परिचय:
रुट क्यानल ट्रिटमेन्ट (आरसीटी) उपचार पद्धतिलाई दाँतको जरा देखिकै उपचार पनि भनिन्छ। जहाँ दाँतको भित्रि भागमा रहेको नशा तथा रक्त कोशिकाहरु निकालिन्छ, जराहरु सफा गरिन्छ, विभिन्न रसायनीक पदार्थहरुले निर्मलिकरण गरिन्छ र अन्त्यमा जरामा नक्कली नशा राखेर दाँतलाई भरिन्छ।
किन आवश्यक छ आरसीटी?
जब दाँतको सडन इनामेल र डेन्टिनलाई सडाउँदै दाँतको सबैभन्दा भित्रि तहमा पुग्दछ, तब त्यहाँ रहेको नशाले प्रतिक्रिया जनाउँदछ। उक्त प्रतिक्रियास्वरुप नशामा रक्तसचार बढ्न जान्छ। तर दाँतको नशा इनामेल, डेन्टिन जस्ता कडा तन्तुहरुले घेरिएको हुँदा बढ्दो रक्तसंचारको चाप अनुरुप फैलिन पाँउदैन र जराबाट प्राप्त हुने रगतको प्रयाप्तता नै उल्टो घट्न जान्छ।
यो प्रतिक्रियात्मक असरले गर्दा दाँतको नशा पुनः सामान्य अवस्थामा फर्कन नस्क्ने गरी घाइते हुन सक्छ वा मर्न पनि सक्छ। फलस्वरुप तातो वा चिसो खाँदा लामो समयसम्म दुखाइ अनुभव हुन सक्छ। सो दुखाई सुत्दा अझ बढ्ने हुनसक्छ। कहिलेकाहि बिना कारण आफैपनि दाँत दुख्ने हुनसक्छ। यदि नशा मरिनै सकेको छ भने संक्रमण जरा बाहिरको तन्तुमा पनि फैलन सक्छ र गिँजामा पिप जम्मा हुने, गाला सुन्निने जस्ता समस्याहरु पनि आउन सक्छन्।
यी विविध समस्याहरुको कारण संक्रमित नशा नै भएकाले उक्त संक्रमित नशालाई आरसीटी उपचार पद्धतिबाट निकालि दाँतलाइ पुनः लक्षणरहित बनाउन सकिन्छ।
कस्ता कस्ता लक्षणहरु देखिए दाँतको आरसीटी गर्नुपर्छ?
(क) किरा लागेको दाँतको हकमा
१. तातो वा चिसो खाँदा अलि लामो समयसम्म (करिब ५ मिनेटसम्म) दाँत दुखेमा
२. मुखमा केही कुरा नराख्दा पनि अकस्मात दाँत दुखेमा
३. राति पल्टिएर सुत्दा दाँतको दुखाई बढेमा
४.चपाउँदा दाँत दुख्नुको साथै गिजा तथा गाला सुन्निएमा
(ख) चोटपटक लागेको हकमा
१. विभिन्न चोटपटकले दाँत भाच्चिएर नशा संक्रमित भएमा
२. चोट लागेको केही समयपछि दाँत कालो भएमा
के आरसीटी उपचार दुखाइपूर्ण हुन्छ?
सक्षम र दक्ष चिकित्सकले आरसीटी पूर्ण रुपमा दुखाईरहित तरिकाले गर्न सक्दछन्। इन्डोडेन्टिस्टहरु यस प्रकारको उपचारका लागि विशेषज्ञ हुन्।
यो उपचार कति सफल छ?
नराम्ररी बिग्रिएको दाँतलाइ वचाउने एक मात्र उपचार आरसीटी नै हो। यो उपचारको सफलता दर ९५ प्रतिशत भन्दा बढी छ। कतिपय अवस्थामा पुरा जिवनभर पनि आरसीटी उपचार गरेको दाँतले काम गर्न सक्छ।
कस्तो अवस्थामा आरसीटी उपचार असफल हुन्छ?
