नेपाल भौगोलिकरुपमा विविधता भएको देश हो। यहाँको जनससंख्या समथल तराईदेखि उच्च पहाडी र हिमाली क्षेत्रसम्म फैलिएको छ। केही सिमित शहरलाई छाडेर हेर्ने हो भने यहाँको जनसङ्ख्या पातलो गरी फिजारिएको छ। मानव विकासको महत्त्व पूर्ण स्तम्भ स्वास्थ्यलाई केन्दमा राख्ने हो भने हामीले स्वास्थ्य सुविधा ति गाउँ गाउँसम्म पुर्यारउनुपर्छ। ताप्लेजुङदेखि दार्चुलासम्मका नागरिकको न्युनतम स्वास्थ्य सुविधा सुनिश्चित गराउन हाम्रा स्वास्थ्य संरचना र जनशक्तिको उत्पादन पनि त्यही अनुसार विकसित गर्नुपर्छ।
नेपालको जिल्ला अस्पतालमा आकस्मिक सेवादेखि आकस्मिक शल्यक्रियाका आधारस्तम्भ भनेका एमडीजीपी चिकित्सक हुन्। जुन जुन अस्पतालमा बिगतदेखि वर्तमानसम्म एमडीजीपी विज्ञता हासिल गरेका चिकित्सक छन्। ति अस्पतालले उपचारात्मक सेवामा छलाङ मारेका छन्। विभिन्न अनुसन्धानले के देखाउँछ भने सबैभन्दा बढी जिवन बचाउने मेडिकल विज्ञान भनेको जनरल प्राक्टिस र इमरजेन्सी शाखा हो।
यी दुवै शाखाका विज्ञ भनेकै एमडीजीपी डाक्टर हुन्। उनीहरु बच्चादेखि वृद्धसम्मको अधिकतम स्वास्थ्य समस्याको उपचार गर्नसक्ने ल्याकत राख्छन्। सबै स्वास्थ्य समस्यामध्ये ९० प्रतिशत समस्याको पूर्ण उपचार उनीहरूबाट नै सम्भव हुन्छ। उनीहरु आकस्मिक अवस्थामा इमरजेन्सीमा जीवन बचाउन गर्नुपर्ने कार्य जस्तैः बेसिक लाइफ सपोर्ट, एड्भान्स लाइफ सपोर्ट, कार्डियाक लाइफ सपोर्ट, ट्रामाटिक लाइफ सपोर्ट, कृतिम श्वासनली राख्ने, छातीमा पाइप राख्ने, खुस्केको जोर्निलाई तान्ने जस्ता थुप्रै कार्य गर्न सक्छन्।
त्यस्तै आकस्मिक शल्यक्रिया जस्तैः बच्चा अप्रेसन गरेर जन्माउने, एपिन्डिक्स फाल्ने, हर्निया, हाइड्रोसिल, लगायतका अप्रेसन गर्न सक्छन्। कोहि त पित्तथैली, आन्द्रा र पाठेघरका ठूला अप्रेसन गर्नसक्ने क्षमता राख्छन्।
जेनेरल प्राक्टिस अन्तर्गत सरुवा रोग जस्तै टिबी, टाइफाइड, औँलो, डेङ्गु, कालाजार, स्क्रब टाइफस, झाडापखाला लगाएत धेरै रोगको राम्रो उपचार गर्न सक्छन्। त्यस्तै नसर्ने रोगमा उच्च रक्तचाप, मधुमेह, दम, मोटोपन, थाइरोडको उपचारका साथै क्यान्सर रोगको स्क्रिनिङ गर्न सक्छन्। यी बाहेक छाती र पेटको रोग, छालाका रोग, नाक कान घाँटीका रोग, मानसिक रोग, हाडजोर्नीका रोग, महिलाका रोग, बालबालिका तथा वृद्धसम्बन्धी रोग पनि धेरैजसो उपचार गर्न सक्छन्। यिनीहरू नियमित गर्भ परीक्षण, खोप सेवा, भिडियो एक्सरे सेवा, पोषणसम्बन्धी सेवा पनि दिन सक्छन।
यो सर्वगुण सम्पन्न चिकित्सकलाई प्रत्येक जिल्ला अस्पतालका साथै आधारभुत अस्पतालमा स्थायीरुपमा पुर्याउन सकियो र उनीहरूको क्षमता अनुसार काम गर्ने वातावरण दिन सकियो भने नेपालको समग्र स्वास्थ्य सेवामा कायापलट गर्न सकिन्छ। यसको महत्त्व बुझेर केही संस्था जस्तैः निक साइमनस इन्स्टिच्युटले आफ्ना कार्यक्रम यसैको सेरफेरोमा रहेर गर्दै आएको छ। यी जनशक्ति उत्पादन गर्न उच्चशिक्षा अध्ययनका अधिकतम सिट, पढ्नेलाई प्राथमिकता र उत्तिर्ण भइसकेपछि विशेष अवसर दियो भने मात्रै धेरै चिकित्सक उत्पादन गर्न सकिन्छ। यो भयो भने धेरै नेपालीले उपचार नपाएर अकालमा ज्यान गुमाउनुपर्ने वाध्यता न्यूनीकरण गर्न सकिन्छ र मानव सूचाकङ्कमा नेपालको स्थिति सुधार्न सकिन्छ।
(डा क्षेत्री प्राथामिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा कार्यरत छन्।)