चितवनकी शान्ता (नाम परिवर्तन) लाई महिनावारी हुँदा अत्यधिक पेट दुख्थ्यो। पेट दुख्न थालेपछि उनी कलेजसमेत जान सक्दिनथिन्। तर उनीसँगै अध्ययन गर्ने साथीहरु भने महिनावारी हुँदा पनि नियमित कलेज जान्थे। किनकी साथीहरुलाई महिनावारी हुँदा शान्तालाई जस्तो पेट दुख्ने समस्या थिएन।
महिनावारीमा पेटको दुखाइ सहनै नसक्ने भएपछि उनी पेन किलर लिने र तातो पानीको ब्यागले पेट सेक्ने गर्थिन्। महिनावारीको तीन दिन उनलाई ओछ्यानमै आराम गर्नुपथ्र्यो।
उनी उपचारका लागि विभिन्न स्वास्थ्य संस्थामा पनि धाइन्। तर महिनावारीमा पेट दुख्ने समस्या सामान्य भन्दै फर्काइन्थ्यो। पेट असाध्यै दुखेमा पेन किलर खान र तातो पानीको ब्यागले पेट सेक्न स्वास्थ्यकर्मीले सुझाव दिएका थिए।
२६ वर्षको उमेरमा उनको विवाह भयो। विवाहपछि पनि उनको दुखाइ कम भएन। महिनावारीको बेलामा पेट दुखेर श्रीमती छट्पटाएपछि उनका श्रीमान्ले चितनवकै एक अस्पतालमा लगेर भिडियो एक्स–रे गराए। रिपोर्ट हेरेपछि चिकित्सकले शान्ताको डिम्बासयमा क्यान्सरको ट्युमर जस्तो देखिएको भन्दै तुरुन्त शल्यक्रिया गर्न सुझाव दिए।
विवाह गरेको दुई महिनामै श्रीमतीलाई क्यान्सर भएको सुन्दा छाँगाबाट खसेजस्तै भए उनका श्रीमान्। त्यसपछि उनलाई तुरुन्तै थप उपचारका लागि काठमाडौं ल्याइयो।
काठमाडौंमा शान्ताले वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा गणेश दंगालसँग भेटिन् र सबै समस्या सुनाइन्। डा दंगालले रिपोर्ट हेरे। एक्स–रे रिपोर्टमा धमिलो ट्युमर जस्तो छायाँ देखियो।
शान्ताको उमेर हेर्दा क्यान्सर नै भइसकेको हुन नसक्ने भन्दै डा दंगालले पाठेघरमा देखिने अर्को समस्या एन्ड्रोमेट्रियोसिसको शंका गरे।
०००
प्रजनन् उमेर समूहका १५ देखि ४४ वर्षका महिलाको पाठेघरभित्र एन्डोमेट्रियम भन्ने पाठेघरको भित्री झिल्ली हुन्छ। जुन हरेक महिनावारी हुने क्रममा हरेक पटक काँचुली फेरेर रगत आउने हुन्छ। जसलाई महिनावारी भएको भनिन्छ। त्यो एन्डोमेट्रियम पाठेघरभित्र मात्र हुनुपर्छ।
तर, त्यो झिल्ली विभिन्न कारणले पाठेघरबाहिर, डिम्बासय, तल्लो पेट, डिम्बाहिनी नली, अगाडि पिसाबको थैली, पछाडि दिसाको नली, पाठेघरको अन्य भागमा भेटियो भने त्यो अवस्थालाई एन्ड्रोमेट्रियोसिस भनिन्छ। ती भागमा एन्डोमेट्रियम झिल्ली अर्थात् रगत जमेको अवस्थामा बस्छ। एक्स–रे गरेर हेर्दा त्यो ट्मुमर जस्तो देखिन्छ।
०००
