प्रश्न: बालबालिकाको घाँटीमा गिर्खा आउने समस्या किन हुन्छ?
डा योगेश न्यौपानेको उत्तर: बालबालिकाको घाँटीमा गिर्खा भेटिएको भन्दै धेरै अभिभावकहरु उपचारका लागि आउने गरेको भेटिन्छ। उपचारका लागि आएकामध्ये धेरैले एन्टीबायोटिक खाएका छन्। तर घाँटीमा गिर्खा हुनु सामान्य हो। घाँटीमा दुई सयदेखि चार सय वटासम्म गिर्खाहरु हुन्छन्। जसलाई ‘लिम्फ नोड’ भनिन्छ। यी गिर्खाहरु छाला र मासु भित्र हुन्छन्।
विभिन्न माध्यमबाट शरीर भित्र प्रवेश गरेका किटाणुहरुलाई पहिलो चरणमा प्रतिरोध गर्ने काम लिम्फ नोडले गर्छ। बच्चाहरुमा रुघाखोकी आम रुपमा हुन्छ। रुघाखोकी लागेपछि शरीर भित्र प्रवेश गरेका किटाणुलाई रोक्न यी लिम्फ नोडहरु सक्रिय हुन्छन्। किटाणुलाई प्रतिरोध गर्ने क्रममा यी लिम्फ नोड सक्रिय हुँदा फुलेर ठूलो हुन्छन्। मोटो शरीर भएका बालबालिकाहरुमा सजिलै लिम्फ नोड भेटिँदैन। तर दुब्लो र घाँटी लामो भएका बच्चाहरुमा सजिलैसँग लिम्फ नोडहरु भेटिन्छन्।
सबै लिम्फ नोड सामान्य हुन् ? – बच्चाहरुमा एक सेन्टिमिटर भन्दा ठूलो लिम्फ नोड मात्र महत्वपूर्ण हुन्छन्। रुघाखोकी लाग्दा मात्र लिम्फ नोड भेटिन्छ र रुघाखोकी निको भएपछि फेरि हराउँछ भने त्यो सामान्य हो। यसलाई उपचार गर्नु पर्दैन। तर घाँटीमा धेरै गिर्खाहरु भेटिन थाले, गिर्खाको आकार पनि ठूलो हुँदै गयो भने ‘ग्लान्ड टिबी’ हुने संभावना हुन सक्छ। तर, ग्लान्ड टिबी हुने संभावना ठूलो व्यक्तिमा भन्दा बालबालिकामा निकै कम हुन्छ।
घाँटीमा गिर्खा भेटिँदैमा आत्तिनु भने पर्दैन। घाँटीको भिडियो एक्सरे गर्ने क्रममा कुनै शंकास्पद रिपोर्ट आएर लिम्फ नोडबाट पानी निकालेर परीक्षण गरिन्छ। समस्या देखिए मात्र त्यसको आधारमा उपचार गर्नुपर्छ।