काठमाडौं- विश्वभरि कोरोनाभाइरसको सङ्क्रमण गएको साता उच्च दरले वृद्धि भएको छ। गएको साता ३८ लाख नयाँ सङ्क्रमित थपिएका छन्। जुन एक साता अघिको भन्दा करिब आठ प्रतिशतले बढी हो।
विश्व स्वास्थ्य संगठनका अनुसार कोभिड १९ का सङ्क्रमित हुने अमेरिका र पश्चिमी प्रशान्त क्षेत्रमा ३० र २५ प्रतिशतले बृद्धि भएको हो। दैनिक रुपमा पाँच लाख ४० हजार नयाँ सङ्क्रमित थपिएका छन्। करिब एक साता अघि दैनिक थपिने सङ्क्रमित चार लाख ९० हजार रहेको थियो।
एक साता अघिको तुलनामा कोभिड १९ बाट हुने मृतकको संख्या समेत उच्च दरले वृद्धि भएको छ। जुलाई १९ देखि २५ सम्म कोभिड १९ को सङ्क्रमणले विश्वभरि भएको मृतकको संख्या ६९ हजार रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।
त्यसभन्दा अघिल्लो साताको तुलनामा कोरोना सङ्क्रमणले हुने मृत्यु २१ प्रतिशतले बृद्धि भएको छ। हालसम्म विश्वभरि १९ करोड ४० लाख ब्यक्ति सङ्क्रमित भएका छन् भने ४० लाखभन्दा बढी ब्यक्तिको मृत्यु भएको छ।