अंग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष सेप्टेम्बर २९ तारिखको दिन विश्व मुटु दिवस मनाउने गरिन्छ। विश्व मुटु महासङ्घको आह्वानमा विश्वभर यो वर्ष ‘हरेक मुटुको लागि हृदयको प्रयोग गरौँ’ अर्थात् ‘युज हार्ट फर एभ्री हार्ट’ भन्ने नाराका साथ यो दिवस मनाइदैछ। अस्वस्थकर जीवनशैलीका कारण मुटु रोग बढ्दै गएको चिकित्सकहरू बताउँछन्। विश्व मुटु दिवसको अवसरमा नर्भिक अस्पतालमा कार्यरत वरिष्ठ मुटु रोग विशेषज्ञ डा यादवकुमार देव भट्टसँग स्वास्थ्यखबरका लागि अन्शु खनालले गरेको कुराकानी:
यो वर्षको मुटु दिवसको अवधारणाको अर्थ के हो?
यो वर्षको विश्व मुटु दिवसको नारा ‘युज हार्ट फर एभ्री हार्ट’ भन्ने रहेको छ। यसको अर्थ जे काम गर्दा पनि आफ्नो हृदयदेखी नै गरौँ भन्ने हो। अङ्ग्रेजीमा ‘गिभ इट योर बेस्ट’ भने जस्तै तन मन लगाएर काम गरौँ भन्ने यसको अवधारणा हो। यो वर्ष मात्रै होइन मुटु सम्बन्धी रोगमा होस् या अन्य रोगमा होस् हृदयदेखी नै काम गर्नु पर्छ।
नेपालमा आम रूपमा देखिने मुटुका समस्याहरू के के हुन्?
नेपालमा सबैभन्दा धेरैमा देखिने आम मुटुको समस्या भनेको उच्च रक्तचाप हो। त्यस्तै, मुटुको चाल बिग्रिने, मुटुको नशाहरू बन्द हुने, हृदयाघात, मुटुको भल्भ बिग्रिने, बाथ मुटु रोग, जन्मजात मुटु रोग जस्ता रोगहरू छन्।
नेपालीहरूले रक्तचापलाई मुटुसँग सम्बन्धित रोग हो भनेर नै लिँदैनन् नि?
धेरै बिरामीहरूलाई रक्तचाप मुटुसँग सम्बन्धित रोग हो भनेर थाहा हुँदैन। जनचेतनाको कमीले गर्दा यसो भएको हो। तर रक्तचापलाई सामान्य रूपमा लिने, बिचमै औषधि छाड्ने गर्नेले अन्य मुटु रोगहरूको खतरा झन् बढ्छ।
नेपालीहरूमा एक पटक रक्तचापको औषधि खान सुरु गरेपछि सधैँ खानुपर्छ भनेर समस्या भएपनि औषधि सुरु नगर्ने बानी छ नि, त्यसलाई कसरी लिनु हुन्छ?
रक्तचापको बिरामीले औषधि खानु र आँखा कमजोर भएपछि चस्मा लगाउनु उस्तै कुरा हो। चस्मा लगाएपछि आँखा ठिक भयो भनेर फुकाल्नु र औषधि खाएपछि ब्लड प्रेसर निको भयो भनेर औषधि छाड्नु पनि उस्तै हो। चस्मा लगाउन्जेल आँखा राम्रोसँग देखिन्छ त्यही अनुसार ब्लड प्रेसर पनि औषधि खाउन्जेल कन्ट्रोलमा हुन्छ छाड्ने हो भने बढ्छ। त्यसकारण आँखा कमजोर भएपछि चस्मा लगाउनु परेको जस्तै ब्लड प्रेसरको समस्या भएपछि औषधि खानै पर्छ।
चाडपर्वमा मुटुको बिरामीले के-के कुरामा ध्यान दिनुपर्छ?
मुटुको बिरामीले चाडपर्वमा मात्रै होइन सधैँ आफ्नो जीवनशैलीमा ध्यान दिनुपर्छ। चाडपर्वको माहोलले गर्दा शारीरिक व्यायाम नगर्ने र अन्य समयको तुलनामा खानेकुरा बढी खाने, साथै चिल्लो, पिरो, बोसोयुक्त मासु जस्ता खानेकुरा खाने बानीले मानिसहरूको स्वास्थ्यमा तत्कालीन तथा दीर्घकालीन समस्या निम्तिन सक्छ। त्यसैले चाडपर्वको समयमा खानपानमा पनि विशेष ध्यान दिनुपर्छ। मुटु कमजोर छ भने पानी धेरै नखाने, झोल भएको खानेकुरा धेरै खानु हुदैंन। त्यसै गरी हृदयाघातसँग सम्बन्धित बिरामीहरूले चाडपर्वमा धेरै खाने गर्दा पनि समस्या हुन सक्छ। चाडबाड त हो नि भनेर मदिरा सेवन गर्ने, नियमित औषधि नखाने र मासु लगायत मसलायुक्त खानेकुराहरू बढी मात्रामा खाइदिने जस्ता बानीले रक्तचाप बढ्ने, मुटुको धड्कन गडबडी हुने जस्ता समस्या बढी देखिन्छ। त्यसैले आफ्नो समस्या र स्वास्थ्य स्थिति हेरेर स्वस्थ खानेकुराहरूमा जोड दिनुपर्छ।
चाडपर्व पछि कस्ता कस्ता मुटु सम्बन्धी समस्या लिएर बिरामीहरू अस्पतालमा आउँछन्?
