विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का अनुसार मंकीपक्स एउटा दुर्लभ किसिमको रोग हो, जुन मंकीपक्स नामक भाइरसका कारण हुन्छ। यो भाइरस दादुरा गरउने बेरियोला भाइरसकै प्रजातिसँग सम्बन्धित ‘अर्थोपक्स’ वंशको हो।
पहिलो पटक सन् १९५८ मा फेला पारिएको यो रोग ‘जुनोसिस’ अर्थात संक्रमित जनावरबाट मान्छेमा फैलिन्छ। मंकीपक्स भाइरस पश्चिम र मध्य अफ्रिकाका केही ठाउँमा संक्रमित जंगली जनावरहरूमा पाइएको थियो।
‘युएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिवेन्सन’का अनुसार मंकीपक्सको खोज तब भयो, जब दादुराजस्तो बिरामीको प्रकोप बाँदरमा फैलिएको थियो। ती बाँदर अनुसन्धानका लागि राखिएको थियो।
डब्ल्युएचओका अनुसार मंकीपक्सका धेरै संक्रमण सामान्यभन्दा बढी वर्षा हुने उष्णकटिबन्धीय जंगलमा पाइएको छ। यी क्षेत्रको नजिक बस्ने बाँदरहरूमा यो भाइरसको संक्रमण धेरै पाइएको छ। एउटा शोधअनुसारमा यो संक्रमण विशिष्ट प्रजातिका मुसा, लोखर्के र बाँदरहरूमा पाउन सकिन्छ।
केही दिन पहिले नाइजेरियामा यात्रा गर्ने एक व्यक्तिमा मंकीपक्स भाइसरको संक्रमण भएको पाइएको थियो। बेलायतको स्वास्थ्य सुरक्षा निकाय (युकेएचएसए) ले यो खबरको पुष्टि गरेको छ, जसअनुसार मंकीपक्स एक दुर्लभ किसिमको भाइरस संक्रमण हो, जुन सजिलै फैलिँदैन।
मंकीपक्स भाइरस सामान्यतयः एक व्यक्तिमा सीमित हुने संक्रमण हो। बिरामीमा यसले कहिलेकाहीँ मात्रै गम्भीर रूप लिन्छ। यो संक्रमण भएका धेरैजसो बिरामी छोटो समयमा नै ठीक हुन्छन्। डब्ल्युएचओका अनुसार यो संक्रमण हालसम्म २० भन्दा धेरै देशमा फैलिएको छ।
के हो मंकीपक्सको लक्षण?
मंकीपक्सका लक्षणहरू दादुरासँग मिल्ने खालका छन्। यसको संक्रमण भएका व्यक्तिमा ज्वरो आउने, मांशपेशीमा दुखाइ हुने, सुन्निने, टाउको दुख्ने, जाडो महसुस हुने र थकान लाग्ने लक्षण देखिन्छन्।
दादुराको संक्रमण हुँदाजस्तै मंकीपक्समा पनि पूरै शरीरमा फोका देखिन सक्छन्। यी फोकामा परिवर्तनहरू पनि देखिन्छ। फोका देखिएको ठाउँ सुन्निन्छ। तर, मंकीपक्स दादुराभन्दा कम खतरनाक हुने बताइएको छ।
कसरी फैलिन्छ?
जो व्यक्ति संक्रमित व्यक्तिको निकट सम्पर्कमा हुन्छन्, उनीहरूमा यो भाइरस फैलिने जोखिम धेरै हुन्छ। यो काटिएको ठाउँदेखि स्वासप्रश्वासको माध्यमबाट अथवा आँखा, नाक वा मुखबाट पनि व्यक्तिको शरीरमा प्रवेश गर्न सक्छ।
यो संक्रमण संक्रमित जनावरको सम्पर्कमा आउँदा पनि फैलिन सक्छ। वा भाइरसबाट दूषित भएका वस्तु वा साधनको प्रयोग गर्दा पनि संक्रमण हुनसक्छ।
मंकीपक्सबाट हुने अधिकांश संक्रमण अफ्रिकाको एउटा देश कंगोमा पाइएको छ। अफ्रिकाबाहिर संक्रमित भएका व्यक्तिहरूमा संक्रमण प्रायः अन्तराष्ट्रिय यात्रा वा आयातीत जनावरबाट फैलिएको पाइएको छ।
मंगलबार मात्रै डब्ल्युएचओका अधिकारीहरूले भने मंकीपक्सको संक्रमण फैलनमा यौन सम्पर्क पनि कारण भएको बताएका छन्। मुख्य गरी उत्तर अमेरिका र युरोपका देशहरूमा यो संक्रमण फैलिएको पुष्टि भइसकेको र यो फैलिनुको मुख्य कारण यौन सम्पर्क नै भएको पाइएको ती अधिकारीहरूले बताए।
कुन–कुन देशमा फैलिएको छ मंकीपक्स?
