हात धुने, मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने कुरालाई हामीले सिट बेल्ट र हेलमेटवाला नियम जस्तै ठानेका छौं। हामी आफ्नो सुरक्षाको लागि नै हो भन्ने थाहा हुँदाहुँदै पनि सावधानी अपनाउन अल्छी गर्छौं। ट्राफिक अगाडि भए सिटबेल्ट र हेलमेट लगाइहाल्ने नभए 'ल देखिस् मैले लगाइनँ, मेरो मानवअधिकार हनन गर्ने, मलाई बाल!' भन्दै अहंकार देखाउने हाम्रो अजीवको बानी छ।
सायद भर्खरभर्खर आर्जिएको लोकतन्त्र, व्यक्तिगत स्वतन्त्रता र पहिचानको अपरिपक्वताले होला, नियम–कानुन हामीलाई अझै सामन्ती र फासिष्ट लाग्छ। यदि हामीले स्फुर्त कोभिडबाट बच्ने सावधानी अपनाउने र आफ्नो परिवार तथा साथी-भाइलाई अपनाउन कर गर्ने हो भने लकडाउन चाहिँदै चाहिँदैन।
हुन त सरकारलाई दोष दिँदा एक किसिमको आंशिक आनन्द आउँछ। तर हामी आफ्नै जिउको भैंसी चाहिँ देख्दैनौं। लकडाउनका बीचमा काममा जाँदा हामीले गरेका केही हेलचेक्र्याइँ छन्, जसमा सरकारको दोष देखिँदैन।
१. रेस्टुराँको बाहिरैबाट खाना लैजान पाउने नियम थियो, हामी भने भित्रै बसेर खान थाल्यौं। रेस्टुरेन्ट धनीले पनि नदेख्या जस्तो गर्ने, खान गएको मान्छेले पनि केही थाहा नभएको जस्तो गर्ने। गल्ली भित्रका र सहरभन्दा अलि पर घुम्न जाने ठाउँका रेस्टुरेन्ट र भट्टीमा त झन् नियम पालन हुने सम्भावना नै थिएन। उदाहरणको लागि बसन्तपुरको चर्चित कफी सप, मखनका भट्टीहरु, चोभार गुफा बाहिरका पसलहरूमा लकडाउन खुकुलो पार्न भ्याएको थिएन, मानिसहरू मस्तसँग टाँसिएर चुरोट फुक्दै थिए। सरकारले भएभरका रेस्टुरेन्टमा गएर नियम पालन गर भन्न सक्दैन।
२. मखन, असन, इन्द्रचोक, न्युरोड, खिचापोखरी, पाको, महाबौद्ध (जसलाई म कोरोनापथको संज्ञा दिन्छु) मा बिना कुनै सावधानी किनमेल सुरु भयो। चार/पाँच दिन केस कम हुँदा हामीलाई दसैँ लाग्यो। दुवै हातभरि नयाँ लुगाका पोका बोक्दै, इन्द्रचोकमा लस्सी खान भीड गरेको देखेकै हो। मक्खनदेखि बसन्तपुरसम्म बाटोभरि पसल थापेको देखेकै हो। अनि टेक्ने ठाउँ नहुने गरी मास्कलाई घाँटीसम्म सारेर, पञ्जा लगाएर सामान ओल्टाइपल्टाई तोलमोल गरेको देखेकै हो। विशालबजारका भुइँतलास्थित सुन पसलमा सुनको भाउ झर्दै बढ्दै गर्दा केही मान्छेको भीड लागेकै हो। सरकारले के अब हामीलाई सामान्य ज्ञान पनि सिकाउनु पर्यो? चार/पाँच दिन केस घट्दैमा दसैँ मनाउन आवश्यक थियो र? नयाँ कट्टु लगाउन र लस्सी पिउन केही दिन कुर्न सक्दैनथ्यौं र?
३. बसन्तपुरमा एकातिर पिसिआर टेस्टको दायरा बढाउन सत्याग्रह चलिरहँदा अर्कोतिर सेल्फी खिच्न, टिकटक बनाउन, टाँसिएर चिया पिउन, चुरोट दन्काउन भीड गरेको देखेकै हो। त्यस्तो भीड गर्ने हो भने जति नै पिसिआरको दायरा बढाए पनि पुग्दैन। के यो हामीलाई थाहा थिएन र? भीडभाड कम गर्न के हामीले सेल्फी नखिच, टिकटक नबनाऊ भन्ने नियम नै कुरेका हौँ त?
४. धेरै भीडभाड नगर वा गर्नै परेमा पनि सबै सावधानी अपनाएर गर भन्दा हामीलाई मौका छोपी धुमधाम गोष्ठी पार्टी र चुनावसम्म सिध्याउन काउकुती लागेकै हो।
५. पिसिआरको लागि स्वाब दिएपछि रिपोर्ट आउनु अगाडि आफ्नै साथीभाइ डुल्दै हिँडेको पनि देखेकै हो।
सरकारको अदूरदर्शीता र हाम्रो निर्लज्ज व्यवहारले गर्दा नै लकडाउन गर्नु परेको हो। केही साथीहरुले लकडाउनले गर्दा काम नपाएर भोकै बस्नुपर्ने अवस्था आयो भनी लेख्नुहुन्छ। लकडाउनले साँच्चै नै काम नपाएर भोकाएका नेपाली फेसबुकमा होइन, हरेक दिन मक्खन टोल रञ्जना गल्ली र पुरानो बसपार्कमा ११ बजेदेखि १२ बजेभित्र खाना खान लाम बस्न आउँछन्। उनीहरूसँग न मास्क हुन्छ, न स्यानिटाइजर। खान नपाएकालाई आखिर कोरोना न सोरोना! यति बुझ्नुस् दैनिक ज्यालादारी गर्नेलाई प्रत्यक्ष्य/अप्रत्यक्ष रुपमा कामविहीन बनाउने सरकार मात्रै होइन, हामी अनुशासनहीन पढे-लेखेका मूर्खहरु पनि हौं।
अलि पढेलेखेकाले अचेल स्विडेनमा लकडाउन त परै जाओस्, मास्क कहिले लगाउनु नपरेको तर्क राख्छन्। हर्ड इम्युनिटीका कुरा गर्छन्। सायद उनीहरूको परिवेशमा यो सही हुँदै गएको पनि हुनसक्छ। तर एकछिन सोच्नुस् दुई देशको भिन्नता। विश्वका अति विकशित देशका परिसूचकमा लगातार उत्कृष्ट स्थान हासिल गर्न सकेको देश हो स्विडेन। स्वास्थ्य सम्बन्धी हुने प्रतिव्यक्ति खर्च लगायतका अन्य परिसूचकमा पनि स्विडेन धेरै अगाडि पर्छ। सायद आइपारेमा भएकै स्वास्थ्य संरचनाले धान्न सक्ने आँकडा/अध्ययन भएकैले लकडाउन नगर्ने जोखिम मोलेका होलान्। हामी जस्तो 'जे पर्ला देखाजाएगा' भनेर अन्तिमसम्म कुनै ठोस तयारी नगरी होमिएका त पक्कै पनि हैनन् होला।
आखिर सोच्नुस्, के हामीलाई आफ्नै ज्यान जोगाउन नियम-कानुन नै चाहिने हो र? के हामी बाँदरभन्दा अलि धेरै सोच्ने-बुझ्ने कोसिस गर्न सक्दैनौं र? जुन दिन सक्छौं त्यो दिनदेखि सायद लकडाउन चाहिँदैन।