सामाजिक सुरक्षाको रुपमा पहिचान बनाएको स्वास्थ्य बीमा सम्पूर्ण नागरिकहरुको लागि स्वास्थ्य क्षेत्रमा अकस्मात आईपर्ने आर्थिक जोखिम कम गर्नै एक मात्र बलियो एवं विश्वासिलो माध्यम रहेको पाइन्छ। राज्यद्वारा संचालित एवं नियन्त्रित यस कार्यक्रमलाई अझै स्थायित्वको माध्यमले फराकिलो एवं सर्वसुलभ बनाउन नितान्त आवश्यक रहेको देखिन्छ। यो सरकारद्वारा सञ्चालित एक वैकल्पिक कार्यक्रम नभएर मूल आवश्यकताको रुपमा समेत नागरिकहरुलाई अनुभूति गराउन सफल भएको पाइन्छ।
यस कार्यक्रमलाई अझै व्यवस्थित ढङ्गले लैजानुको कुनै अन्य बिकल्प समेत रहेको देखिदैन। तसर्थ यस कार्यक्रमलाई सर्वसुलभ बनाउदै अझै व्यवस्थित ढङ्गले दिगो बनाउन आवश्यक रहेको छ।
समयको माग अनुसार यस कार्यक्रममा हरेक व्यक्ति जो नेपालमा कानूनी तरिकाले बसोवास गर्नु हुन्छ उक्त सबैलाई निश्चित एवं अनिवार्य योगदान रकम तिराई आबद्ध गर्नुपर्ने कानुनी ब्यवस्थाको नितान्त आवश्यकता रहेको छ।
स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाउन निम्नानुसारको उपाय अवलम्बन गर्न सकिन्छ:
-सर्वप्रथम राष्ट्रिय जनगणना २०७८ अनुसारको जनगणनाका तथ्यांकलाई आधार मानि नेपालमा बसोबास गर्ने नेपाली नागरिक बाहेकको व्यक्तिहरुलाई पहिचान गरि कोरिया, जापान जस्तै अनिवार्य यस कार्यक्रममा समावेश गर्ने गरी नीति अवलम्बन गर्ने
-नेपालस्थित राष्ट्रिय वा अन्तर्राष्ट्रिय क्षेत्रका सम्पूर्ण संघ संस्थामा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई अनिवार्य समावेश हुनु पर्ने बाध्यकारी व्यवस्था निर्माण गर्ने
-नेपालमा अवस्थित सम्पूर्ण प्राईभेट कम्पनी, उद्योग, कलकारखाना, शैक्षिक संस्था लगायतका संस्थामा आबद्ध कामदार, कर्मचारी वा ब्यवस्थापक समेतलाई अनिवार्य यस कार्यक्रममा समावेश गराउने
-नेपाल सरकार मातहतका विभाग, कम्पनी, संगठित संस्था व सम्पूर्ण कार्यालयहरुको कर्मचारीहरुलाई यस कार्यक्रमको दायरामा ल्याउने
-स्वास्थ्य क्षेत्रमा नागरिकहरुलाई दिने सम्पूर्ण अनुदान तथा सहयोगलाई एकिकृत रुपमा स्वास्थ्य बीमामा समावेश गर्ने
-सरकारद्वारा संचालित, सामुदायिक वा निजि स्वास्थ्य संस्थाहरुलाई निश्चित मापदण्ड निर्माण गरी स्वास्थ्य बीमामा आबद्दता सुनिश्चित गर्दै २४ सै घण्टा बिभेदरहित ढङ्गले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने
-नागरिकहरुबाट लिनुपर्ने योगदान रकम आम्दानीको आधारमा लिने व्यवस्था मिलाउँदै अधिकतम योगदान सम्मको रकम निर्धारण गर्ने
-स्वास्थ्य बीमाको सूचीमा मौजुदा औषधी तथा जाँच लगायतको अत्यावश्यक सेवाको दायरा फराकिलो बनाउने
-स्वास्थ्य बीमा बापतको तिर्नुपर्ने योगदान रकम बैङ्क खातामा सिधै जोडिने व्यवस्था मिलाउने।