आरसीटी गरेको दाँतमा पुनः संक्रमण भई दाँतको दुखाई भएमा यस्तो अवस्थालाई आरसीटीको उपचार असफल भएको मानिन्छ।
निम्न अवस्थामा आरसीटी असफल हुन सक्छः
१. जराको सफाइ र निर्मलिकरण पूर्ण रुपले हुन नसक्दा
२. जरामा राखिने नक्कली नशा जराको टुप्पो बाहिर निस्किदा वा २ एमएमभन्दा बढीले जराको लम्बाइसम्म नपुग्दा
३. उपचारको क्रममा जराभित्र उपकरण भाँचिएमा
४. बिरामीको रोग प्रतिरोधात्मक क्षमता कम हुँदा जस्तै मधुमेह, क्यान्सर आदि।
५. दाँतको जरा वा दाँत नै भाचिएको अवस्थामा
६. दाँतमाथि भरिएको सामाग्रीले जिवाणुहरुलाई दाँतभित्र छिर्नबाट रोक्न नसकेमा जस्तै भरेको फुत्किनु, टुट्नु आदि।
७. स्वास्थ्यकर्मीमा आवश्यक मात्रामा ज्ञान र सीप नहुँदा
के आरसीटी गरेको दाँतमा खोल लगाउनैपर्छ?
आरसीटी गरेको दाँत सामान्य अवस्थाको दाँत भन्दा खोक्रो हुनुको साथै सुख्खा हुन्छ। त्यस्तै उक्त दाँतमा नशा पनि नहुने हुँदा चपाउने बलको मात्रा अन्दाज गर्न कठिन हुन्छ। जसले गर्दा कमजोर दाँतले अत्याधिक बलको सामना गर्नुपर्दा दाँत टुट्न सक्छ। त्यसर्थ दाँतमा खोल लगाउँदा दाँतलाइ थप शक्ति प्राप्त हुन्छ र टुट्ने सम्भावना कम हुन्छ। अतः आरसीटी गरेको दाँतमा खोल लगाउनुनै बुद्धिमानि हुन्छ।
के आरसीटी असफल भएमा पुनः आरसीटी गर्न सकिन्छ?
दाँतको उपचार असफल हुनुको कारणलाइ सच्चाएर पुनः आरसीटी गर्न सकिन्छ। तर कतिपय अवस्थामा पुनः आरसीटी गर्न कठिन वा असम्भव हुन गइ सर्जिकल आरसीटी वा दाँत नै निकाल्नुपर्ने अवस्था आउन सक्छ। इन्डोडेन्टिस्टको सल्लाहमा पुनः आरसीटीको बारेमा निर्णय लिनु नै वुद्धिमानी हुन्छ।
आरसीटी उपचार गर्न कति खर्च लाग्छ?
चिकित्सकको क्षमता, ज्ञान र उपचारको लागि प्रयोग हुने सामाग्री र प्रविधिले शुल्क निर्धारण गर्ने गर्दछन्। सामान्यतया एउटा आरसीटी गर्न ३००० देखि रु १५००० सम्म खर्च लाग्न सक्छ।
आरसीटी नगरेर दाँत निकाल्नु र नक्कली दाँत राख्नु के राम्रो हो?
आफ्रनो प्राकृतिक दाँतलाई सम्भव भएसम्म बचाउन खोज्नुपर्दछ। किनकी कृतिम दाँतले कहिल्यै पनि प्राकृतिक दाँतसरह काम गर्न सक्दैन। कृतिम दाँत राख्दा अन्य थुप्रै समस्या र जटिलताहरु उत्पन्न हुन सक्दछन्।
आरसीटी गर्नुपर्ने अवस्था नै आउन नदिन के गर्नुपर्छ?
दाँतको सडनलाइ सुरुआती अवस्थामा नै चिकित्सकको सल्लाहमा सडन हटाई भर्नुपर्दछ। दाँतको नियमित सरसफाइ गर्नुपर्दछ। दन्त चिकित्सकलाई कम्तिमा ६-६ महिनामा भेटेर परामर्श लिनुपर्दछ।
-(डा शर्मा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, डिपार्टमेन्ट अफ इन्डोडेन्टिक्सका सिनिएर रेजिडेन्ट हुन्।)