एक पटकको खानाले मात्रै मानिसको मुटु खराब पार्ने होइन। तर लामो समयसम्म अव्यवस्थित खानपान भयो भने समस्या हुन्छ। प्राय: चाडपर्वपछि उच्च रक्तचाप, कोलेस्ट्रोल, मुटुको धड्कन सम्बन्धी समस्या लिएर मानिसहरू अस्पताल आउँछन्। त्यसैले अन्य समयमा जस्तै चाडपर्वमा पनि सबै मानिसहरू अलि बढी केयरफूल हुनुपर्छ।
भ्रूणमा मुटुको समस्या पत्ता लगाउने विधि के हो?
भ्रूणमा नै भएको बच्चामा मुटुको समस्या छ की छैन भनेर पत्ता लगाउने विधिलाई फिटल इकोकार्डियोग्राफी भनिन्छ। यो सबैभन्दा राम्रो, सजिलो र असर नहुने विधि हो। गर्भ रहेको १८ हप्ता देखि २२ हप्ताको समयमा र आवश्यकता अनुसार त्यो भन्दा पछि पनि यो जाँच गर्न सकिन्छ। यो परीक्षणबाट पेटभित्रको बच्चाको मुटुमा प्वाल छ की छैन, मुटुको बनावट, मुटुको सम्बन्धी रोगहरूको बारे जानकारी लिन सकिन्छ। यो नेपालमा २००७ बाट सुरुवात भएको हो।
जन्मजात मुटु रोग किन हुन्छ?
जन्मजात मुटु रोग ठ्याक्कै के कारणले हुन्छ भन्न सकिन्न। तर, आमाको उमेर बढी भएपछि जन्मिएका बच्चाहरूमा, आमाबुवालाई जन्मजात मुटु रोग भएका बच्चामा, समय नपुग्दै जन्मिने बच्चामा र गर्भावस्थामा पौष्टिक आहारको कमी भएका बच्चाहरूमा यसको जोखिम हुन्छ।
एक पटक हृदयाघात भइसकेको मान्छेले के-के कुरामा ध्यान दिने?
एक पटक हृदयाघात भएका व्यक्ति हुन् या मुटुका समस्या भएका व्यक्ति हुन् त्यस्ता सबै मुटुका बिरामीले सबैभन्दा बढी ध्यान दिनुपर्ने जीवनशैलीमा हो। यस्ता बिरामीले यदि चुरोट पिउनुहुन्छ भने त्यसलाई बन्द गर्नुपर्छ, मद्यपान नगर्ने, खानपिनमा धेरै चिल्लो, धेरै नुन भएको नखाने, आफ्नो मुटुको क्षमता हेरेर डाक्टरको सल्लाह अनुसार आफूले गर्ने कसरत, हिडाइहरुमा ध्यान दिने गर्नुपर्छ। साथै अर्को महत्त्वपूर्ण चिज औषधि हो। डाक्टरको सल्लाह बिना औषधि बिचमा छाड्ने गल्ती गर्नु हुँदैन।
मुटु सम्बन्धी रोग पहिचानमा व्यक्तिको के भूमिका हुन्छ?
मुटु रोग पहिचानमा सबैभन्दा मुख्य भूमिका आफ्नो हुन्छ। आफूलाई हिँड्दा अत्यधिक छाती दुखिरहेको छ, धड्कनमा गडबडी भइरहेको छ, हिँड्दा सास फेर्न गाह्रो भएको छ, दम फुल्ने, पसिना आउने, छाती भारी हुने जस्ता समस्याहरू भइरहेको छ भने तुरुन्तै अस्पताल जानु पर्छ। साथै, मुटुका दीर्घ बिरामीहरूमा यस्ता समस्याहरू देखिएमा पनि तुरुन्त अस्पताल गई हाल्नुपर्छ। र यदि मुटु रोग पहिचान भयो भने डाक्टरले भने अनुसार औषधि खाने, अस्पताल गइरहने गर्नु पर्छ।
मुटुसम्बन्धी रोग भएका बिरामी जो उपचारको पहुँचमा आउन सकेका छैनन् उनीहरूलाई अस्पतालसम्म पुग्ने वातावरण बनाउन सकारको के भूमिका हुन्छ?
सरकारले मुटुसम्बन्धी रोगहरूको बारेमा जनचेतना फैलाउने, स्कुलका बिरामीहरूलाई गएर मुटु जाँच गर्ने, मुटुसम्बन्धी रोगहरूको बारेमा बुझाउने र उपचारमा पहुँच नभएका बिरामीहरूलाई सहज वातावरण बनाउन कोसिस गर्न सक्छ। साथै, सिपिआर (कार्डियो पल्मोनरी रिससिटेसन) तालिम दिन सक्छ। यो अचेत अवस्थामा रहेका व्यक्तिको श्वासप्रश्वास फर्काउन उक्त व्यक्तिको छातीमा दुवै हातले थिच्ने र मुखबाट हावा दिएर श्वासप्रश्वास फर्काउने प्रक्रिया हो। यो तालिमलाई अनिवार्य गर्न सके कम्तीमा ५० प्रतिशत मृत्युलाई रोक्न सकिन्छ।