शान्ताको परीक्षणका क्रममा पनि त्यही समस्या फेला प¥यो। पाठघेरको भित्री भागको भित्ताहरुमा हुने एन्ड्रोमेट्रियम झिल्ली उनको डिम्बासयमा गएर बसेको थियो। जसका कारण त्यहाँ रगत जम्मा भयो। त्यो जम्मा भएको रगत कफी रङको हुन्छ। जुन एक्सरे गरेर हेर्दा डल्लो धमिलो ट्युमर जस्तो देखिन्छ। जसलाई मेडिकल भाषामा ‘चक्लेट सिस्ट’ भनिने डा दंगाल बताउँछन्।
डा दंगालका अनुसार शान्ताको ल्याप्रोस्कोपी गरेर दूरविनबाट हेर्दा डिम्बबाहिनी नलीमा एन्ड्रोमेट्रियोसिस पत्ता लागेको हो। त्यसपछि उनको ल्याप्रोस्कोपीक विधिबाट उक्त झिल्ली निकालेर फालिएको हो।
डा दंगालको टिमले फलोअपमा आउन सुझाव दिँदै शान्तालाई डिस्चार्ज ग¥यो। एन्ड्रोमेट्रियम झिल्ली निकालेपछि शान्ताको दुखाइको समस्या हट्यो। त्यही भएर उनी नियमित फलोअपमा आइनन्।
तर, उक्त शल्यक्रिया गरेको २ वर्षपछि उनी पुनः अस्पतालमा आत्तिँदै आएको डा दंगाल बताउँछन्। ‘दुई वर्षपछि उनी आउँदा थप समस्या लिएर आएकी थिइन्। नियमित फलोअप नहुँदा उनको शरीरमा एन्ड्रोमेट्रियम झिल्ली पुनः अन्यत्र बसेर समस्या निम्तिएको रहेछ,’ उनले भने, ‘तर त्यतिबेलासम्म समस्या धेरै बढिसकेको थियो। एन्डोमेट्रोयोसिसकै कारण उनको पाठेघरसहित एउटा मिर्गौला सुन्निएको थियो।’
डा दंगालको सुझावपछि उनको मिर्गौलाको आवश्यक थप उपचार अगाडि बढ्यो भने पाठेर निकालेर फाल्नु¥यो। ‘पाठेघर र डिम्बासय निकालेपछि ती महिला आमा बन्न नसक्ने भइन्,’ डा दंगालले भने, ‘समयमा ख्याल नगर्दा एउटा मिर्गौलामा रड राख्नुपर्ने अवस्था आयो।’ डा दंगालका अनुसार अहिले भने ती महिलाको अवस्था सामान्य रहेको छ।
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा कार्यरत डा ज्वाला थापाका अनुसार तल्लो पेट दुखेर जँचाउन आउनेमध्ये ६० प्रतिशत महिलामा यो समस्या देखिने गरेको छ।
‘नियमित जाँच गर्न आउने २ देखि १० प्रतिशत महिलामा यो समस्या देखिने गरेको छ,’ उनले भनिन्, ‘तर तल्लो पेट दुख्यो भनेर आउनेमा ६० प्रतिशतमा यही समस्या भेटिने गरेको छ।’
उनका अनुसार एन्डोमेट्रोयोसिसकै कारण महिलामा बच्चा नहुने समस्या र यौन सम्पर्कमा बेलामा अत्यधिक दुखाइ हुने समस्या पनि निम्तिने गर्छ।
०००
एन्डोमेट्रोयोसिस समस्याकै कारण कीर्तिपुरकी ३५ वर्षीया एक महिलाको यौन जीवन सुखद हुन सकेको छैन। पेसाले उनी फर्मासिस्ट हुन्। श्रीमान्सँगको सहवासका क्रममा उनलाई असाध्यै दुख्ने समस्या देखियो। सहन सक्दासम्म उनले दुखाइको विषयमा श्रीमान्लाई जानकारी नै गराइनन्। तर सम्पर्कको समयमा उनलाई दुखाइको समस्या झन् बढ्दै गयो। जसका कारण उनको यौन सम्पर्कप्रति रुचि समेत घट्न थाल्यो।