डब्ल्युएचओका अनुसार हालसम्म विश्वका २०० भन्दा धेरै व्यक्तिमा मंकीपक्सको संक्रमण फैलिएको पुष्टि भएको छ। गत शुक्रबारसम्म ९२ जनामा पुष्टि भएको संक्रमण अहिले ह्वात्तै बढेको जनाइएको छ।
एसिया प्यासिफिक क्षेत्रको अष्ट्रेलियामा मे २० मा पहिलो पटक यो संक्रमण पाइएको थियो। ब्रिटेनबाट यात्रा गरेर आएका ती व्यक्ति संक्रमित भएको फेला परेका हुन्। त्यस्तै, युरोपका अन्य देश अष्ट्रियामा मे २२ मा, बेल्जियममा मे २० मा, डेनमार्कमा मे २४ मा संक्रमितहरू पाइएका थिए। त्यस्तै फ्रान्समा मे २० मा, जर्मनीमा मे २० मा इटलीमा मे २३ मा, नेदल्याण्डमा मे २० मा, पोर्चुगलमा मे २३ मा, स्लोभेनियामा मे २४ मा, स्पेनमा मे २३ मा, स्विडेनमा मे १९ मा, स्वीजरल्याण्डमा मे २१ मा र बेलायतमा मे २३ मा संक्रमित भेटिएका थिए।
हाल युरोपेली देशहरूमध्ये बेलायतमा ५६, स्पेनमा ३८, पोर्चुगलमा ३७ जना संक्रमित भेटिएका छन्। अन्य देशमा कति जनामा संक्रमण भएको छ भन्ने यकिन तथ्यांक सार्वजनिक भएको छैन।
मध्यएसियाको इजरायलमा पनि मे २१ मा यो भाइरसबाट संक्रमित व्यक्ति भेटिएका छन्। अमेरिकी मुलुकहरूमध्ये क्यानडामा मे १९ मा पहिलो संक्रमित भेटिएको पुष्टि भएको थियो। त्यसको एक दिनअघि मे १८ मा अमेरिकामा पनि संक्रमित व्यक्ति भेटिएका थिए। हालसम्म अमेरिकामा पाँच जना संक्रमित पाइएका छन्।
कसरी थाहा पाउने संक्रमण?
मंकीपक्स भाइरस पोलिमरेन्ज चेन रिएक्सन (पीसीआर) प्रयोगशाला परीक्षणबाट पत्ता लगाउन सकिन्छ। शरिरमा भएका फोकाबाट लिइएको नमूना परीक्षण गर्नु सबैभन्दा उत्तम हुन्छ। त्यस्तो नमूना छाला, तरल पदार्थ, क्रस्ट वा बायोप्सीबाट निकाल्न सकिन्छ। एन्टीजेन र एन्टीबडीको परीक्षण गर्ने उपाय उपयोगी हुँदैन, किनकि यो उपायबाट अर्थोपक्सबिरसबीचको फरक पत्ता लगाउन सकिँदैन।
उपचार के हो?
हालसम्म मंकीपक्सको निश्चित उपचार पत्ता लागेको छैन। विश्वभर देखिइरहेको संक्रमण कम गर्न संक्रमितहरूलाई दादुराकै खोप लगाइएको छ। यो खोपले मंकीपक्स रोक्न ८५ प्रतिशतसम्म सफल भएको पाइएको छ।
-डाउन टु अर्थ, रोयटर्सलगायत सञ्चारमाध्यमको सहयोगमा।