असनमा भिडभाड नभए रामबहादुर खड्गीलाई चिन्ता हुन्छ। तर, डेढ वर्षअघिको लकडाउन र यो वर्षको सुरुमै भएको निषेधाज्ञाबाहेक उनले चिन्ता गर्नु परेको छैन। व्यापारिक क्षेत्र भएकाले असनको साँघुरो गल्लीमा प्रायः ठेलमठेल हुन्छ।
‘कोरोनाको डर त छ नि, बाहिर निस्किएर नबसे खान पाइँदैन,’ खड्गीले भने।
उनको घरै असनमा हो। काठमाडौँमा बढी भिडभाड हुने ठाउँ असन पनि हो। सडकमै बसेर पसल गर्ने खड्गीलाई कोरोनाको डर त छ नै, त्योभन्दा ठूलो चिन्ता व्यापारको छ।
असनको एउटा कुनामा बसेर उनले व्यापार गर्न थालेको करिब ३५ वर्ष भयो। पसल ‘नाङ्ले’ भन्न मिल्ने छ। बिहानदेखि झमक्क साँझसम्म उनको समय यहीँ बित्छ। बिहान खाना खान मात्र श्रीमतीले पालो दिन्छिन्।
उनी मास्क लगाएरै बस्छन्। छेउमा राखेको स्यानिटाइजर बेलाबेला हातमा दल्छन्। ‘यति नै त हो, हामीले गर्नुपर्ने,’ उनी भन्छन्।
सरकारले कोरोनाको तेस्रो चरणको लहर सुरु हुने चेतावनी दिइसकेको छ। फेरि निषेधाज्ञा लगाउने अवस्था आए सरकारले गरिखाने वर्गका लागि केही विकल्प दिनुपर्ने उनी बताउँछन्। ‘कोरोनाले भन्छ– भित्र बस, भोकले भन्छ– बाहिर जाउ’ उनी भन्छन्, ‘हामी सर्वसाधारण कसरी बाँच्ने?’
जमल, असन, इन्द्रचोक, नयाँ सडक र आसपासका ठाउँ काठमाडौँमा बढी भिड हुने क्षेत्र हुन्। यी परम्परागत ‘शहर’ मा साँघुरा सडक छन्। हरेक घरका हरेक कोठामा पसल वा आर्थिक कारोबार गर्ने कार्यालय छन्। काठमाडौँ उपत्यका र बाहिरका जिल्लामा पनि यहाँबाट सामान पठाइन्छ। भिड बढ्ने नै भयो। त्यसैले यो क्षेत्र कोरोनाका लागि जोखिममा छ।
यस्तै जोखिममा दिनभरि बसेर व्यापार गर्छिन्, अमृता कुँवर। असनमा उनको कपडाको पसल छ। उनलाई फेरि लकडाउन वा निषेधाज्ञा होला भन्ने चिन्ता छ। उनी भन्छिन्, ‘अब खोप आइसकेको छ। सधैँ लकडाउन गरेर हामीजस्ता व्यापारीले के खाने? खोप पाएपछि लकडाउन गर्नुहुँदैन। बरु भिडभाडलाई कुनै उपाय लगाएर कम गर्न सकिन्छ।’
स्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्नुपर्ने उनी बताउँछिन्। तर, दैनिक व्यवहार नै चौपट हुने गरी सबै नागरिकलाई घरभित्र थुन्न नहुने बताउँछिन्। ‘नत्र हामी जस्ता व्यापारीले महिनाको एक लाख रुपैयाँ भाडा मात्र कसरी बुझाउनू?’ उनी भन्छिन्।
भिडभाड हुने जोखिमका ठाउँमा जानुको मान्छेहरुको बाध्यता भएको काठमाडौँ मलअगाडि भेटिएकी जस्मिना श्रेष्ठ बताउँछिन्। कानुनकी विद्यार्थी श्रेष्ठ सरकारले व्यवस्थापन गर्न नसक्दा भिड बढेको बताउँछिन्। उनी भन्छिन्, ‘आवश्यक नभइ कोही हिँड्दैन। कुन काम कति बेला हुने र गर्ने भन्ने समय निर्धारण गर्ने हो भने स्वतः भिड कम हुन्छ। यो त सरकारको जिम्मेवारी हो नि!’
सार्वजनिक यातायातमा सिटबाहेक यात्रु राख्न मनाही गर्नुपर्ने, मास्क अनिवार्य लगाउनुपर्ने, स्वास्थ्यका मापदण्डमा कडाइ गर्नुपर्ने उनको विचार छ। सार्वजनिक यातायात चढ्ने र ओर्लने ठाउँमा बढी भिड हुने हुँदा त्यहाँ उचित व्यवस्थापन गर्नुपर्ने उनी बताउँछिन्।
कोरोना संक्रमितको संख्या बढ्न थालेपछि उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरले राति ८ बजेदेखि निषेधाज्ञा लगाइसकेका छन्। यसले असन र आसपासका क्षेत्रमा व्यापार गर्नेहरु चिन्तित भएका छन्। संक्रमण थप बढे २४ घन्टा नै निषेधाज्ञा लाग्ने उनीहरुलाई पिरलो छ।
तर, सधैँ भिडभाडमा बस्नुपर्ने उनीहरु आफैं पनि कम सुरक्षित छन्। मुख्य बजार क्षेत्रमा हुने भिडले संक्रमण अन्यत्र पनि फैलने डर छ।
वीर अस्पतालअगाडि गेटमा भेटिएका बजिरे विक र छत्र विक भने सरकारको कमजोरी मात्र नभएर जनताको अटेरीपनले पनि कोरोना संक्रमण बढ्ने बताउँछन्। ‘न सरकार जनताले भनेको मान्छ, न जनता सरकारले भनेको मान्छन्,’ छत्र विक भन्छन्, ‘मान्छे यसरी हिँड्नु बाध्यता हो। रहरले भिडभाडमा जाँदैन। हामीलाई त लकडाउनको डर छ। के खाने, कसरी काम गर्ने भन्ने चिन्ता हुन्छ।’
असन, जमल, इन्द्रचोकजस्ता क्षेत्रमा जानु मानिसहरुको बाध्यता भएको उनी बताउँछन्। त्यहाँ व्यापारी मात्र होइन, भरिया, रिक्सा चालक, ठेलावालालगायत सर्वसाधारण आउँछन्। ती सबै जोखिममा रहेको विकले बताए।