श्रीमान्ले यौन सम्पर्क गर्न खोज्दा बहाना बनाउँदै टार्न थालिन्। पछि श्रीमान्ले जबरजस्ती सम्पर्क गर्न खोजेपछि उनले दुखाइको समस्याबारे जानकारी गराइन्। श्रीमान्सँगको सल्लाहपछि उनी उपचारका लागि अस्पताल पुगिन्। जाँचका क्रममा पनि उनको योनीमा निकै पीडा भएको थियो। पहिलो चरणको जाँचमा संक्रमण भएको भन्दै औषधि दिइएको थियो। औषधि खाँदासम्म दुखाइ केही कम हुन्थ्यो। तर पछि फेरि उस्तै हुन्थ्यो।
त्यसपछि उनी राजधानीका विभिन्न अस्पताल चहारिन्। भिडियो एक्स–रे पनि गरिन्। रिपोर्ट सामान्य नै देखाउँथ्यो। एकातिर दुखाइ, अर्कोतिर उपचार हुन नसकेर आजित थिइन् उनी। सोही क्रममा उनलाई कसैले सुझाव दियो, डा गणेश दंगालकहाँ जाँच गराउन। डा दंगाललाई भेटेर समस्या सुनाइन्।
डा दंगालले उनलाई एन्डोमेट्रियोसिस भएको शंका गरे। उनको पनि ल्याप्रोस्कोपीबाट जाँच भयो। जाँच गर्दा थाहा भयो, पाठेघरको भित्री भित्तामा बस्नुपर्ने एन्डोमेट्रियम झिल्ली योनी वरिपरि जम्मा भएर बसेको रहेछ। दुई बच्चाको आमा भइसकेकी उनको पाठेघर नै निकालेर फालियो। त्यसपछि उनको समस्या समाधान भयो।
डा दंगालका अनुसार यौन सम्पर्कका समयमा दुखाइ भएर आउने धेरैजसोमा एन्डोमेट्रियोसिसको समस्या देखिने गरेको छ।
बाँझोपनको एक कारण
डा दंगालका अनुसार महिलामा बच्चा नहुनुको एउटा प्रमुख कारणमध्ये एन्डोमेट्रियोसिस पनि एक हो। यदि यसलाई समयमा उपचार गरिएन भने बच्चा नहुने समस्याका साथै शरीरका अन्य अंगहरु पनि गुमाउनुपर्ने अवस्था आउन सक्छ। समयमा नै उपचार नहुँदा झिल्लीहरु विस्तारै बढ्दै जाने र शरीरका अन्य अंगमा असर गर्ने उनले जानकारी दिए।
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा ज्वाला थापाका अनुसार बच्चा नहुने समस्या लिएर अस्पताल आउनेमध्ये ५० प्रतिशतमा एन्डोमेट्रियोसिसको समस्या देखिन सक्छ। ‘नेपालमा यो समस्या भएका महिला कति छन् भन्ने यकिन तथ्यांक त छैन,’ उनले भनिन्, ‘तर स्वास्थ्य संस्थामा बच्चा नभएको भन्दै उपचारका लागि आउनेमध्ये ५० प्रतिशत जतिमा यो समस्या देखिएको पाइन्छ।’ उनका अनुसार एन्डोमेट्रियोसिसको उपचारपछि महिलाले बच्चा जन्माउन सक्छन्।
एन्डोमेट्रियोसिस हुने कारण
के कारणले एन्डोमेट्रोयोसिस हुन्छ भन्ने एकिन कारण अहिलेसम्म पत्ता लाग्न नसकेको बताउँछन्, डा दंगाल र थापा। महिनावारी हुँदा हार्मोन उत्पादन हुने गर्छ। एन्ड्रोमेट्रियम स्ट्रोजन हार्मोनले सञ्चालन गरेको हुन्छ। यदि स्ट्रोजन हार्मोन बढी छ भने एन्डोमेट्रियोसिसले बढी दुःख दिने गर्छ। तर के कारणले उक्त झिल्ली आफ्नो स्थानमा नबसेर अन्यत्र बस्ने वा फैलने गर्छ भन्ने निश्चित कारण भने चिकित्सा विज्ञानले अहिलेसम्म पत्ता लगाउन सकेको छैन।
