टेलिहेल्थ वा टेलिमेडिसिन जस्तै फिजियोथेरापीको सेवा प्रवाह पनि अधुनिक संचारको माध्यम जस्तै टेलिफोन, भिडियो कन्फ्रेन्स, सूचनात्मक सामाग्रीहरूको प्रसारणबाट गर्न सकिन्छ। यस्ताे विधिबाट सेवाहरू प्रसारण गर्दा उपचारात्मक विधि, अध्यापन, प्रगतिको अनुगमन, स्वास्थ्य प्रवर्द्धन लागायत विभिन्न कार्य गर्न सकिन्छ।कोभिड-१९ को संक्रमण दरलाई न्यूनिकरण गर्न देशैपिच्छे लकडाउन विषेश गरि यात्रामा प्रतिबन्धपछि स्वास्थ्य सेवा उपभोग गर्न टेलिमेडिसिनको प्रयोग ह्वात्तै बढेको भएता पनि यसको इतिहास लामो छ। बिसौं शताब्दीको पूर्वार्ध देखिनै दुईतर्फी रेडियो मार्फत सूचना प्रवाह गरिएको देखिन्छ। सन् १९६० को दशकमा स्वास्थकर्मीले टेलिफोनको सहायताले बिरामीलाई सल्लाह र निर्देशन दिएको पाइन्छ। कोभिड-१९ को माहामारीपछि नेपालमा पनि केही अस्पतालमा टेलिमेडिसिन सेवाको सुरुवात भएको छ। उदाहरणको लागि कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल), स्पाइनल इन्जुरी सेन्टर, धुलिखेल अस्पताल मा पनि टेलि मेडिसिन सेवाको सुरुवात भइ सुचारु रहेको छ। तर टेलिफिजियोथेरापी भने नेपालको सन्दर्भमा नयाँ प्रयोग हो। टेलिफिजियोथेरापी भन्नाले फिजियोथेरापी सेवाको उपलब्धता र पहुँच बढाउन विभिन्न सुचनात्मक सामाग्रीहरु र संचारको माध्यमको प्रयोग गरि यसको दायरा प्रभावकारी ढंगले बढाउने तरिका भन्ने बुझिन्छ। केहि निजी पुनर्स्थापना केन्द्र र अनलाईन पोर्टलले स्वास्थ्यकर्मीको सेवालाई अनलाईनको माध्यमले उपलब्ध बनाए पनि प्रभावकारी ढंगले उपभोक्ता समक्ष पुग्न सकेको छैन। यसको उपभोग गर्दा सेवाग्राहीको लागि मात्र नभई चिकित्सकको लागि समेत र सम्पुर्ण सेवा प्रवाह व्यवस्थालाई नै फाइदा पुग्दछ।
१.उपभोक्तालाई कसरी फाइदाजनक हुन्छ?
कुनै पनि स्वास्थ्य समस्यासम्बन्धी शिक्षा: स्वस्थ प्रवर्द्धन, रोगको निदान र त्यसले निम्त्याउने अपाङ्गतापछि पुनर्स्थापनाको महत्वपूर्ण पाटो हो। स्वास्थ्य शिक्षाको प्रयोग सरल तथा उपभोग्य किसिमले प्रवाह गर्न सकिन्छ।समयको बचत, कम आर्थिक व्ययभार, बिरामीलाई यात्रा गर्नुपर्ने झन्झटबाट मुक्ति केही प्रत्यक्ष फाइदाहरु टेलिफिजियोथेरापीबाट लिन सकिन्छ। सामान्यतया घरेलु उपाय र कसरतबाट धेरै जसो हाडजोर्नी र मांसपेशी सम्बन्धि दुखाई कम गर्न सकिन्छ। ढाड दुखाईको मात्र कुरा गर्ने हो भने ७० प्रतिशतभन्दा बढी बिरामीहरूलाई स्वास्थ्य संस्था नगईकन सामान्य सल्लाह जस्तै: निर्धक्क भएर सकृय रहने, खानपानमा ध्यान दिने, दैनिक कसरत गर्ने, बस्ने वा काम गर्ने आसनमा ध्यान दिने आदि गर्नाले समस्या निर्मुल हुन्छ। ती बिरामीहरूमा अन्य जाँच आवश्यक रहेको वा नरहेको, अन्य स्वास्थ्यकर्मीसँग परामर्श लिनुपर्ने वा नपर्ने पनि टेलिकन्सल्टेन्ट गर्ने सकिन्छ। यधपी कतिपय अवस्थामा बिरामी स्वयंले पनि आफ्नो लक्ष्यण हेरिकन मात्र चिकित्सकद्वारा निर्देशित कुरा गर्नु उपयुक्त हुन्छ। जस्तै: रक्तचाप कम भएको अवस्थामा (एक्कासी चक्कर लागेमा), मुटुको धड्कन अत्याधिक मात्रामा बढेमा धेरै कठिन कसरत हरु बन्द गर्नुपर्छ।
२. फिजियोथेरापिष्टले कसरी यसको चुस्त प्रयोग गर्न सक्छन्?
