काठमाडौं- धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी र व्यापारीबीचको मिलेमतोमा अनियमितता हुने गरेको पाइएको छ। सरकारी छानबिन समितिले नै प्रतिष्ठानमा उपकरण खरिददेखि भौतिक पूर्वाधार निर्माणका क्रममा चरम अनियमितता हुने गरेको तथ्य बाहिर ल्याएको छ। उक्त छानबिन समितिको प्रतिवेदन तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गोप्य राखेको थियो।
तर उक्त प्रतिवेदन स्वास्थ्यखबरलाई प्राप्त भएको छ। समितिले बुझाएको प्रतिवेदनमा प्रतिष्ठानमा उपकरण खरिदका क्रममा एउटै उपकरणमा अन्य अस्पतालको भन्दा २ करोड भन्दा बढी रकम तिरेर किनिएको कुरा उल्लेख छ। यसका साथै सुरुमा ७६ करोडमा बनाउने भनिएको भवनलाई व्यापारीसँगको मिलेमतोमा २ अर्ब ३३ करोड रुपैयाँ पुर्याइएको विवरण पनि प्रतिवेदनमा उल्लेख छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका तत्कालिन सचिव केदारबहादुर अधिकारी संयोजकत्वमा गठित ७ सदस्यीय कार्यदल बुझाएको प्रतिवेदन तीन वर्षसम्म लुकाइएको थियो।
समितिले २०७५ भदौमा प्रतिष्ठानका कुलपति समेत रहेका तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएको थियो। ५८ पृष्ठ लामो उक्त प्रतिवेदनमा आर्थिक वर्ष २०७१/७२ देखि २०७५/७६ सम्म खरिद भएका सामग्रीमा भएका अनियमितताका कुरा उल्लेख छ। अध्ययनका क्रममा समितिले प्रतिष्ठानले खरिद गरेका उपकरण तथा सामग्री र देशका अन्य अस्पतालमा खरिद भएका उपकरण र सामग्रीसँग तुलना गरेको थियो। सो क्रममा प्रतिष्ठानले रगत रोक्ने कौटरी मेसिन अन्य अस्पतालभन्दा २१ गुणा बढीसम्म लिएको पाइएको थियो।
उक्त मेसिन गंगालाल हृदय रोग केन्द्रले ५ लाख ६३ हजार, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले ६ लाख ३५ हजार र वीर अस्पतालले ७ लाख २५ हजारमा खरिद गरेका थिए। तर प्रतिष्ठानले भने १ करोड २१ लाख ५९ हजार ७६ रुपैयाँ खर्च गरेर उक्त उपकरण किनेको पाइएको छ।
यस्तै आर्थिक वर्ष २०७३/७४ मा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले अप्रेसन थिएटरको टेबल ७ लाख ७८ हजार खरिद गरेको छ। तर त्यही समयमा बिपी प्रतिष्ठानले उक्त टेबल ७६ लाख १७ हजार ७ सय २९ रुपैयाँमा किनेको प्रतिवेदनमा उल्लेख छ।
क्याथल्याब उपकरणमा पनि प्रतिष्ठानले मिलेमतोमा निकै महँगोमा खरिद गरेको पाइएको छ। सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रले ६ करोड ४० लाख र सहिद गंगालाल हृदय रोग उपचार केन्द्रले ५ करोड ४४ लाखमा खरिद गरेको क्याथ ल्याबका बिपी प्रतिष्ठानले ८ करोड ७६ लाखमा खरिद गरेको कुरा पनि प्रतिवेदनम उल्लेख छ।
बिपी प्रतिष्ठानले खरिद गरेका अधिकांस उपकरणहरुमा अनियमितता देखिएको विवरण प्रतिवेदनमा छ। उपकरणामा मात्र होइन प्रतिष्ठानमा निर्माण भइरहेका भौतिक पूर्वाधारका ठेक्कामा पनि अनियमितता र मिलेमतोमा काम भएको देखिएको छ।
प्रतिष्ठानमा निर्माण भइरहेको मातृशिशु भवन, पिजी होस्टलको भवन लगायतका पूर्वाधार निर्माणमा पनि मिलेमतोमा काम भइरहेको प्रतिवेदनमा उल्लेख छ।
हेरौं प्रतिवेदन