बर्लिन- जर्मनीको आधा भन्दा बढी जनसंख्यालाई कोरोना भाइरसविरुद्धको पूरा डोज खोप लगाइएको यहाँको स्वास्थ्य मन्त्री जेन्स स्पानले बताए। युरोपको सबैभन्दा ठूलो अर्थतन्त्रको खोपको अभियानलाई स्वागत गर्दै उनले सो कुरा बताए।
स्पानका अनुसार ४ करोड १८ लाख जर्मन नागरिक हाल पूर्णरुपमा सुरक्षित भएका छन्। जर्मनीको कूल जनसंख्या ८ करोड ३० लाख भन्दा बढी रहेको छ। जर्मनीको आधा जनसंख्या भनेको ४ करोड १५ लाख भन्दा बढी रहेको छ।
त्यस्तै ६१.१ प्रतिशतले जर्मन नागरिकले कम्तीमा एक डोज खोप प्राप्त गरेको पनि उनले बताए। प्रायः सबैले नागरिकले शरद र जाडो मौसमसम्म खोप लिने पनि स्पानले ट्विटरमा लेखेका छन्।
जर्मनीमा कोरोना भाइरस शुरुभएदेखि हालसम्म ३७ लाख ६६ हजार ५०१ व्यक्ति सङ्क्रमित भएका छन्। कोरोना सङ्क्रमणको कारणको ९१ हजार ५९२ व्यक्तिको मृत्यु भएको पनि सरकारी अधिकारीहरुले जानकारी दिएका छ। रासस