काठमाडौं-प्यानिक अट्याक अचानक र तीव्र डरको भावना हो। त्यस्तो अवस्थामा मानिसलाई नियन्त्रण गुमाउँदैछु, हृदयघात भएको छ वा मर्दैछु भन्नेसम्मको डर लाग्न सक्छ।
धेरै मानिसलाई आफ्नो जीवनकालमा एक वा दुई पटक प्यानिक अट्याक हुन्छ। र, त्यसलाई ट्रिगर गर्ने समस्याको समधान भएपछि प्यानिक अट्याक पनि कम हुन्छ। तर यदि कसैलाई बारम्बार प्यानिक अट्याकहरू भइरहन्छ र अर्को प्यानिक अट्याकको डरमा लामो समय बिताइरहेको छ भने त्यसलाई प्यानिक डिसअर्डर भएको हुन सक्छ।
प्यानिक अट्याक डरलाग्दो हुन्छ तर समयमा उपचार गर्ने हो भने यसलाई रोकथाम गर्न सकिन्छ। दीर्घ रोगी र महिलाहरु प्यानिक अट्याकको बढी जोखिममा हुन्छन्। एक्लोपना, उदासिनता, चिन्ता या अन्य फोबियाको कारणले पनि यस्ता अट्याकहरू आउन सक्छन्।
लक्षण
हुन त प्यानिक अट्याक एक्कासि हुन्छ। तर पनि यसमा सामान्यतया यी लक्षण देखिन्छन्ः
–खतराको भावना आउनु
–नियन्त्रण गुमाउने वा मृत्युको डर
–मुटुको धड्कन तेज हुने
–चिटचिट पसिना आउने
–शरीर काँप्ने
–श्वास फेर्न गाह्रो हुनु वा घाँटीमा केही अड्किए जस्तो हुनु
–शरीर चिसो हुनु, जाडो हुनु या गर्मी हुनु
–वाकवाकी लाग्नु
–पेट दुख्नु
–छातीको दुखाइ
–टाउको दुख्ने
–चक्कर लाग्नु वा बेहोस हुनु
–अवास्तविकताको भावना
–अत्यधिक डर
कारण
प्यानिक अट्याक ठ्याक्कै के कारणले गर्दा हुन्छ थाहा छैन। तर यी कारकहरूले भूमिका खेल्न सक्छन्ः
–वंशानुगत
–तनाव
–नकारात्मक भावना
–मस्तिष्कको काम गर्ने तरिकामा आउने परिवर्तन
पहिलो पटक प्यानिक अट्याक अचानक र चेतावनी बिना आउन सक्छ। तर समयसँगै, तिनीहरू सामान्यतया निश्चित परिस्थितिहरूबाट ट्रिगर हुन्छन्।
केही अनुसन्धानले भन्छ, शरीरको प्राकृतिक लडार्इं वा खतराको प्रतिक्रिया प्यानिक अट्याकसँग संलग्न छ। उदाहरणको लागि, एउटा बाघ तपाईंको पछाडि आयो भने, तपार्इंको शरीरले आफैँ प्रतिक्रिया दिन्छ। त्यस्तो खतरनाक अवस्थामा धड्कन र श्वासको गति बढ्छ। त्यस्तै प्रतिक्रियाहरु प्यानिक अट्याकमा पनि हुन्छ। तर कहिलेकाहीँ प्यानिक अट्याक कुनै स्पष्ट खतरा बिना नै पनि हुन सक्छ।
जोखिमका कारकहरू
प्यानिक अट्याकका लक्षणहरू प्रायः किशोरावस्थाको अन्त्यमा वा प्रारम्भिक वयस्कतामा सुरु हुन्छन् र पुरुषभन्दा बढी महिलालाई बढी हुन्छ।
यसमा जोखिम बढाउन सक्ने कारकहरू निम्न छन्ः
–प्यानिक अट्याकको पारिवारिक इतिहास
–तनाव
–प्रियजनको मृत्यु वा गम्भीर रोग
–दर्दनाक घटनाहरू, जस्तै– यौन दुव्र्यवहार वा गम्भीर दुर्घटना
–जीवनमा प्रमुख परिवर्तनहरू, जस्तै– डिभोर्स वा बच्चाको जन्म
–धूमपान वा क्याफिनको अत्यधिक सेवन
–बाल्यकालको शारीरिक वा यौन दुव्र्यवहारको इतिहास
डाक्टरलाई कहिले भेट्ने?
यदि तपाईंले प्यानिक अट्याकका लक्षणहरू महसुस गर्नुभएको छ भने छिटो डाक्टरलाई भेट्नु पर्छ। प्यानिक अट्याक आफैं व्यवस्थापन गर्न गाह्रो हुन्छ र तिनीहरू उपचार बिना झन् बढ्न सक्छन्।
प्यानिक अट्याकका लक्षण हृदयघात जस्ता अन्य गम्भीर स्वास्थ्य समस्याका लक्षणहरूसँग पनि मिल्दोजुल्दो हुन सक्छन्। त्यसैले त्यस्ता लक्षणहरू के कारणले भइरहेको छ भन्ने थाहा छैन भने सकेसम्म छिटो डाक्टरलाई भेट्नु पर्छ।
जटिलता
उपचार नगदा प्यानिक अट्याकले जीवनको लगभग हरेक क्षेत्रलाई असर गर्न सक्छ। प्यानिक अट्याक धेरै हुन थालेपछि मान्छे डराएर निरन्तर डरको स्थितिमा बस्छ। जसले उसको दैनिक जीवनमा चौतर्फी असर गर्छ।
प्यानिक अट्याक हुन सक्ने जटिलता,
–अन्य फोबियाको विकास, जस्तै– ड्राइभिङ वा आफ्नो घर छोड्ने डर
–काम वा विद्यालयमा समस्याहरू
–स्वास्थ्य चिन्ता र अन्य चिकित्सा अवस्थाहरूको लागि बारम्बार डाक्टरको आवश्यकता
–डिप्रेसन,चिन्ता र अन्य मानसिक विकारहरु
–आत्महत्या वा आत्मघाती विचारहरूको बढ्दो जोखिम
–रक्सी वा अन्य पदार्थको दुरुपयोग
–आर्थिक समस्या
रोकथाम
प्यानिक अट्याक रोक्ने कुनै निश्चित तरिका छैन। यद्यपि, तिनीहरूलाई अझ खराब हुन वा बारम्बार हुनबाट रोक्न सकेसम्म चाँडो उपचार गर्नुपर्छ। साथै, चिन्ता नगर्ने र चिन्ता कम गर्न नियमित शारीरिक गतिविधिहरू गर्ने, व्यस्त रहने कोसिस गर्नुपर्छ।
(मायो क्लिनिकबाट)