“तिमीले गधा हाँसेको कहिल्यै पनि देखेका छैनौ, त्यस्तै न तिमीले भैंसीलाई ठट्टामा रमाइरहेको देखेका छौ। मानिसमात्र हो जो हाँस्न पनि सक्छ र ठट्टा पनि गर्न सक्छ। त्यसैले कहिल्यै नहाँस्ने वा ठट्टा नगर्ने तिम्रा साथीभाइहरू भैंसी वा गधाजस्ता हुन्।” भनी ओशोले भनेका छन्। नहाँस्नेहरू मानव जातिबाट पदच्युत भएका छन्। उनीहरूले जीवनको एक अमूल्य वस्तु गुमाएका छन्। हाँसोबिनाको मानिसलाई फूल नफल्ने रुखसँग दाँज्न सकिन्छ। विनोदको भावना बुद्धिका लागि धेरै आवश्यक कुरा हो। हाँसो प्रकृतिले मानिसका लागि दिएको एक बलियो औषधि हो भनी स्वास्थ्यविज्ञानले भनेको छ। हाँस्न सक्ने बिरामीले चाँडो स्वास्थ्यलाभ गर्न सक्छ भने नहाँस्ने व्यक्तिको स्वास्थ्य आज राम्रो भए पनि चाँडो वा ढिलो खराब हुने सम्भावना हुन्छ।
हाँसोका उपचारमूलक फाइदाहरू
लोमा लिन्डा विश्वविद्यालय, क्यालिफोर्नियाका डा ली बर्क र उनका अनुसन्धान सहयोगी डा स्टानली टानले हाँसोबाट शरीरको प्रतिरक्षात्मक प्रणालीमा के कस्ता असरहरू पर्दछन् भनी अध्ययन गाररहेका छन्। उनीहरूका आजसम्म प्रकाशित अध्ययन अनसार हाँसोले रक्तचाप र तनाब बढाउने हर्मोनलाई घटाउँछ र रोगको सङक्रमणसँग लड्ने टी नामक रक्त कोषिका (T-cell) को वृद्धि गराउनका साथै रोगसँग लड्ने गामा-इन्टरफेरन तथा बिटा कोषिका जस्ता प्रोटिन बढाउँछ। हाँसोले शरीरभित्रैबाट निस्कने प्राकृतिक दुखाइ कम गर्ने रस निकाल्न बल दिन्छ। यसले बिरामीलाई स्वस्थ भएको महसुस हुन्छ।
हाँसोले रोग प्रतिरोधात्मक प्रणालीलाई सक्रिय बनाउँछ
डा बर्कको अध्ययन अनुसार हाँसोले तनाव ल्याउँछ भन्ने पहिलेको सोचाइ विपरीत उन्मुक्त हाँसो हाँस्नु त्यो स्थिति हो जसले स्वास्थ्य र सकारात्मक आवेग ल्याउँछ। हसाउँने र हाँस्ने क्रियाकलापमा संलग्न भएका व्यक्तिमा तिनीहरूको रोग प्रतिरोधात्मक प्रणाली बढी गतिशील हुन्छ र तिनीहरूको शरीर धेरै रोग तथा सङ्क्रमणहरूसँग जुझ्न तयार रहन्छ भन्ने निष्कर्ष धेरै अनसन्धानहरूले निकालेका छन्।
हाँसोले तनाव ल्याउने हर्मोन कम गर्छ
हाँसोल गर्दा रक्त कोषिकालाई साँघुरो बनाउने र सङ्क्रमण रोक्ने गतिविधिलाई कम गर्ने तनाव प्रदायक हर्मोन घट्छ भन्ने कुराको पनि उक्त अध्ययनले समर्थन गरेको छ। उदाहरणका लागि हाँसोको अपेक्षा गरिरहेका र हाँसिसकेका मानिसमा परीक्षाको पूरै समयभित्र epinephrine को स्तर घटेको पाइएको छ। यसका साथै dopamine को स्तर पनि घटेको पाइएको छ। शरीरमा रक्तचाप बढ्दा डोपामिनको मात्रा बढेको पाइन्छ।
हाँसो एक प्रकारको शारीरिक कसरत (aerobic) हो। यसले शरीरभित्रको पेट र छाती बिचको मांसपेशी (diaphragm) लाई काम गर्न लगाउनुका साथै शरीरको अक्सिजन प्रयोग गर्ने क्षमतालाई पनि बढाउँछ। हाँसोले सकारात्मक आवेगजस्ता परम्परागत उपचार कार्यलाई वृद्धि गर्दछ। अतः यो रोगसँग लड्नका लागि उपलब्ध अर्को एक औजार हो। उपचारको प्राकृतिक विधिका रूपमा हाँसोलाई प्रयोग गरिएमा यसले दुखाइलाई कम गर्छ र चाँडो निको हुनलाई मद्दत पनि गर्छ भन्ने विश्वास विशेषज्ञहरू गर्दछन्। जे भए पनि हाँसोले बिरामीको ध्यान दुखाइबाट हटाउने काम गर्छ।
Journal of Holistic Nursing मा प्रकाशित एक अध्ययन अनुसार चिरफारको लगत्तै पछि र दुखाइ कम हने ओखती सेवन गराउन अगाडि बिरामीलाई एउटा वाक्य भनिएको थियो- उपचारको अङगका रूपमा हास्यको खुराकी मात्रा पाएकाले भन्दा नपाउनेले दुखाइ बढी अनुभव गरेका थिए। हाँसोको ठूलो फाइदा यो सित्तैमा पाइनु हो र यसबाट नकारात्मक असर नहुनु हो। त्यसैले जतिसकै बिरामी हनुहुन्छ भने पनि तपाईंको सन्निकटमा बसेर कसैले ठट्टा गर्यो भने उन्मुक्त हाँसो हाँस्नुहोस्। दिनमा दशपटकको ठूलो स्वरको हाँसोले मान्छेलाई जवान तथा स्वस्थ राख्छ।