दस वर्ष अघिको कुरा। टोरोन्टोमा ट्रेनिङको बखत एकजना अधवैंशे पुरुषको छातीको एक्सरे स्क्रीनमा हेर्दै थिएँ। उनको त्यो नियमित फलोअप थियो। पुरानो एक्सरे को तुलनामा नयाँ दागहरु भेटें, प्रोफेसरलाई देखाएँ, उनलाई पनि त्यस्तै लाग्यो। अप्रेशन गरेको दुई वर्ष पनि पुगेको थिएन। म विदेशी भूमिमा पहिलो चोटी दुःखद समाचारको संदेशवहाक बन्दै थिएँ। बिरामीलाई भनें- अलि संका छ, क्याट स्क्यान गर्नु पर्छ, नजिकैको डेट बुक गरिदिएँ।
अर्को ओपिडीमा रिपोर्ट तयार भइसकेको थियो। नभन्दै क्यान्सर छातीभरी फैलिएको रहेछ। म प्रोफेसरको पछि पछि बिरामी भएको कोठामा लम्किएँ। छोटो भूमिका बाँध्दै प्रोफेसरले उनलाई छातीमा क्यान्सर फैलिएको कुरा सुनाए। मलाई लाग्यो अब बिरामीलाई सम्हाल्न गाह्रो हुन्छ होला। तर उनले ध्यान पूर्वक सबै कुरा सुने, पटक्कै विचलित देखिएनन्। उनी एक्लै आएका थिए। साथमा अस्पतालका सपोर्ट स्टाफ मात्र थिए। एकछिन केही बोलेनन्। अनुहार मलिन देखें तर आँसु भने झारेनन्।
उनले सोधे- 'I want to know if i can continue to work'. प्रोफसरले ढाढस दिँदै न अत्तालिन अनुरोध गरे। फेरि उनले सोधे 'How long do I have?' प्रोफेसरले केही महिना होला तर औषधि प्रयोग गर्न सकिन्छ भने।
मुस्सुक हाँसेर 'Oh then I better start planning' भने। जानकारीको लागि धन्यवाद दिए र आफ्नो बाटो लागे। उनको सहजता र स्पष्टता अस्वाभाविक थियो।
केही वर्ष अघि मेरो समकक्षी डाक्टर साथी भक्तपुरमा एक जना क्यान्सर भएकी बिरामी हेर्दै थिए। बिरामीको अवस्था राम्रो थिएन। क्यान्सर हत्केलाको हड्डीबाट फैलिएर फोक्सो, अन्य हाडजोर्नी र सेतो रगतमा फैलिसकेको थियो। साथीले अब क्यान्सरको उपचार सम्भव छैन, आफ्नो इच्छा आकांक्षा के छ पूरा गर्न सुझाव दिए। तीन चार महिना भन्दा धेरै समय नभएको कुरा उनको परिवारलाई जानकारी दिए। केहिदिन पछि अनलाइन पत्रिकामा एउटा खबर भाइरल भयो 'गगन थापालाई क्यान्सरपीडित को खुला पत्र'। तिनै बिरामीले लेखेकी रहेछिन।
मेरो साथीलाई उद्धृत गर्दै लेखिएको थियो 'डाक्टरले उपचार सम्भव छैन भन्दै घर फर्काइदिए।' केहि दिन डाक्टरको पक्ष र विपक्षमा सामाजिक सञ्जालमा वादविवाद चर्कियो। खासमा बिरामीले नेपाल र भारतमा गरी थरीथरीका औषधि पाइसकेकी थिइन्। दुखाइ र तनाव कम गर्न बाहेक साँच्चैमा दिन मिल्ने औषधि केही बाँकी थिएन। मेरो साथीको केही हप्ता तनाव मै बित्यो। नभन्दै बिरामीले तीन महिना नबित्दै संसार छोडिन्। पश्चिमी राष्ट्रमा उच्च शिक्षा हासिल गरेका मेरा साथीलाई सो घटना जिन्दगीभरी नबिर्सने पाठ बन्न पुग्यो।
