अछाम- अछाम जिल्लामा रहेको बयालपाटा अस्पताल संचालनका लागि सुदूरपश्चिम प्रदेश सरकार अन्तरगत सामाजिक विकास मन्त्रालय र न्याय हेल्थ नेपालबिच सम्झौता भएको छ।
५० शय्या रहेको अस्पतालको दीर्घकालिन व्यवस्थापनसहित संचालनका लागि प्रदेश सरकारले वार्षिक ९ करोड बजेट बिनियोजन गर्ने गरी ५ वर्षका लागि सम्झौता भएको अस्पतालका मेडिकल निर्देशक डा मन्दिप पाठकले बताए।
सामाजिक विकास मन्त्रालयका तर्फबाट वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत हेमराज खड्का र न्याय हेल्थ नेपालका तर्फबाट संस्थाका अध्यक्ष कुन्द दिक्षितले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
न्याय हेल्थ नेपालको व्यवस्थापमा सार्वजनिक निजि साझेदारी अनुसार संचालनमा रहेको बयालपाटा अस्पतालले बिगत १४ वर्षदेखि अछामसहित सुदूर तथा कर्णालीका जनतालाई निशुल्क रुपमा गुणस्तरीय सेवा दिँदै आएको छ।
५० देखि २०० शय्यासम्मका अस्पताल प्रदेश सरकार मातहत रहने नीतिअनुसार नेपाल सरकारले बयालपाटा अस्पताललाई सुदुरपश्चि मप्रदेश मातहतमा राखेको थियो। प्रदेश मातहत राखेको २ वर्ष सम्म पनि प्रदेश सरकारसँग सम्झौता हुन सकेको थिएन।
अछाम जिल्लाका सरोकारवालाको टोलीले नियमितरुपमा प्रदेश सरकार अन्र्तगतका विभिन्न मन्त्रालयसँग पटकपटक छलफल गरेपछि सामाजिक विकास मन्त्रालयले आर्थिक दायित्व लिनेगरी सम्झौता गर्न सहमत भएको बयालापाटा अस्पताल सरोकार समितिका अध्यक्ष एवं साँफेबगर नगरपालिकाका नगरप्रमुख राजेन्द्र बहादुर कुवँरले बताए।
नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार तथा विदेशी दातृ निकायको सहयोगबाट बयालपाटा अस्पताल संचालन भईरहेको थियो। अब प्रदेश सरकारले आर्थिक दायीत्व बहन गर्नेगरी सम्झौता गरेपछि अस्पताल संचालनमा सहजता आउने विश्वास गरिएको छ।