स्वास्थ्य बीमालाई दिगो बनाउन उपरोक्त कार्य यस कारण गर्नै।
स्वास्थ्य बीमा बाध्यकारी बनाउनुको अर्थ हरेक नागरिकलाई अप्रत्यासित रुपमा स्वास्थ्यमा आईपर्नै आर्थिक जोखिम न्युनीकरण गर्नको लागि राज्य स्वयंले उत्प्रेरित गर्नु मानिन्छ। त्यस्तै सरकारी, गैरसरकारी, सामुदायिक संघ संस्थामा कार्यरत कर्मचारी वा कर्मचारीको परिवारलाई समेत स्वास्थ्य क्षेत्रमा हुन सक्ने अनावश्यक खर्चबाट बचाउनको लागि नितान्त आवश्यक रहेको देखिन्छ। त्यस्तै उद्योग धन्दा कल कारखाना लगायतका ठाउँ दुर्घटना सम्भावित भएकोले उक्त ठाउँमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको स्वास्थ्य बीमामा आबद्धताको कुनै अन्य बिकल्प रहेको देखिदैन। त्यही भएर यस कार्यक्रममा बढी भन्दा बढी सहभागी गराउन सके सम्पूर्ण नागरिक हरुको लागि यो कार्यक्रम बरदान सावित हुनसक्छ।
स्वास्थ्य बीमा एक यस्तो कार्यक्रम हो जुन जति बाध्यकारी हुन्छ त्यति नै नागरिक सुरक्षित हुन्छन। यहाँ बाध्यकारी गर्नुको अर्थ नागरिकहरुलाई दुख दिनु होइन। बरु सम्पूर्ण नागरिकहरुलाई भविष्यमा हुन सक्ने अप्रत्यासित जोखिमलाई घटाउनु हो। त्यही भएर यस विषयमा गुणस्तरीय ढङ्गले नागरिकहरुको लागि निर्विकल्प आवश्यकता भई सकेको यस कार्यक्रमलाई अझै ब्यवस्थित ढङ्गले संचालन गर्नुपर्ने आवश्यकता रहेको आभास हुन्छ। स्वास्थ्य बीमा राज्यद्वारा सञ्चालित सामाजिक सुरक्षा हो कुनै नाफामुखी ब्यवसाय होइन। त्यसैले यस कार्यक्रममा हरेक नागरिक वा मातहतका संघसंस्थाले स्वत सदस्यता लिनुपर्ने आवश्यकता देखिन्छ।
यसका साथै स्वास्थ्य क्षेत्रमा हुन सक्ने अनियमिततालाई समेत स्वास्थ्य बीमा कार्यक्रम मार्फत धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ। किनभने यो कार्यक्रम वैज्ञानिक तवरले सूचना प्रविधिमा आधारित रहेर संचालित भई रहेक छ। कुनै पनि हालतमा स्वास्थ्य बीमालाई बैकल्पिक वनाउनु हुँदैन। यस कार्यक्रमलाई मूलधारमै राखि यस कार्यक्रमको मर्म बमोजिमको विशेषज्ञ सेवामा निरन्तरता दिइराख्नु पर्छ।
यसका साथै यो कार्यक्रम योगदानमा आधारित भएको हुनाले यस कार्यक्रमको सबलिकरण स्वरुप हरेक उद्योगी तथा व्यवसायी को साथ साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाले समेत अन्य ठाउँमा आर्थिक सहयोग गर्नुको सट्टा स्वास्थ्य बीमामै सहयोग गर्दा अझै राम्रो हुने थियो किनभने यस कार्यक्रममा आर्थिक सहयोग गर्नुको मतलब जुन उद्देश्यका साथ सहयोग गरिनेछ त्यो उदेश्य बमोजिम कानूनी व्यवस्था अनुसार स्वास्थ्य बीमा बीमितहरुलाई सुविधा उपलब्ध गराई रहेको हुन्छ।
-(तिवारी स्वास्थ्य बीमा बोर्ड संखुवासभाका दर्ता अधिकारी हुन्।)