अंग्रेजी पढाउने हेडमास्टरले एकदिन कक्षामा आएर राइजिङ नेपाल अखबार देखाँउदैं भन्नुभयो– हेर केटा हो, अब नेपालमै डाक्टर पढ्न पाइने भो। राम्ररी पढ। त्यो अखबारमा ‘भारतले नेपालमा अस्पतालमा बनाइदिने र चाँडै नै मेडिकल कलेज सुरु हुने’ भन्ने समाचार अग्रपृष्ठमै ब्यानर समाचार भएर छापिएको थियो।
त्यही वर्ष स्कुल भर्ना भएका उनमा पनि हेडमास्टरको यो भनाईले भित्र मनमा चस्का दियो। सोचे– मिहिनेत गरेर पढ्नुपर्छ र जसरी भएपनि डाक्टर बन्नुपर्छ। त्यसअघि उनले एक अवकाशप्राप्त भारतीय सैनिकको सहयोगले गाउँ गुल्मीको अर्चलेमै पढे। त्यसपछि एकैपटक ५ कक्षामा विद्यालयमा भर्ना भए। तर दुई महिना पढेपछि बिरामी पर्न थाले। पिताजीले गाउँमै फर्काएर लैजानुभयो। ठूला स्कुलमा कसरी पढाइदोरहेछ भन्ने थाहा पाएका उनले त्यसपछिको एक वर्षमा मिहिनेत गरेर पढे। एकवर्षपछि फेरि स्कूल लगिएका उनलाई ७ कक्षामा भर्ना गरियो। त्यही साल अहिलेका नयाँ शक्ति पार्टीका नेता बाबुराम भट्टराईले एसएलसी दिएका थिए। बोर्ड फस्ट भएकाले भट्टराईको चर्चा उनले गुल्मीमै सुनेका थिए।
हेडमास्टरले भनेका कुरालाई मनमा लिएर पढेका उनी ८ कक्षामा जाँदा दोस्रो र ९ र १० मा त स्कुलकै प्रथम भए। सबैको वाहवाही पाए। ०२९ साल माघमा एसएलसी दिए। ०३० सालको असारमा रिजल्ट आउँदा सेकेण्ड डिभिजनमा पास भए। त्यसपछि उच्च शिक्षाका लागि काठमाडौं आए। पोखरा हुँदैं काठमाडौं आइपुग्दा दिनको २ बजेको थियो। त्यत्तिकैमा सिंहदरबारमा आगलागी भइरहेको खबर काठमाडौंका सबै स्थानमा फैलिइसकेको थियो। साथीहरूसंग मिलेर उनी दौडादौड गरेर भद्रकालीसम्म आए। २९ असारको रातीदेखि लागेको आगोको मुस्लोले दिउँसोसम्म पनि आकाश छोइरहेको थियो। उनले पनि रमिता हेरे। भद्रकालीदेखि उता जान सेनाले दिइरहेको थिएन।
संयोगवश त्यहीवर्षदेखि लागू भएको नयाँ शिक्षाअन्तर्गत प्रमाणपत्र तहमा भर्ना हुन फारम भर्ने म्याद त्यही दिन रहेछ। म्याद सकिइसकेको थियो। अब के गर्ने, नगर्ने अन्यौलका बीच एक साता काठमाडौं बसेर उनी गुल्मी फर्किए। अर्को साता रेडियोमा सूचना सुने, फारम भर्ने म्याद एक साता थपिएको छ भनेर। मध्य वर्षायाम भएकाले अब यसवर्ष नजाने र अर्को वर्ष वैशाखमै काठमाडौं अध्ययनका लागि जाने सल्लाह भयो।
सबैको सल्लाहपछि उनले चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगन्जमा हेल्थ असिस्टेन्टमा फारम भरे। ०३१ सालमा भर्ना भए। तिनताका मुलुकभर भटाभट स्वास्थ्य संस्था खुलिरहेका थिए। त्यसकारण जनशक्तिको पनि उत्तिकै अभाव थियो। जति जनशक्ति उत्पादन हुन्थ्यो, त्यति नै पूर्ति हुन सक्ने अवस्था थियो। उनीसंगै पास गरेका एकसय जनालाई स्वास्थ्य सेवा विभागले देशका विभिन्न स्थानमा खटायो। उनी सुदूरपश्चिम डडेलधुरा जानुपर्ने भयो। घरमा छोराले सरकारी जागिर खान लागेको खुशी त थियो। तर संगै भर्खर १८ वर्षको मान्छे एक्लै त्यति टाढा कसरी जान सक्छ भन्ने चिन्ता पनि परिवारमा थियो। पिताजीले भन्नुभयो, ‘ओहो डडेलधुरा त कालापानी भन्छन्, त्यस्तो ठाउँमा पठाउन खोजेछ सरकारले ?’ तैपनि जान हौसला नै दिनुभयो। उनी एक्लै झोला बोकेर निस्किए। त्यतिबेला डडेलधुरा जान भैरहवा, नौतनवा, गोरखपुर, पलिया, लखनऊ, धनगढी हुँदैं जानुपथ्र्यो।
सदरमुकामदेखि केही टाढाको मैलोडापोखरा भन्ने ठाउँमा खटिएका थिए उनी। स्थानीय बासिन्दालाई पायक पर्ने ठाउँमा स्वास्थ्य चौकी स्थापना गर्ने सरकारी नीति थियो। तर त्यहाँका प्रधानपन्चले आफ्नै गाउँमा राख्न दबाब दिए। उनले सरकारी नीतिमै अडान लिए। यो कुरा तत्कालिन प्रमुख जिल्ला अधिकारीसम्म पुग्यो। प्रधानपन्चसंग कचमच परेपछि उनले केही महिना जिल्ला अस्पतालमा बसेर काम गरे। पछि प्रजिअकै सहयोगमा उनले भनेकै ठाउँमा स्वास्थ्य चौकी खोलियो।
डडेलधुरामा केही महिना काम गरेपछि एकदिन उनी आफ्नो शैक्षिक प्रमाणपत्र लिन ०३४ साल मंसिरमा महाराजगन्ज आएका थिए। परीक्षा शाखा अगाडि बसिरहेका थिए। एक्कासी मोटरहरूको ताँती नै क्याम्पस परिसरमा आएर रोकियो। कारमा राजा वीरेन्द्र थिए। त्यतिखेर आइओएमका डिन डा. मोइन शाह थिए। उनलाई राजाले सोधेछन्, ‘नेपालमा डाक्टर उत्पादन कहिलेदेखि सुरु हुन्छ, त्यसको मिति अहिल्यै चाहियो।’ डा. शाहले जवाफ दिएछन्, ‘अबको ६ महिनापछि सरकार।’
त्यतिन्जेलसम्म हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन, स्टाफ नर्सको मात्र पढाई हुने आइओएममा त्यसपछि हतारहतार एमबिबिएस कोर्षको तयारी सुरु भयो। त्यसमा उनले पनि प्रवेश परीक्षा दिए। एक नम्बरमै नाम निस्कियो। ०३५ साल साउन ३१ गतेदेखि एमबिबिएसको पढाई सुरु भयो। उनले अध्ययन बिदा लिएर पढाई अगाडि बढाउन थाले। राजाको आदेशपछि हतार हतारमा पढाई सुरु गरिएकाले पूर्वाधार यथेष्ट थिएन।
आइओएमले टाइम्स अफ इण्डियामा विज्ञापन निकालेपछि एनाटोमी, फिजियोलोजी, फर्माकोलोजी विषयका शिक्षकहरू भारतबाट आएका थिए। क्लिनिकल अभ्यासका लागि सरकारले मन्त्रिपरिषद्बाटै निर्णय गराएर वीर, कान्ति, प्रसूति, शान्त भवनजस्ता अस्पतालमा निश्चित बेड छुट्याएको थियो। ती अस्पतालमा २२ जना विद्यार्थीका लागि २ सय २० बेड छुट्याइएको थियो। अरु पूर्वाधारजस्तो भएपनि त्यतिबेला अभ्यासका लागि बिरामीको अभाव भएन उनीहरूलाई। किनभने, देशभर स्वास्थ्य संस्थाको अभाव थियो। मानिसहरू साना रोगहरूको उपचारका लागि पनि राजधानी धाउँथे। मानिसहरूमा सरकारी स्वास्थ्य संस्थाप्रति विश्वास पनि थियो। तर त्यतिबेला विभिन्न विद्यार्थी संगठनहरूले गर्ने हडतालबाट भने शैक्षिक संस्थाहरू प्रभावित भएका थिए।
