खिचेका छन्। उक्त भिडियोमा उपकुलपति डा गिरीको खुट्टा लरबराएको देख्न सकिन्छ। कर्मचारी र विद्यार्थीले भिडियोमा उपकुलपतिलाई मदिरा सेवन गरेर कार्यालय आएको भन्दै आक्रोश समेत व्यक्त गरेका छन्।
हेरौं भिडियो
प्रतिष्ठानका चिकित्सक, स्वास्थ्यकर्मी तथा विद्यार्थीहरु प्रतिष्ठानको शाख जोगाउन र प्रतिष्ठानमा भइरहेका अनियमितता तथा वेथिति सुधारका माग राख्दै आन्दोलित भएका हुन्।
प्रतिष्ठानमा भइरहेका अनियमितताको अन्त्यसँगै प्रतिष्ठानको विकास र विस्तार हुनुपर्ने उनीहरुको मुख्य माग रहेको बताइएको छ। यसका साथै कर्मचारीलाई उचित प्रोत्साहन हुनुपर्ने माग पनि उनीहरुले राख्दै आइरहेका छन्। प्रतिष्ठानको शुद्धिकरणका लागि भन्दै उनीहरुले असार १ गतेदेखि आन्दोलनमा होमिएका छन्।
उनीहरुले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शुद्धीकरण अभियान– संयुक्त संघर्ष समिति नै बनाएर अस्पताल परिसरमा दैनिक धर्ना दिएर आन्दोलन गरिरहेका छन्।
उक्त आन्दोलनमा मेडिकल, डेन्टल, नर्सिङ, नन मेडिकल फ्याकल्टी, कर्मचारी, आवासीय चिकित्सक र विद्यार्थीहरु एक भएर प्रतिष्ठानमा भइरहेको वेथिति विरुद्ध जुटेका छन्। सोमबारदेखि उनीहरुले रिले अनसन सुरु गरेका थिए।
मंगलबार दिउसो उपकुलपति डा गिरीले पत्र पठाउँदै वार्तामा बोलाएका हुन्।
हेरौं पत्र