काठमाडौं- कोरोनाविरुद्धको खोप लगाउनेको दर घटना थालेपछि अमेरिकी सरकारले प्रतिव्यक्ति १०० डलर दिने घोषणा गरेको छ।
खोप लगाउनेहरुको संख्या बढाउन अमेरिकी सरकारले निर्देशिका जारी गर्दै उक्त योजना ल्याएको हो।
राष्ट्रपति जो वाइडेनले कोरोनाविरुद्ध खोप लगाउने व्यक्तिलाई रकम दिन राज्य सरकारहरुलाई पनि आह्वान गरेका छन्।
उनले संघीय सरकारका कर्मचारीका लागि पनि यो व्यवस्था लागू हुने बताए। अमेरिकामा संघीय सरकारका निकायहरूमा मात्रै करिब २० लाख मानिस काम गर्छन्।
तर, खोप लगाउन प्रेरित गर्नेगरी अहिले लागू गरिएको नगद रकम पहिले नै लगाइसकेकालाई भने पाउने छैनन्।
जारी निर्देशनमा अबदेखि कर्मचारीहरुले खोप लगाएको प्रमाण देखाउनु पर्नेछ व्यवस्था गरिएको छ। त्यसैगरी सबै कर्मचारीले कोरोना परीक्षण अनिवार्य रुपमा गर्नुपर्ने र मास्क लगाउनुपर्ने व्यवस्था पनि निर्देशिकामा छ।
बढी संक्रमण डेल्टा भेरियन्टका कारण नयाँ प्रतिबन्धहरू लगाउनु परेको अमेरिकामा हालसम्म आधा जनसंख्याले मात्र खोपको मात्रा पूरा गरेका छन्।
खोप नलगाएकाहरुलाई डेल्टा भेरियन्टले बढी असर गर्ने गरेकाले खोप लगाउन सरकारले सबैलाई आग्रह गरेको छ।