शैक्षिक संस्था बन्द गराउन त्यतिबेलाका जल्दाबल्दा विद्यार्थी नेताहरू बलबहादुर केसी, विमलेन्द्र निधि, शरणविक्रम मल्लहरू आउथे। उनीहरू विद्यार्थीहरूसंग लड्न पनि तयार हुन्थे। जहिलेपनि पढाई प्रभावित हुन थालेपछि उनीलगायतका एमबिबिएसका विद्यार्थीहरूले नेताहरूसंग भने, ‘हामी तिमीहरूलाई आदर गर्छौं, नपढेका डाक्टरहरूसंग अपरेशन गराउन मन छ भने हडताल गराउनुस्, नभए यहाँ आउन बन्द गर्नुस्।’ त्यसपछि आइओएममा हडतालको असर कम देखिन थाल्यो।
०४१ सालमा एमबिबिएसको पढाई सकेपछि उनी जागिरमा फर्किए। यसपटक उनलाई डोटी अस्पतालमा मेडिकल अफिसर बनाएर पठाइयो। डोटीमा बस्दा उनले सुदूरपश्चिमका ९ जिल्लाकै बिरामी हेर्नुपथ्र्यो। बिरामीको चाप यतिसम्म थियो कि, उनले एकैदिन ५७१ जनासम्म नयाँ बिरामी हेर्नुपर्यो। यो क्रम ५, ६ महिनासम्म चल्यो। डोटीमा रहँदा राम्रो काम गरेको भनेर उनलाई दार्चुला पठाइयो, नयाँ अस्पताल खोल्ने उद्धेश्यसहित।
डोटीमै रहँदा एकपटक दादुराको महामारी नै फैलियो। १५ शैय्याको अस्पतालमा ८१ जनासम्म बिरामी भर्ना भएका थिए। जताततै बिरामी सुताउनुपर्ने भयावह अवस्था थियो। त्यही बेला डोटीमा बीबीसीसहितको बेलायती टिम पुग्यो। टोलीमा रहेका एक प्रोफेसरले उनीसंग अस्पतालमा कति जनाको मृत्यु भयो भनेर सोधे। उनले जवाफ दिए– जिरो डेथ। अनि प्रोफेसरले ‘यु आर डुइङ ग्रेट’ भनेर प्रशंसा गरे। त्यहाँको डकुमेन्ट्री बीबीसीमा पनि प्रसारण भयो। पछि बेलायतीहरूले उनलाई चिठी पठाउँदैं बेलायत आए एक विषयमा एक वर्षे तालिमको व्यवस्था गरिदिने जानकारी दिएका थिए। उनले त्यो कुुरा काठमाडौं आएर भने। तर पछि पठाइने आश्वासन दिँदैं उनलाई त्यतिखेर रोकियो। पछि त्यो अवसर कहिल्यै आएन। यसमा उनी अहिले पनि चुक्चुकाईरहेका छन्।
दार्चुला अस्पताल सन्चालन भएको २ वर्षपछि ०४५ सालमा काठमाडौं फर्किएर कान्ति अस्पतालमा काम गरे, जहाँ उनी ०५० सालसम्म कार्यरत थिए। यो ५ वर्षको अवधिमा उनी बालरोगमा पोख्त भए। सानादेखि ठूलासम्म गरी ८ हजार सर्जरीमा भाग लिए। अस्पतालमा रजिष्ट्रारको जिम्मेवारी पनि निर्वाह गरे। त्यतिबेला विकासशिल देशका जनशक्तिलाई विकसित देशमा पढ्न पठाउने कोलम्बो प्लान सन्चालित थियो।
नेपालका लागि ५ सय जनाको कोटा पनि आएको थियो। तर स्वास्थ्य मन्त्रालयले ५ सय जनालाई नै पढ्न पठाउने हो भने देशको स्वास्थ्य सेवा चल्न सक्दैन भनेर कोलम्बो प्लान नै रद्ध गरेको उनी बताउँछन्। त्यसपछिचिकित्सकहरूआफ्नै पहलमा विदेशमा उच्च शिक्षा अध्ययन गर्न जान थाले।