दुई पात्र, दुई देश, उही असहज परिस्थिति। पश्चिमा संसारमा बिरामीलाई रोगको बारेमा प्राय प्रस्ट रूपमा भनिन्छ भने परिवार र आफन्तलाई बिरामीको सहमति बिना केही कुरा खुलासा गरिन्न। यहाँ भने त्यसको ठ्याक्कै उल्टो चलन हुन्छ। बिरामीलाई कहिलेकाहीं अन्तिमसम्म पनि केही खबर दिइन्न। क्यान्सरका बिरामीलाई काउन्सिलिङ गर्दा सुरुमा त अलमलमा पर्थेँ। कति चोटि बिरामीका नातेदार पहिल्यै आएर, 'डाक्टरसाब क्यान्सर भन्ने शब्द उच्चारण पनि नगर्नु होला' भनी अनुरोध गर्थे र अहिले पनि गर्छन्।
विडम्बना, अस्पतालको नाममै क्यान्सर लेखिएको छ, अनि म क्यान्सर शल्यचिकित्सक भनेर बाहिर बोर्ड राखिएको छ, क्यान्सर फैलिएर बिरामीको फोक्सो भरी पानी जमिसकेको अनि सास फुलेर बोल्न सक्ने अवस्था पनि नभएको तर क्यान्सर भन्ने शब्द नै नसुनी यो संसारबाट बिदा गर्ने तयारी। नेपाली डाक्टरहरु यस्तो अवस्थामा पर्नु सामान्य नै मान्नु पर्छ। पहिले त अनौठो लाग्थ्यो तर अहिले भने मलाई हाम्रो बानी व्यहोरा र सामाजिक बनौट अनुसार कुरा ठिकै लाग्छ।
धेरैले सोध्छन् जीवनकै अन्तिम घडीमा पुगिसकेकालाई के को गलत आस दिनु, यदि एउटा गलत आसले दर्जन थरी औषधिको काम गर्छ भने मलाई त्यो आस गलत नै भएपनि स्वीकार्य छ। तर परिवार र नजिकका साथीभाईलाई नभएको ठाउँमा आस दिनु भने उचित हुँदैन। बिरामीलाई सबै थोक नभने पनि परिवारलाई भने सबै कुरा खुलस्त बुझाइ दिनु पर्छ। हाम्रो परिवेशमा यस्तो स्पष्टता महत्वपूर्ण हुन जान्छ।
नेपालको स्वाथ्य प्रणालीले क्यान्सरको खर्च खासै धान्दैन, प्राय उपचार सुरु गरेको केही समयमा नै यो रितिन्छ। अन्तिम अवस्थामा यदि विश्वासिलो स्वास्थ्यकर्मीको निगरानीमा परिएन भनी धेरै महँगो र अनुचित एलोपेथी/ आयुर्वेद औषधि वा शल्यक्रियामा वा अन्य उपचार विधिमा पैसा खर्च हुन सक्छ। घर खेत बेचेर पनि "सास रहेसम्म आस"भन्दै उपचार गर्न तम्सिने नेपालीलाई तनाव को बेलामा के सही के गलत छुट्टयाउन हम्मे हम्मे पर्छ।
युद्धमोर्चामा वीर कहलिएको नेपालीलाई, आफ्नै मनको बाघले भने सिध्याउने रहेछ। रोग भन्दा पनि, समाजबाट सित्तैमा पाइने 'विचारा' र 'कठै'को भेलले मान्छेलाई हतोत्साहित बनाउने रैछ। यसबाट बच्ने एउटै तरिका भनेको आफ्नो काम, इलम वा पढाइलाई निरन्तरता दिने। त्यसैले अचेल क्यान्सरको बारे जानकारी दिए सँगसँगै काम वा पढाइमा कहिले कसरी फर्किने बारे पनि छलफल गर्छौं। हुन त विज्ञानले पुष्टि गरेको छैन तर हाम्रो अनुभवमा आफूलाई व्यस्त राख्न सक्ने हाम्रा बिरामीहरुको स्वास्थ्य प्राय राम्रै हुने गर्छ।
बिरामीसँग सुरुको भेटमा रोगको विषय केन्द्रित कुरा हुने गर्छ, संभावित रोगको प्रकृति, निदान र उपचार बारे छलफल गर्दै समय बित्छ। उपचार सुरु भएपछि भने बिरामीले आफ्नो डाक्टरबाट ठूलो आस राख्छन्। यथार्थमा बिरामीले डाक्टरबाट औषधि भन्दा पनि बढी, डाक्टरको संयमित बोली र समयको आस राखेका हुन्छन्। त्यही आसको आडमा कति जीवन बाँचेका हुन्छन्।
यो पनि:
"विश्वरूप डाक्टर"
लकडाउन किन?
हातखुट्टाको गिर्खा सार्कोमा हुनसक्छ