काठमाडौं- गर्भमा आठ महिनाको शिशु हुँदा सृजना भोमीले ब्याचलर अफ नर्सिङको अध्ययन सुरु गरिन्।
अध्ययनकै क्रममा भोमीले पहिलो सन्तानलाई जन्म दिइन्। शतप्रतिशत उपस्थिति पुर्याउनुपर्ने भएकाले उनले पर्याप्त मात्रामा आराम गर्न पाइनन्। अध्ययनका क्रममा उनले २० दिन बिदा पाइन्। त्यो पनि 'विन्टर भ्याकेसन'को समय भएकाले २० दिनको बिदा पाएको उनी बताउँछिन्।
भन्छिन्, ‘६ वर्षपछि मैले ब्याचलर जोइन गरेकी थिए। पढाई र परिवारसँगै लैजानुपर्ने थियो। अहिले पनि सम्झियो भने रुन मन लाग्छ। पढ्दा पढ्दै डेलिभरी भयो। सय प्रतिशत उपस्थिति पुर्याउनुपर्थ्यो।’
बिहान ८ बजेदेखि दिउसो ४ बजेसम्म कक्षामा बस्नुपर्थ्यो। घर भक्तपुर अनि पढाई वीर अस्पतालको नर्सिङ कलेजमा थियो। उनले आफ्नो बच्चालाई राम्रोसँग स्तनपान समेत गराउन नपाएको बताइन्।
‘कलेज गएर क्लिनीकल ड्युटी गइसकेपछि पनि स्तनपानका लागि घर जान पाइँदैन थियो। बिहान ८ देखि ४ बजेसम्म कक्षामा बस्नुपर्दा दूध बगेर जान्थ्यो’ उनले भनिन्।
पढाईसँगै परिवार अनि बच्चालाई हुर्काउनु उनको लागि ठूलो चुनौती थियो। तापनि उनले आफ्नो अध्ययन पुरा गरिन्। ब्याचलरको अध्ययन सकेपछि उनको पोस्टिङ त्रिवि शिक्षण अस्पतालको न्यू बोर्न केयरमा भयो। त्यहाँ उनले विभिन्न अभिभावकको समस्या, दुख देखिन्। जुन उनले आफैँ भोगेर आएकी थिइन्।
यही भोगाई र अनुभवका कारण उनले मास्टरमा पेडियाट्रिक (बाल चिकित्सा) नर्सिङको अध्ययन छनोट गरिन्।
‘मेरो बच्चा भएको बेला मैले पाएको दु:ख मलाई थाहा छ। अभिभावकलाई कस्तो समस्या हुँदो रहेछ? बच्चाको समस्या कसरी पहिचान गर्ने भन्ने कुरा मन गढ्यो’ उनले भनिन्, ‘आफ्नै अनुभवले गर्दा मैले पेडियाट्रिक नर्सिङ छनोट गरेँ।’
भक्तपुरको महालक्ष्मीस्थानमा जन्मिएकी भोमीले सरकारी विद्यालयबाट एसएलसी उत्तीर्ण गरेकी हुन्। पहिलेबाटै रुचि भएर उनी नर्सिङ क्षेत्रमा भने आएकी होइनन्। आइएससी सकिएपछि के पढ्ने भन्दा उनीसँगैका साथीहरुले नर्सिङ पढ्ने निधो गरेपछि उनले पनि सुरु गरेकी हुन्। तर पढ्दै जाँदा भने उनलाई नर्सिङ क्षेत्रमा चासो र रुचि बढ्दै गयो।
६ वर्षसम्म दैनिक ज्यालादारी
२० वर्षको उमेर (२०५७ साल) मा उनले त्रिवि शिक्षण अस्पतालमा दैनिक ज्यालादारीमा काम सुरु गरिन्। तर त्यो बेला उनलाई दैनिक ज्यालादारी के हो भन्ने कुरा पनि जानकारी थिएन। एक दिन बिदा नलिइकन उनले निरन्तर ६ वर्षसम्म काम गरिन्। ६ वर्षको ज्यालादारी कामपछि मात्र उनी २०६२ सालमा स्थायी भइन्।
उनले भनिन्, ‘दैनिक ज्यालादारी के हो भन्ने पनि थाहा थिएन। हप्ताको एक दिन बिदा पनि पाएनौँ। त्यसरी नै दैनिक ज्यालादारीमा मैले ६ वर्षसम्म काम गरे। एक दिन बिदा बस्दा पनि तलब काटिन्थ्यो। स्थायी भएपछि मात्र मैले बिदा पाएँ।’
