दाइलाई ज्वरो आको आज तीन दिन भो
सिटामोल खाएनि १०० बाट उँधो लाग्दैन
फोन बज्छ
"धन्ना नलिनुस भाउजु,
बेसारपानी पिउने, दुई/तीन दिनमा ठिक भइहाल्छ
अस्पताल नलानूस्, माफियाले सिध्याउँछन्
विश्वरूप डाक्टरले भन्नुभाको यो नक्कली रोग हो"
दाइको ज्वरो नझरेको आज पाँच दिन भो
खोकी पनि बढेको छ
फोन बज्छ
"धन्ना निलिनुस भाउजु,
यसको विरुद्ध हामी छिट्टै हडताल गर्दै छौं
अस्पताल नलानूस्, माफियाले सिध्याउँछन्
विश्वरूप डाक्टरले भन्नु भाको यो नक्कली रोग हो"
दाइ बिरामी हुनु भाको आज आठौं दिन
श्वास फेर्न अलि गाह्रो पनि भाको छ
हिजोदेखि फोन आउन पनि बन्द भो
न त कसैले फोन नै उठाउँछन्
दुई जना कलिला भुरा काखी च्यापी भाउजुले गुहार मागिन्
मुस्किलले एक जना टोलको भलाद्मी अघि सरे
न त आफन्त, न चिनजानका
जेनतेन अस्पताल पुर्याएँ
एउटा अस्पताल दुइटा अस्पताल चहार्दै
बल्ल कोभिड अस्पताल पुगें
"बिरामी भएको कति दिन भो?"
"आठ दिन"
"घर कता हो नि"
"काठमाडौं नै हो"
"अनि यस्तो सिकिस्त हुँदासम्म किन कुर्नु भाको!"
"अँ विश्वरूप डाक्टरले यो नक्कली रोग हो भन्नु भाकोले"
"को विश्वरूप, कुन अस्पतालका डाक्टर हुन र?"
"खै मलाई थाह भएन... उहाँका साथीहरुले चाहिँ चिन्नुहुन्छ क्यार"
"उहाँको अवस्था नाजुक छ, सघन कक्षमा राखेर उपचार गर्नुपर्छ"
"जसरी भएनि बचाउनुस् डाक्टर साब!"
दाइलाई अस्पताल भर्ना गरेको एक हप्ता भो
"भाउजु" भन्नेहरुको फोन नआएको पनि त्यति नै दिन भो
दाइको अवस्था झन् नाजुक हुन थाल्यो
प्लाज्मा दिइयो, रेमडेसिभिर दिइयो
"बाई प्याप" भेन्टिलेसनमा राखियो
बल्लतल्ल भर्ना भएको आठौं दिनमा अलिक सुधार आयो
रुँदारुँदा भाउजुका आँखा गोलभेंडा जस्ता भइसके
दसौं दिनमा वार्डमा सारियो
त्यसको चार दिनपछि डिस्चार्ज हुनु भो
घर फर्केर आराम गर्दै हुनुहुन्थ्यो
खोकी अझै बाँकी थियो
धेरैपछि फेरि फोन बज्यो
"भाउजु, मैले पहिल्यै भनेको हैन र,
दाइलाई केही हुन्न!
साधारण रुघाखोकी जस्तै हो यो,
माफियाहरुले पैसो थुत्न प्लाज्मा दिए होलान्,
भेन्टिलेटरमा राखे होलान्!
बिना अर्थ अस्पताल लानु भो
आखिर विश्वरूप डाक्टरले भन्नु भाकै हो, यो नक्कली रोग हो!"
"अनि भाउजु साँच्चै दाइको ब्लड ग्रुप चै के पर्यो?"