टेलि-कन्सल्टेशन गर्न सेवाग्राहीलाई मात्र नभएर सेवा प्रदायकको पनि समयको तथा भौतिक कन्सल्टेशनको निम्ति चाहिने अन्य स्रोत को पनि बचत हुन्छ। यसमा एकै ठाउँमा बसेर एक समयमा दुर्गम वा सुगममा रहेका बिरामीको सेवा गर्न सकिन्छ। फिजियोथेरापीको हकमा स्वास्थ्य सल्लाह एक महत्वपूर्ण विधि रहेकोले सेवाग्राही सँग प्रस्तुत हुने शैली, बोलिचालीको भाषा, शारीरिक हाउभाउ आदिमा विशेष ध्यान दिनुपर्छ। बिरामीले गर्नुपर्ने व्यायमको श्रव्यदृश्य वा भिडियो बनाएर पनि उपचार गर्न सकिन्छ। त्यसबाहेक बिरामिले गर्नुपर्ने र गर्न नहुने कुराहरुको टिपोट बनाइ प्रस्तुत गर्न सकिन्छ। पानि पिउने रिमाइन्डर जस्तै आसन परिवर्तनको निम्ति पनि मोवाइल एप्सको प्रयोग पनि गर्न सकिन्छ। टेलि-फिजियोथेरापि गर्दा जानकारीहरु रेकर्ड गर्न सजिलो हुन्छ। बिरामीको आवस्थाको तिब्रता, उपचारको प्रभावकारिता र सेवाग्राहीको सन्तुष्टीको मापन सजिलै गर्न र रेकर्ड पनि गर्न सकिन्छ। सरल तथा उपभोग्य उपकरण बा माध्यमको प्रयोगले यसको थप प्रभावकारिता रहनेमा दुई मत नहोला।
३. स्वास्थ सेवामा कस्तो असर पर्ला?
टेलि-फिजियोथेरापि सरसर्ती हेर्दा सरल र प्रभावकारी देखिएपनि हाम्रो जस्तो अति निम्न आय वा निम्न आय भएको देशमा यसको व्यवहारिक पक्ष त्यतिकै चुनौतीपुर्ण छ। यसले दुरदराजमा रहेका स्वास्थ्य व्यवस्थामा पक्कै पनि उल्लेखनीय भुमिका खेल्दछ। सिमित स्रोतमा धेरै सेवा प्रवाह गर्न सक्ने क्षमता भएपनि अशिक्षा, अज्ञानता, प्रविधिको उपभोग्यता आदिले पनि टेलि-फिजियोथेरापीलाई थप चुनौतीपूर्ण बनाएको देखिन्छ। टेलि -कन्सल्टेशन गर्दा गोपनियताको आवश्यकता पनि एक महत्वपूर्ण पाटो हो। बिरामी वा स्वास्थ्य स्थितिसँग सम्बन्धित जानकारी स्वास्थ्यकर्मीसँग मात्र रहने प्रावधानको सुनिश्चितता हुनुपर्दछ। समग्रमा हेर्ने हो भने, सरल प्रविधिको प्रयोग गरी साक्षर उपभोक्ता समक्ष पुग्न सक्ने हो भने निकट भविष्यमा टेलि-फिजियोथेरापि निकै आवश्यक र प्रभावकारी अभ्यास हुनेछ। हाम्रो जस्तो देशमा यस उपयोगको निम्ति समयमै सरोकारवालाको ध्यानाकर्षण हुनु निकै आवश्यक देखिन्छ।
(कंडेल वीर अस्पतालका फिजियोथेरापी यूनिट प्रमुख हुन्।)