सुदूरपश्चिम– केही दिनदेखि कैलाली, कञ्चनपुरसहितका तराईका जिल्लामा बाक्लो कुहिरो र हुस्सुसँगै चलेको शीतलहरले जनजीवन कष्टकर बनेको छ।
दिनभरि लाग्ने बाक्लो हुस्सु र कुहिरोसँगै चलेको शीतलहरले जाडो बढेपछि जनजीवन कष्टकर बनेको हो। कैलाली, कञ्चनपुरसहितका जिल्लामा लगातारको हुस्सुका कारण पछिल्ला दिनमा घाम झुल्किन नपाएर दिउँसै अँध्यारोजस्तो भइरहेको छ।
कठ्याङ्ग्रिने जाडोको सामना गरिरहेका सर्वसाधारणलाई न्यानो कपडा र आगो ताप्न दाउराको समस्या भइरहेको छ। सहरी क्षेत्रका कतिपय सार्वजनिक चोकमा दाउराको विकल्पमा काम नलाग्ने पुराना टायर र प्लाष्टिक बालेर सर्वसाधारणले आगो ताप्नुपर्ने बाध्यता छ। धनगढी उपमहानगरपालिकाका–१३ वडा कार्यालयले वडाका ज्येष्ठ नागरिकलाई न्यानो कपडा कम्बल वितरण गरिरहेको छ।
यसवर्ष विगतका वर्षको तुलनामा केही दिन ढिलोगरी चलेको शीतलहरले बढेको जाडोका कारण मजदुर, स्कुले बालबालिका, वृद्धवृद्धालाई बढी असर पारेको छ। धेरै विद्यालयले जाडोको बिदा दिए पनि कतिपय निजी विद्यालयले बालबालिकाको स्वास्थ्यमा चिसोका कारण पर्नसक्ने जोखिमको बेवास्ता गरेर अझै बिदा दिएका छैनन्।
‘पठनपाठनलाई नियमित बनाउने निजी विद्यालयबीचको अस्वस्थ प्रतिस्पर्धाले प्रतिकूल मौसममा पनि बिदा नदिने प्रवृत्ति देखिएको छ, चिसोले सबैभन्दा बढी साना बालबालिकालाई असर पुगिरहेको छ’, एक शिक्षकले भने। तराईका जिल्लामा देखिने शीतलहरको समस्याले बर्सेनि जनजीवन नराम्रोसँग प्रभावित हुने गर्छ।
पहाडी क्षेत्रका जिल्लामा पारिलो घाम लाग्दा यतिबेला तराईका जिल्ला कुहिरो र हुस्सुले ढाकेको छ। घाम झुल्किन नपाउँदा सर्वसाधारणलाई बिस्कुन सुकाउन र धोएका लुगा सुकाउनसमेत समस्या भइरहेको छ। निरन्तरको हुस्सु र कुहिराका कारण ‘भिजिविलिटी’ कम हुँदा केही दिनदेखि काठमाडौं–धनगढीको हवाई उडान प्रभावित भइरहेको छ।
दुई दिनअघि काठमाडौंबाट धनगढी उडान भरेको श्री एयरलाइन्स धावनमार्गमा अवतरण गर्न नसकी काठमाडौं फर्किएको थियो। लामो समयसम्म हुने शीतलहरका कारण देखिने डढुवा रोगले आलु, गोलभेँडा, तोरीलगायतका बाली नष्ट हुने समस्या किसानका लागि स्थायी समस्या भइसकेको छ। त्यसका कारण डढुवा रोगको प्रकोपबाट यी बाली जोगाउन तराईका किसानलाई मुश्किल हुने गरेको छ।
यो रोगबाट जोगाउन कतिपय किसानले ‘टनेल’ (पारदर्शी प्लाष्टिको छानासहितको टहरो) बनाएर त्यसमुनि गोलभेँडालगायतका तरकारी बालीको खेती गर्ने गरेका पनि छन्। टनेलको व्यवस्थापन गर्न नसक्ने कतिपयले विषादी पनि छर्किने गरेका छन्।