जागिर स्थायी भएपछि मात्र उनले २०६५ सालमा ब्याचलर अध्ययन सुरु गरिन्। र, मास्टर महाराजगञ्ज नर्सिङ क्याम्पसबाट २०७३ सालमा पुरा गरिन्।
उनलाई इन्फेक्सन कन्ट्रोलमा काम गर्ने मौका पनि मिलेको थियो। तर पेडियाट्रिक नर्सिङमा गरेको दु:ख र रुचिका कारण उनले यो क्षेत्रलाई छाड्नै सकिनन्।
‘पेडियाट्रिकमा मास्टर सकेपछि म एनआइसीयूमा काम गरिरहेको थिए। मलाई अस्पतालले इन्फेक्सन कन्ट्रोल नर्सको रुपमा काम गर्ने मौका पनि दियो’ उनले भनिन्, ‘तर मलाई पेडियाट्रिकको दुख मलाई थाहा छ। त्यसैले मैले जति अवसर पाएपनि पेडियाट्रिक छाडेर मलाई अरुमा जान नै मन लागेन।’
आफ्नै भोगाई र रुचिले पेडियाट्रिक नर्सिङ रोजेकी उनलाई काम गर्दा अहिले निकै खुशी मिल्छ। उनी अहिले त्रिवि शिक्षण अस्पतालको बाल शल्यचिकित्सा वार्डमा नर्सिङ अधिकृतको रुपमा कार्यरत छिन्।
बाल शल्यचिकित्सा वार्डलाई बालमैत्री बनाउन विभिन्न चित्र कोर्नेदेखि रंगहरु लगाइएको उनले बताइन्।
पेडियाट्रिक नर्सको दरबन्दी र्सिजना गर्नुपर्छ
नेपालमा हाल जनरल र कम्युनिटी गरी नर्सिङ क्षेत्रमा दुई किसिमको दरबन्दी मात्र छ। यसले गर्दा धेरै नर्सहरु आफ्नो विशेषज्ञता अनुसार काम गर्न नपाएको उनको बुझाई छ।
उनले भनिन्, ‘सानो बच्चालाई कसरी हेरचाह गर्ने, उनीहरुलाई कस्तो समस्या हुन्छ, लगायत धेरै कुराहर हुन्छन्। यी सब कुरा थाहा पाएर काम गर्नु र नपाएर काम गर्नुमा धेरै फरक हुन्छ।’
बालबालिकाको लागि काम गर्न नर्सहरुले आफ्नो सिप विकास गर्न आवश्यक रहेको उनले बताइन्। बाल चिकित्सा वार्डमा काम गर्ने नर्सहरु पेडियाट्रिक पढेकै नर्सहरु भए विभिन्न त्रुटिहरु घटाउन पनि मद्दत मिल्ने उनले बताइन्।
सरकारले पेडियाट्रिक नर्सका लागि छुट्टै दरबन्दी नै र्सिजना गर्नुपर्ने उनको माग छ। पेडियाट्रिक विभागमा पेडियाट्रिक नर्सिङ पढेकै नर्स भए बालबालिकाको उपचार थप प्रभावकारी हुने उनले बताइन्।
कोभिडमा बालबालिका केन्द्रीत व्यवस्थापन कम
कोरोना महामारीमा गरिएको उपचार व्यवस्थापन युवाहरुका लागि बढी र बालबालिकामा कम केन्द्रीत भएको उनको बुझाई छ। कान्ति बाल अस्पताल बाहेक अन्य अस्पतालले बालबालिकालाई केन्द्रीत गरेर राम्रो योजनासहितको व्यवस्थापन गर्न नसकेको उनले बताइन्। त्यही कमजोर व्यवस्थापनका कारण कोभिड लागेका बच्चाहरुको उपचारमा समस्या भएको उनको अनुभव छ।
‘कोभिडको पहिलो लहरमा म एनआइसीयूमा थिए। कोभिड लागेको एउटा बच्चालाई आइसीयूमा राख्नुपर्ने भयो। तर त्यहाँ त सबै व्यवस्थापन युवाहरुलाई मात्र लक्षित थियो। त्यतिखेर जनशक्तिदेखि लिएर सामानहरुको केही व्यवस्थापन गरिएको थिएन’, उनले भनिन्।
पहिलो लहरबाट सिक्दै आफुहरुले बालबालिकाको उपचारका लागि छुट्टै व्यवस्थापन गरिएको उनले बताइन्। जनशक्ति र भौतिक पूर्वाधारको चुनौती भएपनि बालबालिकाको उपचारका लागि छुट्टै व्यवस्थापन गरिएको उनले सुनाइन्।