कम्पाउन्डिङ फार्मेसी ल्याब बारे जानकारी दिँदै फार्मेसी प्रमुख सबिनराज लामिछाने र फर्मासिस्ट रोशन गिरी
चितवन - काठमाडौं बाहिरका संघीय अस्पतालहरुमध्ये एक हो, भरतपुर अस्पताल। जसले आफ्नो सेवा सुविधालाई वर्षेनी परिष्कृत गर्दै लगेको छ।
बिरामीको सहजताका लागि भन्दै सेवा सुविधा थप गर्दै आएको अस्पतालले अर्को नयाँ सुविधा उपलब्ध गराएको छ।
त्यो हो, ‘कम्पाउन्डिङ फार्मेसी ल्याब’
जसको मुख्य उद्देश्य हो, बिरामीहरुको आवश्यकता अनुसार औषधिजन्य पदार्थको उपलब्धता र पहुँच सुनिश्चित गरी उपचारका नतिजाहरुमा सुधार ल्याउनु।
भरतपुर अस्पतालको कम्पाउन्डिङ फार्मेसी ल्याब। तस्विर : कमला गुरुङ
कम्पाउन्डिङ फार्मेसी ल्याबबाट बजारमा उपलब्ध नभएका तर बिरामीको उपचारमा सहयोग हुने औषधिजन्य पदार्थहरु बनाइने भरतपुर अस्पतालका फार्मेसी विभाग प्रमुख सबिनराज लामिछाने बताउँछन्।
उनले भने, ‘यो अस्पतालको आन्तरिक क्रियाकलाप हो। आन्तरिक प्रयोगका लागि व्यावसायिक रुपमा उपलब्ध नभएका तर बिरामीको उपचारमा प्रयोग हुने औषधिजन्य पदार्थहरु यो ल्याबमा तयार पारिन्छ।’
उनका अनुसार उक्त ल्याबमा बिरामीको उपचारका क्रममा आवश्यक पर्ने विशेष औषधि बनाउनका लागि विभिन्न विधि प्रयोग गरिन्छ। डोज डायलुसन/डोज ट्यापरिङ, डोज एडजस्मेन्ट विधिबाट यस किसिमको औषधिजन्य पदार्थ तयार गरिने उनले बताए।
बिरामीलाई आवश्यक पर्ने कतिपय तोकिएको डोजको औषधि व्यावसायिक रुपमा बजारमा उपलब्ध नहुन सक्छ। सीमित डोज र मात्रामा बजारमा उपलब्ध नभएका औषधिहरु यस किसिमको ल्याबमा तयार पारिने उनले जानकारी दिए।
उनी थप स्पष्ट पार्छन्, ‘कुनै बच्चालाई ७५ एमजीको औषधि चाहियो। तर बजारमा १७५ एमजीको औषधि मात्र उपलब्ध छ भने त्यो ट्याब्लेटलाई आधा भाँचेर खाउ भन्दा अलि सहज भएन। त्यसलाई ७५ एमजीको डोज एड्जस्ट हुने गरी सोलुसनमा डायलुसन गर्न सकियो।’
यसअघि उपचारका क्रममा आवश्यक पर्ने यस किसिमको औषधि बिरामीले बाहिरबाट व्यवस्थापन गरेर ल्याउने गर्दर्थे। तर अब भने अस्पतालमै आवश्यक पर्ने औषधिजन्य पदार्थ तयार गरिने भएपछि बिरामीलाई बाहिर भौतारिनु पर्ने बाध्यता हट्ने उनले बताए।
‘बिरामीलाई आवश्यक पर्ने पदार्थ अब यही पाइने भयो।’ उनले भने, ‘अस्पताल भित्र नै पाउने वातावरण बन्यो। पहिले अन्यत्रबाट ल्याउनुपर्थ्यो।
हाल कम्पाउन्डिङ फार्मेसी ल्याबका लागि चार जना जनशक्ति व्यवस्थापन गरिएको छ। फर्मासिस्ट सूर्यबिक्रम थापालाई उक्त ल्याबको इन्जार्चको जिम्मेवारी दिइएको छ। उनीसँगै फर्मासिस्टहरु रोशन विश्वकर्मा, जयराम पाठक र रोशन गिरीलाई पनि ल्याबको जिम्मेवारी दिइएको छ। आगामी दिनमा आवश्यकता अनुसार जनशक्तिको जनसंख्यालाई बढाउन सकिने लामिछानेले जानकारी दिए।
यो सँगै अस्पतालभित्र प्रयोग हुने औषधिहरुमा समस्या तथा उत्पादन गुनासो देखिएमा पनि प्रारम्भिक रुपमा गुणस्तर यकिन गर्ने काम ल्याबमा गरिन्छ। अस्पतालभित्र हाउस किपिङका लागि आवश्यक पर्ने सामग्रीहरुमा पनि अस्पताल आफैँ निर्भर हुन सक्ने लामिछानेले बताए।
कम्पाउन्डिङ फार्मेसी ल्याबबाट हालसम्म बने १४ वटा औषधिजन्य पदार्थ
उक्त ल्याबबाट हालसम्म १४ वटा औषधिजन्य पदार्थहरु बनिसकेका छन्। रेडियोलोजी विभागमा प्रयोग हुने युएसजी जेल, छाला विभागमा प्रयोग हुने ८८ प्रतिशत फिनोल, ३० प्रतिशत ट्राइक्लोरोएसेटिक एसिड (टीसीए), ५० प्रतिशत र ७० प्रतिशत टीसीए बनेका छन्। छाला विभागमै उपचारका लागि आवश्यक पर्ने ग्लीसरिन र भेसलिन पनि बनिसकेको ल्याबले जनाएको छ।
कम्पाउन्डिङ फार्मेसी ल्याबबाट हालसम्म बनेका १४ वटा औषधिजन्य पदार्थहरु देखाउँदै फार्मेसी प्रमुख सबिनराज लामिछाने।
यस्तै, हाउस किपिङका लागि प्रयोग हुने ६ वटा पदार्थहरु बनेका छन्। ती हुन्, फिनोल, ह्याण्डवास, सेनिटाइजर, ट्वाइलेट क्लिनर, ग्लास क्लिनर र टायल क्लिनर।
सुरुवाती चरणमा भएकाले हालसम्म यी सामानहरु मात्र बनाउन सकिएको फार्मेसी प्रमुख लामिछाने बताउँछन्। आगामी दिनमा उक्त ल्याबबाट आवश्यकता अनुसार उपचारमा चाहिने औषधिजन्य पदार्थहरु बनाउँदै जाने उनले बताए।