दसैँ आइपुगेको छ। आफन्तबीच भेटघाट गर्ने, खानपानमा रमाउने र नयाँ सरसामानहरु जोड्ने अवसरको रुपमा पनि दसैँलाई लिने गरिन्छ। अर्थात् दसैँ चाडको अवधिभर विशेषत पैसाको अत्यधिक कारोबार/प्रयोग हुने गर्दछ। टिकापछि ठूलाबडाबाट दक्षिणाको रुपमा पनि पैसाको नै प्रयोग हुने गर्दछ। पैसामा पनि नयाँ नोटको प्रयोग बढी गर्ने/मनपराउने गरिन्छ। नेपाल राष्ट्र बैंकले पनि यहि अवसरमा नयाँ नोटको निष्काशन गर्ने गर्दछ।
हालै बंगलादेशमा (बंगलादेशी नोटमा) गरेको एक अध्यनले पुरानो भन्दा नयाँ नोटमा कोरोनाको भाइरस बढी समय रहने/स्थिर हुने पुष्टि गरेको छ। सन् २०२१ को जुलाई महिनामा "साइन्स अफ द इन्भाईरोमेन्ट" सहकर्मी-समीक्षा जर्नलमा यो अनुसन्धान प्रकाशित भएको थियो।
कोरोनाको दोस्रो लहरको गति शिथिल हुँदै गइरहेको भएतापनि दैनिक अझै सयौंको संख्यामा संक्रमित हुने र दर्जनको हाराहारीमा मृत्यु हुने क्रम जारी नै छ। विशेषत हालसम्म संक्रमित नभएका र खोप पनि नलगाएकाहरु बढी कोरोनाको जोखिममा छन्। सामान्यतय खोक्दा वा हाच्छिँउ गर्दा, कराउँदा वा गीत गाउँदा कोरोना सर्ने सम्भावना बढी हुने धेरैलाई थाहा/जानकारी भए पनि अप्रत्यक्ष रुपमा नोटबाट पनि सर्न सक्छ भन्नेमा भने धेरै कमलाई मात्र थाहा छ। बंगलादेशमा त्यहाँ प्रयोग हुने कागजी नोटमा कोरोनाको अवस्थाको बारेमा अध्ययन गरिएको थियो। अनुसन्धानका लागि विभिन्न ठाउँहरुबाट जम्मा गरिएका नोट मध्ये ७ दशमलब २ प्रतिशतमा पिसीआर प्रबिधिबाट कोरोना भाइरस पुष्टि गरिएको थियो। यो अनुसन्धानमा पुरानो(फोहोर) नोटमा भन्दा नयाँ(सफा) नोटमा भाइरस बढी समय (दिन) स्थिर रहेको पाइएको थियो।
एक अर्को अनुसन्धानमा अस्ट्रेलियाली वैज्ञानिकहरुले कोरोनाको भाइरस २० डिग्री सेल्सियसमा कम्तिमा २८ दिनसम्म कागजी नोटमा रहन सक्ने पाइएका थिए। यद्यपि यो (भाइरसको स्थिरता) तापक्रम तथा सापेक्षिक आर्द्रतामा निर्भर रहने पनि देखिएको छ।
हाल कोरोनाको त्रासले गर्दा पैसाको कारोबार विधुतिय प्रणालीबाट गर्नेहरुको संख्या ह्वात्तै बढेको छ। तर पनि कागजी नोटको प्रयोग गर्नेहरुको संख्या भने अहिले पनि ठूलो छ। हालै राष्ट्र बैंकले नयाँ नोट निष्कासन गरिसकेको र धेरैको हात-हातमा ती नयाँ नोटहरु पुगिसकेका छन्। यी नोटहरु विशेषत दसैंमा बढी आदानप्रदान/प्रयोग हुनेछन। हाल पनि दैनिक कोरोना संक्रमित देखिने क्रम रहेको र नोटबाट पनि कोरोना सर्न सक्ने जोखिम रहेकोले नोटको प्रयोग गरिसके पछि हात राम्रोसँग साबुन पानीले धुनु पर्दछ। यसबाट कोरोना मात्र होइन नोटबाट ब्याकटेरिया, भाइरस, ढुसी जस्ता विभिन्न संक्रमणहरुबाट पनि बच्च सकिनेछ।
सन् २००८ मा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान तथा त्रिभुवन विश्वविद्यालयका संयुक्त अनुसन्धान टोलीले नेपाली कागजी नोटमा संक्रमणको अवस्थाको बारेमा गरेको अनुसन्धानमा प्रशस्त मात्रामा ब्याकटेरिअल संक्रमणहरु देखिएको अनुसन्धान लेख प्रकाशित गरेका थिए। त्यस्तै विभिन्न अनुसन्धानहरुले फ्लू, राइनोभाइरस जस्ता श्वास-प्रश्वाससँग सम्बन्धित भाइरसहरु पनि कागजी नोटमा केहि दिनसम्म लगातार रहने, र त्यो पनि संक्रामक हुने देखाएका थिए।
यसरी सरसर्ती अनुसन्धानहरुलाई आधार मान्दा नोटबाट कोरोना मात्र होइन विभिन्न संक्रमणहरु सर्न सक्ने जोखिम पनि रहन्छ।दसैंमा आफ्नो परम्परा अनुसार नोटको प्रयोग गरौं/गर्न सकिन्छ तर हामीले बुझ्नु पर्ने भनेको नोटको प्रयोग गरिसकेको पछि राम्रोसँग हात साबुन पानीले धुनु हो। अन्तमा, हात धुने बानीमा ब्रेक नलगाऊ! संक्रमण रहित दसैँ मनाऔ!
-(डा पुन शुक्रराज ट्रोपिकल तथा सरुवारोग अस्पतालको क्लिनिकल रिसर्च युनिट संयोजक हुन्।)