कान्ति अस्पतालपछि उनी काभ्रेमा पुगे। त्यहाँबाट सुरक्षित मातृत्व हेर्ने जिम्मेवारी लिएर उनी ०५४ सालतिर परिवार स्वास्थ्य महाशाखामा आइपुगे। त्यो कार्यक्रमको सुरुवात तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका थिए। महाशाखामा उनले ३ वर्ष काम गरे। त्यहाँ रहँदा उनको पहलमा मातृ मृत्युदरका विषयमा एक वर्षलगाएर अध्ययन भयो। अध्ययनबाट ‘४५ प्रतिशत महिलाको मृत्यु सुत्केरी हुने क्रममा अत्यधिक रक्तश्राव भएर हुने रहेछ, १८ प्रतिशत महिलाको मृत्यु अस्पताल आए पनि भनेको समयमा सेवा नपाउँदा हुने रहेछ’ भन्ने तथ्य पत्ता लाग्यो। यी समस्या समाधान गर्न अस्पतालमा सुविधा वृद्धि गर्ने, औषधि उपलब्ध गराउने, सेवाको गुणस्तर बढाउनेजस्ता सुधारका कार्यक्रम लागू गरियो। यसरी समग्र मातृ मृत्युदर घटाउने पहल सुरुभयो। त्यसैका फलस्वरुप अहिले मातृ मृत्युदरमा उल्लेख्य कमी आएको छ।
परिवार महाशाखापछि उनलाई सुनसरी अस्पतालमा सरुवा गरियो। त्यतिबेला उक्त अस्पताल डाक्टर कुटिने अस्पतालका रुपमा कुख्यात थियो। एक महिनायता चार डाक्टर कुटिएका थिए।साँझ हाजिर भएका डाक्टर भोलिपल्ट ड्युटी सम्हाल्न जाँदा पिटिन्थे। उनलाई साथीहरूले जिस्क्याए– अब कुटिने पालो तपाईंकै होला।’ उनले सोचे– हातखुट्टा भाँचिन जानुभन्दा अरु जान्न, राजीनामा दिन्छु।’ उनले राजीनामा दिए।तर महिनौंसम्म राजीनामा स्वीकृत भएन। त्यसैक्रममा सरकार परिवर्तन भयो।
मन्त्रालयमा पुगेका नयाँ सचिवले उनलाई बोलाएर काममा फर्कन भने। त्यसछि उनलाई राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रमा खटाइयो।त्यहाँ रहँदा उनले बायोमेडिकल टेक्निसियन कोर्ष बनाउन र कार्यान्वयन गराउन महत्वपूर्ण भूमिका निर्वाह गरे। त्यसपछि स्वास्थ्य संस्थामा चाहिने स्वास्थ्य उपकरणका लागि जनशक्ति उत्पादन थालियो। जुन नेपालका लागि सर्वथा नौलो थियो। यस कोर्षअन्तर्गत अहिलेसम्म २ सय जना जनशक्ति उत्पादन भैसकेका छन्। त्यतिबेला स्वास्थ्य मन्त्रालयले स्वास्थ्य क्षेत्र कार्यक्रम भनेर सुरु गर्न लागेको थियो। थुप्रै दस्तावेज पढेर राय दिनुपर्ने रहेछ। त्यो कामको जिम्मेवारी लिन स्वास्थ्यका अधिकारीहरू हिच्किचाइरहेका बेला तत्कालिन स्वास्थ्य सचिवले राम्रा मान्छेहरूलाई बोलाउन निर्देशन दिएछन्।
तालिम केन्द्रमा बसिरहेका बेला उनलाई खबर आयो, ‘मन्त्रालयमा हाजिर हुनुपर्यो।’ ‘लौ अब कालिकोट पठाउने भो’ भन्ने सोचेर उनी डराउँदैं मन्त्रालयमा पुगे। तर सचिवले उनलाई कार्यक्रम सुरु गर्न लागेकाले जिम्मा लिइदिन आग्रह गरे। उनले सचिवलाई जवाफ दिए–‘तपाईंले सहयोग गर्नुहुन्छ भने म काम गर्छु।’ त्यसपछि उनले जिम्मा लिएको नेपाल स्वास्थ्य क्षेत्र कार्यक्रमको दोस्रो फेजसम्म लगातार १० वर्ष काम गरे। त्यतिन्जेलसम्म दातृ निकायले नेपालको स्वास्थ्य क्षेत्रमा आफूखुशी बजेट लगानी गर्थे। मुलुकको प्राथमिकता नहेरी विदेशी दातृ निकायले भटाभट लगानी गर्दा परिमाण पनि सुधारोन्मुख हुन सकेको थिएन।
