पिसाब थैलीमा जम्मा भएको पिसाब पिसाबनली हुँदै बाहिर आउछ। पिसाब थैलीको मुखमा पिसबनलीको वरिपरी प्रोस्टेट ग्रन्थी बसेको हुन्छ। सामान्य मानिसमा प्रोस्टेट ओखर जत्रो हुन्छ जुन लगभग १५-२० ग्रामको हुन्छ। मानिस वृद्ध हुँदै जाँदा प्रोस्टेट ग्रन्थी पनि बढ्दै जान्छ। प्रोस्टेट ग्रन्थी बढेर हुने समस्यालाई मेडिकल भाषामा Benign Enlargement of prostate (BPH) भनिन्छ। प्रोस्टेट ग्रन्थी बढ्दै जाँदा मूत्र नलीको बीचको भागलाई यसले साँगुरो पार्दै लग्छ जसले गर्दा पिसाबको धारा सानो हुने, पिसाबको संक्रमण हुने तथा पिसाब रोकिने समस्या हुन सक्छ। यो समस्या प्राय ५० वर्षको उमेरपछि देखिन्छ।
किन बढ्छ प्रोस्टेट?
उमेर बढ्दै जाँदा प्रोस्टेट पनि सबै पुरुषमा बढ्दै जान्छ। विभिन्न हर्मोनहरुको कारणले प्रोस्टेट बढ्ने गर्दछ। कुनै पुरुषमा भने प्रोस्टेट बढेर पनि केही समस्या दिँदैन। धेरै यौन सम्पर्क गर्नाले अथवा पुरुष बन्ध्याकरण गर्नाले प्रोस्टेट ग्रन्थी बढ्छ भन्ने जनमानसिकता छ, जुन गलत हो।
लक्षणहरु के हुन्?
- छिटो छिटो पिसाब लाग्नु
- पिसाब फेर्न राति धेरै पटक उठ्न पर्नु
- पिसाबको धारा सानो हुनु
- पिसाब लागेपछि फेर्न गइ हाल्नु पर्ने हुनु
- पिसाबको धारा मसिनो हुनु, पिसान काटिएर जानु
- पिसाब फेर्न सुरु गर्न समय लग्नु
- पिसाब चुइने, पिसाब थोपा थोपा जाने हुने
- कुनै कुनै बिरामीमा पिसाब थैली भरिए पनि पिसाब गर्न नसकेर पिसाब नालीमा पाइप (catheter) राखेर पिसाब निकाल्नुपर्ने हुन सक्छ। कहिलेकाँही पाइप राख्न नसकेर नाइटो मुनि छेडेर पिसाब थैलीमा पाइप लगाउन पर्ने पनि हुन सक्छ।
- लामो समयसम्म पिसाबको समस्या रहेमा यसले मिर्गौलालाई फुलाउने र मिर्गौलाको कार्यक्षमतामा नराम्रो प्रभाव पार्न सक्छ ।
यी लक्षणहरु पिसाब थैली वा प्रोस्टेटको क्यान्सर अथवा पिसाब थैलीको पत्थरीले गर्दा पनि हुन सक्छ।
प्रोस्टेट बढेको कसरी पत्ता लगाउने?
प्रोस्टेट बढेको छ कि छैन भनेर चिकित्सकले लक्षणको आधार तथा जाँचबाट भन्न सक्छन। मलद्वारमा औँला राखेर गरिने जाँच (DigitalRectalExamination) बाट प्रोस्टेटलाई छामेर प्रोस्टेट बढेको वा प्रोस्टेटको क्यान्सरको बारेमा अनुमान गर्न सकिन्छ।
पिसाबको जाचबाट पिसाबको संक्रमण पत्ता लगाउन सकिन्छ।
भिडियो एक्स-रे गरेर पिसाब थैली र प्रोस्टेटको आवस्था पत्ता लगाउन सकिन्छ।
प्रोस्टेटको क्यान्सरको शंका लागेमा चिकित्सक ले prostate specific antigen (PSA) को जाँच गर्न सक्दछन्। PSA रगतमा धेरै देखिएमा तथा क्यान्सरको शंका भएमा थप अरु जाँचहरु पनि गर्नु पर्ने हुन सक्छ।
रगत जाँच गर्दा serum creatinine बढेको हुन सक्छ जसले मिर्गौलले कम काम गरेको देखाउँछ।
घरमै बसेर गरिने उपचार
प्रोस्टेट बढेर हुने समस्याहरु कम गर्न सुरुको आवस्थामा घरमै बसेर पनि लक्षणहरु कम गर्ने बिधि गर्न सकिन्छ जस्तै:
- सुत्ने बेला अथवा बाहिर कतै जाने बेलामा धेरै पानी नपिउने
- चिया, कफी वा मदिरा कम खाने/नखाने
- दुई पटक पिसाब फेर्ने – एक पटक पिसाब फेरेको केही समयमै फेरि पनि पिसाब फेर्ने। यसो गर्नले पिसाब थैलीमा पिसाब जम्मा भएर बस्न पाउँदैन जसले गर्दा पिसाबको संक्रमण हुन कम हुन्छ।
कहिलेकाँही यसको लक्षणहरु आफैँ कम भएर पनि जान सक्छन्। लक्षणले धेरै अप्ठेरो भएमा मात्र उपचार गरे हुन्छ।
औषधिबाट गरिने उपचार
माथिका बिधिले पनि समस्यामा सुधार नआएमा चिकित्सकको परामर्श लिनु पर्दछ। औषधि सेवनले ग्रन्थिलाई बढ्न नदिने र बढेकोलाई बिस्तारै भए पनि खुम्च्याएर सानो बनाउने गर्दछ। बिरामीलाई पिसाब सम्बन्धि समस्या धेरै भएमा औषधि चलाउने गरिन्छ। यसको उपचारको लागि Tamsulosin, alfuzosin, finasteride जस्ता औषधिहरु उपलब्ध छन्। यी औषधिहरु जीवनभरको लागि खानु पर्ने पनि हुन सक्छ। Tamsulosin, alfuzosin जस्ता औषधिले रिंगटा लाग्ने तथा प्रेसर घटाउने हुँदा राति सुत्ने बेलामा मात्रा खानु पर्छ। Finasteride औषधिले यौनइच्छा तथा शक्ति कम हुने समस्या हुन सक्छ। लक्षण धेरै छ अथवा प्रोस्टेट ग्रन्थी धेरै ठुलो छ भने दुई वा दुईभन्दा धेरै औषधि एकै पटक खानु पर्ने पनि हुन सक्छ।
शल्यक्रिया-
औषधिले लक्षणहरु कम नभएमा अथवा औषधिको नकारात्मक असर भएमा प्रोस्टेटको शल्यक्रिया गर्नु पर्छ। पिसाब नली हुँदै प्रोस्टेट खुर्किने बिधि Trans urethral Resection of prostate (TURP) शल्यक्रिया बिधिबाट प्रोस्टेटको शल्यक्रिया गर्न सकिन्छ। यो शल्यक्रिया गर्दा छालामा चिरा लगाउनु पर्दैन। शल्यक्रियापछि यौनइच्छा र शक्तिमा फरक नपरे पनि वीर्य स्खलन भने हुँदैन।
-(यूरोलोजिस्ट डा सिग्देल भरतपुर अस्पतालमा कार्यरत छन्।)