उच्च घातक मानिने 'एच फाइब एन वान' बर्ड फ्लू नेपालका विभिन्न ठाउँका कुखुरा फार्महरुमा देखिन थालेको छ। नेपालमा पहिलो पटक सन् २०१९ मा २१ वर्षीय युवकको मृत्यु 'एच फाइब एन वान' बर्डफ्लूको कारणले भएको थियो। सन् १९९७ मा पहिलो पटक मानिसमा संक्रमण गरेको यो बर्डफ्लूको भाइरस नेपालमा भने पहिलो पटक सन् २००९ मा देखा परेको थियो। हाल यो भाइरस मानिसबाट मानिसमा सहजै नसर्ने देखिएको भएता पनि पंक्षीको प्रत्यक्ष सम्पर्कमा आउनेहरु भने उच्च जोखिममा पर्दछन्।
उच्च जोखिममा पर्ने समूहहरु
१) पोल्ट्री फार्ममा काम गर्ने कृषकहरु
२) पंक्षी ढुवानीमा संलग्न हुनेहरु
३) पंक्षी बेचबिखनमा संलग्न हुनेहरु
४) पंक्षी बधमा संलग्न हुनेहरु
५) अचानक, अस्वाभाविक मृत्यु भएका पंक्षीलाई छुने/चलाउनेहरु (बिना सुरक्षा कवच, पीपीइ)
बर्डफ्लूका मुख्य लक्षण
१) उच्च ज्वरो (३८ डिग्री सेल्सियस भन्दा बढी)।
२) खोकी लाग्नु।
३) घाँटी दुख्नु।
४) मांशपेशीका दुख्नु।
५) छाती दुख्ने।
६) कसै कसैलाई पेट दुख्ने तथा पखाला लाग्ने।
यदि लक्षण जटिलता तिर गए श्वास-प्रश्वासमा समस्या, र बर्डफ्लू निमोनिया देखिन सक्नेछ। समयमा नै उपचार नपाए/ढिला भए संक्रमितको मृत्यु समेत हुनसक्दछ। दश बर्डफ्लू संक्रमित मध्ये ६ जनासम्मको मृत्यु हुनसक्दछ। के तपाई माथि उल्लेखित जोखिम समूहमा पर्नु हुन्छ? र लक्षणहरु मिल्दा जुल्दा छन्? त्यो बर्डफ्लू संक्रमण पनि हुनसक्दछ।
-(डा शेरबहादुर पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिट संयोजक हुन्।)