उनी गएपछि विदेशी दातृ निकायले पुल फण्ड दिन थाले। त्यो रकमले सरकारले आफ्ना आवश्यकताअनुसारका परियोजनामा लगानी गर्न थाल्यो। उनी कार्यक्रम सम्हाल्न मन्त्रालय आउँदा स्वास्थ्यको बजेट साढे ४ अर्ब थियो। अहिले त्यो बढेर ३७÷३८ अर्ब पुगेको छ। त्यो रकमबाट जनशक्ति, पूर्वाधार, औषधि, अनुगमनमा सुधार गरियो। यसैको परिणामस्वरुप बाल तथा मातृ मृत्युदर घट्यो। नेपालीको आयु बढेर ७१ पुग्यो। महिलाको आयु पनि पुरुषको तुलनामा बढ्यो। जबकि पहिले महिलाको आयु पुरुषको भन्दा ४ वर्ष कम थियो। उपलब्धीहरू देखिँदैं गएपछि नेपालसरकारले अन्तर्राष्ट्रिय पुरस्कार पायो। तर उनले स्वास्थ्य क्षेत्र कार्यक्रमबाट बिदा लिएपछि त्यो कार्यक्रमको तेस्रो फेज अहिलेसम्म सुरु हुन सकेको छैन।
भन्छन्, ‘हामीले नालापानीको युद्ध दोस्रोपटक हार्यौं, पहिले भक्ति थापाले हारे, अहिले त्यत्रो वर्ष लगाएर बनाएको सिस्टम कोल्याप्स भयो, अनि हार्यौं।’ मन्त्रालयपछि उनी बढुवा भएर इपिडिमियोलोजी विभागमा महानिर्देशकका रुपमा सरुवा भए। त्यहाँ दुई वर्ष काम गरेर भर्खरै रिटाएर भएका छन्। बीचमा उनी ४ वर्ष मेडिकल काउन्सिलको रजिष्ट्रार भए। त्यो बेलामा अहिलेको जस्तै स्वास्थ्य शिक्षाको क्षेत्रमा जताततै भद्रगोलको अवस्था थियो।
मेडिकल कलेजको बाढी आइरहेको अवस्था थियो। यसले स्वास्थ्य क्षेत्रमा विकृति निम्त्याउन सक्छ भनेर उनी सहितको टोलीले तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासंग कुरा गरे। कोइरालासंगको छलफलपछि एक विकास क्षेत्र एक मेडिकल कलेजको अवधारणालाई स्वीकार गरियो। उनको सोच थियो– मेडिकल कलेज खोल्न दिएर मात्र हुँदैंन, त्यसको गुणस्तर पनि कायम गर्नुपर्छ, नभए यसको असर विश्वबजारसम्म पनि जान सक्छ। तर सरकार बदलिएपछि पुनः मेडिकल कलेज खोल्ने क्रम पुनः बढ्यो र स्वास्थ्य शिक्षाको क्षेत्र झन् अस्तव्यस्त हुन थाल्यो। शुल्कमा विकृति निम्तन थाल्यो। यो अवस्था अहिलेसम्म कायमै छ।
उनी भन्छन्, ‘हामीले एउटा कुरा ठूलो गल्ती गरेका छौं, मेडिकल कलेज स्वास्थ्यमा राख्नुपर्नेमा शिक्षामा राखेका छौं, बंगलादेश, पाकिस्तानले स्वास्थ्यअन्तगर्त राखेका छन्, हामी भने भारतीय मोडलमा गएका छौं। अस्पताल स्वास्थ्यअन्तर्गत राखेका छौं हामीले। दुईवटा मालिक हुनेबित्तिकै विकृति सुरु भएको हो। प्रत्यक्ष रुपमा स्वास्थ्यले हेर्ने व्यवस्था हुनुपथ्र्यो।’ केही महिनाअघि मात्र उनी रिटायर भए। अबका दिन कसरी बिताउँदैंछन् त ? उनी भन्छन्, ‘अब आफ्ना अनुभवसमेटेर पुस्तक लेख्ने तयारी गरिरहेको छु र देशको स्वास्थ्य क्षेत्रको विकासमा अझ केही योगदान गर्न चाहन्छु।’