महिनावारीका क्रममा रगत योनी मार्ग हुँदै बाहिर निस्कने गर्छ। तर केही कारणले उक्त रगत पछाडिपट्टि रहेको ट्युबतिर गयो भने झिल्लीहरु अन्य भागमा जम्मा हुनसक्छ। एन्ड्रोमेट्रियम पनि झिल्ली भएकाले यो पनि एउटा कारण हुनसक्ने अनुमान गरिन्छ।
लक्षण
चिकित्सकका अनुसार एन्डोमेट्रियम झिल्ली शरीरको जुन अंगमा जम्मा भएर बसेको छ, त्यसको आधारमा लक्षणहरु देखापर्ने गर्छन्। यसको मुख्य लक्षण भनेको दुखाइ नै हो।
– महिनावारी हुदाँ पेट दुख्ने
– महिनावारीका बेला रगत बढी जाने
– झिल्ली कुनै बेला ठूलो आन्द्रामा जम्मा भएर बसेको छ भने दिसासम्बन्धी समस्या उत्पन्न हुनसक्छ। जस्तैः दिसा गर्न गाह्रो हुने, दुख्ने, कब्जियत हुने।
– यदि पिसाब थैलीमा झिल्ली जम्मा भएको छ भने छिटोछिटो पिसाब लाग्ने, पिसाबमा संक्रमण भएजस्तो हुने।
– तत्लो पेट भारी भइराख्ने।
– यौन सम्पर्क गर्दा दुख्ने।
– यदि एन्डोमेट्रियम झिल्लीले डिम्बासयको ट्युब बन्द भयो भने बच्चा बस्दैन।
जोखिममा कोको?
प्रजनन् उमेरका महिला नै यो समस्याको जोखिममा पर्छन्। विशेषगरी मदिरा सेवन गर्ने महिला, तौल कम भएका, महिनावारी छिटो सुरु भएका, महिनावारीको चक्र छिटोछिटो हुने, बच्चा नजन्माएका तर शारीरिक कसरत कम गर्नेमा यो समस्या बढी हुने सम्भावना रहन्छ।
कसरी पहिचान गर्ने?
बच्चा नभएर, महिनावारीको बेला तल्लो पेट दुखेर, यौन सम्र्पक गर्दा, दिसा–पिसाब गर्दा अत्यधिक दुखेर जाँच गर्न आएका महिलालाई सामान्य जाँच गर्दैमा यो समस्या सहजै पहिचान हुँदैन।
सानासाना झिल्ली भएर बसेको छ भने भिडियो एक्स–रेमा समेत सहजै यो समस्या पहिचान गर्न सकिँदैन। यो समस्या धेरैजसो डिम्बासयमा देखिने गर्छ। डिम्बासयमा भिडियो एक्स–रे गर्दा ट्युमर जस्तो देखिन्छ तर प्रष्ट हुँदैन।
एन्डोमेट्रियम झिल्ली जस्तो टाँसिएर बसेको भए पनि ल्याप्रोस्कोपीको माध्यमबाट दूरविनले हेर्दा देखिन्छ। सामान्य जाँचमा नदेखिने हुँदा यो समस्या लुकेर बसेको र महिलाहरु दुखाई खप्न बाध्य हुने गरेको डा थापा बताउँछिन्।
उपचार
चिकित्सकका अनुसार यसको उपचार भनेको औषधि दिएर स्ट्रोजन हर्मनलाई कम गर्ने र शल्यक्रिया गर्ने नै हो। औषधि दिएर गरिने उपचारले समस्या निर्मूल हुँदैन। शल्यक्रियाबाट फैलिएको अंग काटेर फाल्ने गरिन्छ। अहिले ल्याप्रोस्कोपी विधिबाट शल्यक्रिया गर्न थालिएको छ। महिनावारी रोकिएपछि हार्मोन निस्किन बन्द भएपछि यो समस्याले दुःख दिन छाड्छ।