बुद्धि बंगाराको बारेमा आम जनमानसमा धेरै नै भ्रम फैलिएको भेटिन्छ। बिना कुनै तर्क र तथ्य हामी यी कुराको पछि लागिरहेको हुन्छौँ र अनावश्यक दुखाई सहिरहेका हुन्छौँ।
करिब १७-२३ बर्षको उमेरमा मुखको सबैभन्दा कुनामा ४ वटा सम्म बुद्धि बंगारा निस्किन सक्छ। हरेक कुनामा निस्किने तेस्रो बंगारालाई किन बुद्धि बंगारा भनियो भन्ने कुनै ठोस कारण नभए पनि मान्छे अलि परिपक्क भएपछि मुखमा देखिने भएकाले हुनसक्छ।
बुद्धि बंगारा किन हड्डीमा अड्किने गर्छ?
पहिलेका मान्छेहरुले काचो र नपकाएको खानेकुराहरु धेरै खाने गर्थे, फास्ट-फुडको सिस्टम थिएन। यी काचो र नपकाएको कुराहरु चपाउन धेरै बल लगाउनु पर्थ्यो। यसकारण, उनीहरुको मुखको हड्डीहरु पनि अलि बढी विकशित र ठुलो हुने गर्थ्यो। ठुलो हड्डीमा ३२ ओटा नै दाँत अटाउन प्रयाप्त ठाउँ पुग्थ्यो। तर, आजकल हामीले खानेकुराहरु पहिले नै मज्जाले पाकेका हुन्छन। मकै भट्टमास जस्ता खानेकुराहरु त्यति खाईदैन तसर्थ चपाउन त्यति धेरै बल लगाउनुपर्ने पनि हुदैन। यसकारण, हाम्रा मुखका हड्डीहरु बिस्तारै सानो बन्दैछन् र पहिले जस्तो ३२ ओटा दाँत अट्न सक्ने ठाउँ पनि हुदैन। आउने दाँत ३२ ओटा नै भए पनि ठाउँ भने अपुग भएकाले सो दाँत हड्डीमै अड्किने, बांगो-टिङ्गो गरि आएर गाला-जिब्रोमा घाउ बनाउने र कतिपय बेला त हड्डी भित्रै 'सिस्ट' बन्न जाने पनि हुन्छ।
बुद्धि बंगारा कसरी अड्किन सक्छ?
धेरैजसो तलको बुद्धि बंगाराहरु हड्डीमा अड्किने गर्छन भने माथिका बुद्धि बंगाराहरु बांगो टिङ्गो निस्किने गर्छन।
बुद्धि बंगारा आउँदा किन दुख्छ?
मुखमा निस्किनु अगाडी दाँतलाई गिजाले छोपेको हुन्छ। निस्किने क्रममा दाँतले गिजाको कमजोर भागलाई छेडेर बिस्तारै निस्किदै जान्छ। तर, प्रयाप्त ठाउँ नहुनाको कारण थोरै मात्र दाँत मुखमा देखिन्छ र गिजाको एउटा भागले दाँतलाई सधै छोपी नै रहन्छ। यसरि गिजा र ननिस्किएको दाँतको बिचमा खानाहरु अड्किने ठाउँ बनिरहन्छ। कुना भएकाले राम्ररी सफा गर्न नसकिने र प्रयाप्त अड्किएका खानेकुराहरु हुनाले ब्याक्टेरिया यो ठाउँमा धेरै फस्टाउछन र सो दाँत वरिपरि इन्फेक्सन हुन जान्छ। यसकारण, त्यो ठाउँ वरपर र अनुहार नै सुन्निने, मुख नै खोल्न नमिल्ने, दुख्ने, पिप बग्ने, मुख गनाउने जस्तो लक्षणहरु देखापर्छ।
के सबैको बुद्धि बंगारा अड्किने नै गर्छ?
बुद्धि बंगारा अड्किनुको पछाडी एउटा मात्र मुख्य कारण हुन्छ- दाँत आउने प्रयाप्त ठाउँ। ठाउँ प्रयाप्त छ भने हड्डीमा अड्किने सम्भावना पनि कम हुन्छ।
बुद्धि बंगाराले के के समस्या ल्याउन सक्छ?
