काठमाडौं– जनकपुरका रामउदारी यादवले गत फागुन २३ गते कोरोना भाइरस विरुद्धको कोभिसिल्ड खोपको पहिलो डोज लगाएका थिए। तर खोपको दोस्रो मात्रा भने लगाउन पाएका थिएनन्।
छोरा काठमाडौंमै भएकाले नियमित स्वास्थ्य जाँचका लागि यादव केही दिनअघि काठमाडौं आएका थिए।
सोमबार त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य जाँचका लागि आइपुगेका यादवले कोभिसिल्ड खोप लगाएकालाई दोस्रो डोज खोप दिँदैछ भन्ने जानकारी पाए।
त्यसपछि उनी स्वास्थ्य जाँच सकेर खोप केन्द्रमा आइपुगे। त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको खोप केन्द्रमा पुगेर उनले दोस्रो डोज खोप लगाए।
पहिलो डोज खोप लगाएको ५ महिनापछि दोस्रो डोज खोप लगाउन पाउदा यादव खुसी थिए।
‘हरेक वर्ष स्वास्थ्य जाँच गर्न आउँछु, अहिले पनि जनकपुरदेखि आएको थिएँ, यहाँ खोप लगाइरहेको देखेँ, कार्ड पनि ल्याएको थिएँ, अनि लगाइहाले,’ यादवले खुसी हुँदै भने, ‘ढिलो नै भएपनि दोस्रो डोज खोप लगाउन पाएँ, खुसी लागेको छ।’
यादव भन्दा केही पर काठमाडौंका रामभक्त ठाकुर खोप लगाएर आराम गरिरहेका थिए।
सरकारले पहिलो डोज लगाएर दोस्रो डोज समयमै दिन नसकेपनि अहिले आएर खोप लगाउन पाउँदा खुसी लागेको उनले सुनाए।
सरकारले अहिले खोप ल्याउन धेरै सक्रियता देखाएको र चैतसम्ममा सबैलाई खोप लगाउने घोषणा गर्नु राम्रो कुरा भएको ठाकुरले बताए।
‘सरकारले हामीलाई समयमै खोप दिन सकेन, अहिले सक्रियता देखायो, ढिलै भएपनि लगाउन पाइयो,’ उनले भने, ‘सरकारले चैत भित्रमा सबैलाई खोप लगाइदिन्छु भनेको छ, यो राम्रो कुरा हो।’
ठाकुरले सबै नेपालीले खोप लगाउन पाए मात्र कोरोना संक्रमण न्युनिकरण हुनसक्ने बताए।
त्रिवि शिक्षण अस्पतालको खोप केन्द्र व्यवस्थित भएको उनले सुनाए।
खोप लगाएर आराम गरिरहेकी ७० वर्षीया वृद्धा नारायणी भण्डारी पनि खोप लगाउन पाउँदा हर्षित थिइन्।
‘खोप लगाउन पालो आयो भनेर बोलाए, खोप लगाउन आएँ, खुसी लाग्यो,’ उनले भनिन्, ‘सबैले खोप लगाउन पाउन्।’
त्रिवि शिक्षण अस्पताल जस्तै काठमाडौं महानगरपालिका–१ नक्सालस्थित नन्दी रात्री मावि खोप केन्द्रमा खोप लगाउन पुग्नेहरु पनि खोप पाउँदा खुसी देखिन्थे।
महानगरपालिकाका जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीहरु खोप केन्द्र व्यवस्थित बनाउन खटिएका थिए।
खोप लगाउन पुगेको अशक्त व्यक्तिलाई स्वास्थ्यकर्मीले सवारीसाधान भित्रै पुगेर खोप समेत लगाइदिए।
सो खोप केन्द्रमा खोप लगाएर नागपोखरीमा बस्ने शिलादेवी नकर्मी र शुशिला प्रजापति गफिँदै थिए।
कोरोना विरुद्धको पहिलो डोज खोप लगाएको लामो समयपछि दोस्रो डोज पाउदा अब भने कोरोनाबाट बाँचिन्छ कि भन्ने आशा जागेको उनीहरुले बताए।
‘पहिलो डोज त फागुन मै लगाएको हो, बल्ल अहिले दोस्रो डोज लगाउन पाएँ, कोरोनाबाट बाँचिएला कि भनेर भनेर खोप लगाएँ, खुसी लागेको छ,’ नकर्मीले सुनाइन्।
‘मैले पनि फागुनपछि अहिले दोस्रो डोज खोप पाएको हो, दुवै डोज पाएपछि त बाँचिएला कि भन्ने लागेको छ,’ प्रजापतिले थपिन्, ‘अझै कतिले त खोप लगाउनै पाएका छैनन्। उनीहरुले पनि पाउन्।’
काठमाडौं महानगरपालिका–१ का वडा सदस्य अशोक श्रेष्ठ खोप केन्द्रमा व्यवस्थापनका लागि खटिएका थिए। कोरोना विरुद्धको खोपको पहिलो डोज मात्र लगाएर दोस्रो डोज पाउने पर्खाइमा रहेका स्थानीयहरु खोप पाउदा खुसी भएको उनले सुनाए।
‘पहिलो डोज मात्र लगाएर बसेका वृद्धवृद्धाहरुले सधै सोध्नुहुन्थ्यो, खोप कहिले लगाउन पाइन्छ, कहिले आउँछ भनेर,’ उनले भने, ‘अहिले खोप आयो, वृद्धवृद्धाहरु खोप लगाउन पाउँदा एकदमै खुसी हुनुहुन्छ।’
काठमाडौं उपत्यकाका विभिन्न अस्पताल तथा वडाले सञ्चालन गरेको खोप केन्द्रहरुमा सोमबारदेखि कोभिसिल्ड खोपको पहिलो डोज मात्र पाएकाहरुले दोस्रो डोज खोप पाएका छन्।
गत फागुन २३ गतेपछि कोभिसिल्ड खोपको पहिलो डोज लगाएका व्यक्तिहरुले दोस्रो डोज खोप समयमै पाउन सकेका थिएनन्।
पहिलो डोज खोप लगाइसके पछि १२ हप्ता सम्ममा दोस्रो डोज लगाउनुपर्ने भनिएपनि भारतले थप कोभिसिल्ड खोप नपठाएपछि करिब साढे १३ लाख जनताले दोस्रो डोज खोप पाएका थिएनन्। भारतबाट कोभिसिल्ड खोप नआएपछि सरकारले कोभिसिल्डको विकल्पमा एस्ट्राजेनेका खोप ल्यायो।
सरकारले कोभिसिल्डको पहिलो डोज मात्र लिएकाहरुलाई लक्षित गर्दै सोमबार देखि एस्ट्राजेनेका खोपको दोस्रो मात्रा दिन सुरु गरेको हो।
कोभिसिल्ड खोपको पहिलो डोज लगाएकाहरुले करिब ५ महिनापछि बल्ल दोस्रो डोज खोप लगाउन पाएका छन्। कोभिसिल्ड खोपको दोस्रो मात्र नपाउनेमा अघिकांश वृद्धवृद्धाहरु थिए।
विगतमा खोप केन्द्रको संख्या कम हुँदा खोप केन्द्रमा निकै भिड हुने गरेको देखिन्थ्यो। तर यसपटक खोप केन्द्र थप गरेका कारण भिड निकै कम देखियो भने व्यवस्थित पनि देखिएको थियो।