प्रश्न: बच्चामा कानेगुजीको समस्या देखिने गर्छ। बच्चाको कानेगुजी कुन बेला सफा गर्ने? कानमा तेल हाल्नु कत्तिको ठिक?
डा योगेश न्यौपानेको उत्तर:
अधिकांश अभिभावकहरु बच्चाको कानमा कानेगुजी भएको भन्दै चिकित्सक कहाँ सफा गर्न पुग्छन्। तर कानमा कानेगुजी हुनु सामान्य कुरा हो। यसलाई सफा गरिरहनु पर्दैन। बाहिरी कानमा कानेगुजी बनाउने ग्रन्थीहरु हुन्छन्। ती ग्रन्थीहरुले कानेगुजी बनाउनुको पछाडी विभिन्न कारण छन्। बाहिरबाट आएका किराहरुलाई कानेगुजीले भित्र जानबाट रोक्छ। कुनै बाहिरी वस्तु भित्र पस्यो भने पनि कानको जालीमा असर गर्न दिँदैन।
कानमा बनेको कानेगुजी आफैँ बाहिर पनि निस्कन्छ। केही खानेकुरा खाँदा, हाइ गर्दा, बोल्दा मुख पछाडीको च्यापु चल्छ। ती च्यापुमा हुने गतिले कानेगुजी पनि आफैँ बाहिर आउँछ। त्यसैले कानेगुजीलाई सफा गर्नु पर्दैन। तर यही क्रममा धेरै अभिभावकहरुले गल्ती गर्छन्। कानेगुजी सफा गर्ने भन्दै एयर बड प्रयोग गर्दा त्यसले कानमा भएको कानेगुजी भित्र जान्छ। सफा गर्ने भन्दै एयर बडको प्रयोग गरिरहँदा कानभित्र नै कानेगुजी जम्मा हुन थाल्छ। त्यसैले अलिअलि कानेगुजी कानमा हुनु सामान्य हो भनेर बुझ्नु अति नै आवश्यक छ।
कानेगुजी कुन बेला सफा गर्ने ? – कानेगुजीले कुनै पनि समस्या निम्त्याउँदैन भन्ने पनि होइन। अवश्य पनि निम्त्याउँछ। तर समस्या निम्त्याउने विभिन्न अवस्थाहरु हुन्छन्। यदि कानेगुजीले बच्चाको सुनाईमा असर गरेमा र धेरै भरिएर संक्रमण भएमा मात्र कानेगुजी सफा गर्नुपर्छ।
कानमा तेल हाल्नु कत्तिको ठिक ? – गाउँघरमा अझै पनि अभिभावकले बालबालिकाको कानमा तेल हाल्ने गर्छन्। कानेगुजी आफैँमा तेल हुने भएकाले कानमा छुट्टै तेल हाल्नुपर्दैन। कानमा तेल हाल्दा यसले झन् समस्या निम्त्याउन सक्छ। कानमा तेल हाल्दा कानेगुजीलाई फुलाईदिन्छ। कानेगुजी फुलेपछि बच्चाहरुलाई अप्ठ्यारो हुन्छ। र, उनीहरुले कान कोट्याउन थाल्छन्। कोट्याउने क्रममा बालबालिकाले घाउ बनाएर कान दुख्न थाल्छ। तेल भएको कानमा चिसो पानी पस्यो भने फंगल संक्रमण पनि हुन्छ। फंगल संक्रमण भए कान चिलाउँछ र यसले समस्या उत्पन्न हुन्छ। त्यसैले बालबालिकाहरुको कानमा तेल नहाल्न आग्रह छ। कानेगुजीको समस्या विशेषगरी ३/४ वर्षदेखि ८/१० वर्ष उमेर समूहका बालबालिकाहरुमा बढी देखिन्छ।
(डा योगेश न्यौपाने त्रिवि शिक्षण अस्पतालमा कार्यरत छन्)