बुद्दि बंगारा आफैले समस्या ल्याउने भन्दा पनि सो भाग राम्रो संग सफा हुन नसक्ने भएकाले इन्फेक्सन भएर समस्याहरु आउने हुन्। धेरै जसो बिरामीहरुमा चाही बुद्धि बंगारा वरिपरिको गिजा सुन्निने, सहनै नसकिने दुखाई हुने, मुख खोल्न गार्हो हुने, मुख गन्हाउने, पिप बग्ने जस्ता लक्षणहरु देखिन्छन। समयमै उपचार भएन भने यो इन्फेक्सन मुख र अनुहारका विभिन्न स्पेसमा सरेर मुख नै नखुल्ने, अनुहार सुन्निने, सास फेर्न गार्हो हुने हुदै जान्छ र 'Ludwig's Angina' भन्ने मेडिकल इमर्जेन्सी अवस्था आउनसक्छ। समयमा दक्ष विशेषज्ञबाट उपचार नपाएमा ५-२५ प्रतिशत बिरामीमा मृत्यु पनि हुनसक्छ।
त्यस्तै, हड्डीमा अड्किएको बुद्धि बंगाराले हड्डीमा विभिन्न किसिमका सिस्ट बनाउने पनि गर्नसक्छ। यसरि बनेका सिस्ट एकदम आक्रामक किसिमका हुने गर्छन र बिस्तारै भित्र भित्रै मुखको हड्डी खियाउने गर्छन। यसो हुदै जादा हड्डीहरु कम्जोर हुने र आफै भाचिने समस्या नि आउन सक्छ।
कहिलेकहिँ बांगो-टिङ्गो गरि आएका बुद्धि बंगाराले गाला- जिब्रोमा निरन्तर कोप्ने, घाउ बनाउने पनि गर्नसक्छ।
बुद्धि बंगारा उपचार के छ त?
मुखमा आफ्नै ठाउँमा पुरा निस्किएको, टोकाईमा आएको र अन्य कुनै उपचारलाई सहयोग पुग्ने खण्डमा बाहेक बुद्धि बंगारालाई दक्ष दन्त चिकित्सक कहाँ गई सल्लाह बमोजिम निकाल्दा नै ठिक हुन्छ।
यो दाँत निकाल्ने कसरी?
दाँतलाई कसरी निकालिन्छ भन्ने धेरै कुराहरुमा भरपर्छ जस्तै; दाँत अड्केको प्रकार, जराको किसिम र लम्बाई, मुखको खुलाई, बिरामीको उमेर, चिकित्सकको दक्षता इत्यादि।
सामान्य केसहरुमा अरु दाँत निकाले जसरी नै यो दाँत पनि निकालिन्छ भने जटिलता बढ्दै जाँदा वरिपरिको गिजा र केहि हड्डी हटाएर समान्य शल्यक्रिया गरि निकाल्नु पर्ने पनि हुन सक्छ।
बुद्धि बंगारा निकाल्दा बुद्धि जान्छ, दिमागमा असर पर्छ भन्छन नि?
यो सरासर गलत कुरा हो। बुद्धि बंगारा निकाल्दा बुद्धि जाने वा दिमागमा असर पर्ने केहि पनि हुदैन। दक्ष र अनुभावी चिकित्सकसँग यो दाँत निकाल्दा र दिएको सल्लाहको उचित पालना गर्दा कुनै पनि समस्या आउदैन।
खर्च कति लाग्छ?
खर्च तपाईंमा काम गरिराख्नु भएको चिकित्सकको दक्षता, क्लिनिक, समानको निर्मलीकरणको विधि, दाँतको जटिलता, समय, टाका आदि कुरामा भर पर्छ। सामान्यतय: २५००-१०,००० (पच्चिस सय देखि दश हजार) आसपासको खर्च लग्नसक्छ।
को सँग निकाल्दा ठिक हुन्छ?
नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दक्ष र अनुभवि दन्त चिकित्सकसँग निकाल्न सकिन्छ। केसको जटिलता हेरेर 'ओराल सर्जन' सँग परामर्श लिन पनि सकिन्छ।
अलिकति कम पैसाको लागि जो कोहि सँग काम गराउँदा नचाहिदो दुख पाईन्छ भने तपाईको स्वास्थ्यमा पनि प्रतिकुल असर पर्न सक्छ।
अत: बुद्धि बंगारा र यसले ल्याउन सक्ने समस्या धेरै जटिल हुन्छन। बेलैमा दक्ष-अनुभवि दन्त चिकित्सकसँग उपचार गराउनु नै बुद्धिमानी हुन्छ।
-(लेखक पिस डेन्टल केयर प्रालि भरतपुर-१० चितवनमा कार्यरत छन्।)