३६ वर्षअघि नेपालमा एकमात्र प्रमुख औषधि उत्पादक कम्पनी थियो, शाही औषधि लिमिटेड । त्यहाँ जागिर खान लोकसेवा आयोगको जस्तै संस्थान समन्वय परिषद्को कठिन परीक्षा दिनुपथ्र्यो । बिएस्सी गरेपछि २०३५ सालमा त्यही परीक्षामा सफल भए, अशोकरत्न तुलाधर । अन्ततः औषधि लिमिटेडको मेडिकल रिप्रेजेन्टिटिभ (एमआर) का रुपमा जागिरे जीवनमा प्रवेश गरे ।
तत्कालीन समयमा औषधिको बजारको ८० प्रतिशतभन्दा बढी हिस्सा भारतीय कम्पनीको थियो । त्यस्तो परिस्थितिमा नेपाली औषधिको मार्केटिङ सजिलो थिएन । नेपाली कम्पनीबाट आएका व्यक्ति भनेपछि चिकित्सकले भेट्नै रुचि देखाउँदैनथे । तर, तुलाधर जहाँ पुगे, चिकित्सकको मन जित्न सफल भए । ‘समय र बजारको मागलाई बुझेर आफूलाई अपडेट गराउन सकिएकाले पनि चिकित्सकसँग सहजै समय लिन र कुराकानी गर्न सफल भए,ँ’उनी सम्झन्छन्, ‘गुणस्तरीय औषधि उत्पादन भइरहकाले पनि चिकित्सकलाई सहजै यसबारे विश्वास दिलाउन सकिन्थ्यो ।’
कुनै पनि कम्पनी र व्यक्तिले सफलता हासिल गर्न समय र बजारको मागलाई बुझेर अपडेट हुनुपर्ने कुरामा विश्वास राख्छन् तुलाधर । तर, उनी आफैँ कार्यरत संस्था भने समयअनुसार आफूलाई परिवर्तन गर्न सफल भएन । समयअनुसार अघि बढ्न सुझाव नदिएका पनि होइनन् उनले । तर, आफ्ना कुराको सुनुवाइ नभएपछि सन् १९९२ तिर उनले जागिरै छाडिदिए ।
हुन पनि समयअनुसार लिमिटेडले आफूलाई अपडेट गर्न नसक्दा लिमिटेडको औषधि उत्पादन पूर्ण रुपमा बन्द छ । तर, तुलाधर भने प्रगतिको सिँढी चढिरहेका छन् । तुलाधरले लिमिटेडको जागिर छाडेका थिए । जागिर छाड्नेबित्तिकै कैयौं नेपाली कम्पनीले उनलाई तान्ने प्रयास गरे । त्यसबीचमा उनले देउराली जनता फर्मास्युटिकल्स कम्पनीमा परामर्श सेवासमेत प्रदान गरे । र, पछि सिम्काको सेल्स म्यानेजरका रुपमा काम गरे ।
गुणस्तरीय उत्पादन र टिमवर्कमा विश्वास राख्ने तुलाधरलाई सिम्का नयाँ भए पनि चिकित्सकले खुलेरै स्वागत गरे । छोटो समयमै सिम्काको बजारलाई माथि पु¥याउन सफल भए । ‘गुणस्तरीय उत्पादन लिएर टिमलाई सही रुपमा परिचालन गर्न सक्यो भने सफलता आफैँ आउँछ’ उनी भन्छन्, ‘त्यसकारण बजारमा जाने टिमलाई खुसी पारेर सही ढंगमा परिचालन गर्न जान्नुपर्छ ।’ आफूभन्दा तलका कर्मचारी तथा सहयोगीहरुले काम कुन रुपमा गरिरहेका छन् भन्ने निष्पक्ष ढंगले पहिचान गर्न सक्ने हो भने काममा सफलता पाउन सकिने उनको भनाइ छ ।
गुणस्तरीय उत्पादन हुँदाहुँदै पनि आफ्नो टिमलाई समयअनुसार तालिम दिने, उनीहरुका समस्या बुझेर सहयोग गर्ने, कामको उचित मूल्यांकन गरेर प्रोत्साहन गर्ने ग¥यो भने कम्पनी सफल हुने उनको धारणा छ । ‘म पनि तल्लो तहदेखि काम गर्दै माथिसम्म आएकाले कहाँसहयोग गर्नुपर्छ र कस्तो समस्या हुन्छ भन्ने राम्रोसँग बुझेको छु,’ उनी भन्छन्, ‘त्यही भएर समस्या बुझेर समाधानतर्फ लाग्छु ।’
एमआरदेखि मार्केटिङ डाइरेक्टरसम्म आइपुग्दा उनले औषधि बजारका क्षेत्रमा भित्रिएका नकारात्मक कार्यलाई रोक्ने प्रयास गरेका छन् । औषधि मार्केटिङलाई व्यवस्थित र मर्यादित बनाउन नेपाल औषधि उत्पादक संघ (एपोन)लाई कार्ययोजनासमेत बनाएर बुझाएका छन् । ‘गुड मार्केटिङ प्राक्टिससम्बन्धी किताब तयार पारेर एपोनमा बुझाएको छु,’ उनी भन्छन्, ‘धेरै हदसम्म उक्त योजनाअनुसार काम भइरहे पनि केही कम्पनीले क्षणिक लाभ हेरी गलत अभ्यास गरिरहेका छन् ।’
प्रभु बैद्य
निर्देशक, सिम्का ल्यावरेटोरी
मार्केटिङ भनेको टिमले चल्ने हो । म यो कम्पनीमा पछिमात्र प्रवेश गरेको हुँ । तुलाधरको पुरानो अनुभवलाई लिँदै नयाँ तरिकासाथ अगाडि बढ्नु आवश्यक छ । यस क्रममा उहाँको काम गर्ने तरिका र हामीले चाहेका कुरामा देखिएको ग्यापलाई पूरा गर्दै हामी अगाडि बढ्छौं । लगानीकर्ता बजारबाट छिट्टै प्रतिफल आओस् भन्ने चाहन्छन् । तर, मार्केटिङ भनेको निरन्तरताको अभ्यास हो भन्ने कुरामा हामी सहमत छौँ ।