यस्तो विषादी प्रत्येक सात/आठ दिनको फरकमा छर्किनसकेमा मात्र बाली जोगाउन सकिने सल्लाह कृषि प्राविधिकले दिने गरेका छन्। कमजोर आर्थिक अवस्था भएका किसानलाई पटकपटक विषादी किनेर छर्किन सक्ने क्षमता नहुँदा उनीहरुलाई बाली जोगाउनै मुश्किल छ। पटक–पटक विषादी छर्किँदा उत्पादन लागत धेरै पर्ने गरेको गुनासो किसानको छ।
रातिको तापक्रम तीन डिग्री सेल्सियसभन्दा तल जाने र आद्रता बढ्न गई शीत पर्ने तथा चिसो मौसमको सुसुप्त अवस्थामा रहने ढुसी सक्रिय भई आलु, गोलभेँडालगायतका बोटमा डढुवाको सङ्क्रमण देखिने गरेको कृषि प्रविधिकको भनाइ छ।
लामो समयसम्म हुस्सु र कुहिरो लागेर धेरै चिसो मौसम भइरहँदा ओसिलो जग्गामा गरिएको आलु, गोलभेँडालगायतका बालीमा डढुवा सङ्क्रमणको समस्या हुने गरेको कृषि ज्ञानकेन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्मा बताउँछन्। ढुसीनाशक विषादी छर्केर बाली बचाउन सकिने सल्लाह प्राविधिकको छ। यसका लागि क्रिनोसिल गोल्ड, मेटाल्याक्जेल, एक्रोप्याट वा सेन्टिन नामको ढुसीनाशक विषादी प्रतिलिटर पानीमा डेढ ग्राम मिसाएर बनाइएको झोल एक हप्ताको फरकमा छर्किन सकेमा यो रोगबाट बाली बचाउन सकिने शर्मा बताउँछन्।
रोग लाग्ने सम्भावना देखिएमा भने बोटमा तोकिएको मात्रामा मेन्कोजे पाउडर पानीमा घोलर छर्किँदा डढुवाको सङ्क्रमणबाट बाली जोगाउन सकिने बताइएको छ। पछिल्ला दशकमा हिउँदे याममा डढुवा रोगको समस्या बढ्दै जाँदा कैलाली र कञ्चनपुरका ठूलो क्षेत्रफलमा गरिने तोरी बालीको क्षेत्रफल पनि घट्दै गएको छ। कैलालीको गोदावरी नगरपालिकाका किसान दुर्गा भट्टले बर्सेनि हुने डडुवा रोगकै समस्याका कारण तोरी खेती गर्न छाडेका छन्।
‘अढाइ दशकअघिसम्म आफ्नो पूरै खेतमा तोरी लगाउँथ्यौं’, उनले भने, ‘त्यसपछिका वर्षमा भने डढुवा रोगको प्रकोप देखिँदा यो बाली लगाउन छाड्नुपर्यो।’ अढाइ दशकयतादेखि हिउँदे याममा विभिन्न बालीमा डढुवा रोगको समस्या देखिन थालेको उनको अनुभव छ। तोरीलगायतका बालीको विकल्पमा पछिल्ला वर्षमा धेरै किसानले धान र गहुँखेती गरेर चित्त बुझाइरहेको उनले बताए।
कृषि ज्ञान केन्द्रका प्रमुख शर्मा तोरी बालीको क्षेत्रफल पहिलेको तुलनामा घट्नुमा मौसममा आएको परिवर्तनसँगै देखिने डढुवा रोगको समस्या पनि कारण रहेको स्वीकार्छन्। अहिलेको चिसो मौसममा सकभर एउटै कोठामा धेरै व्यक्ति नबस्न, चिसोबाट जोगिने उपाय अपनाउन र खाने कुरामा पनि ध्यान दिनुपर्ने सल्लाह चिकित्सकको छ।
पछिल्लो हप्तामा यस क्षेत्रमा न्यूनतम तापक्रम निरन्तर घट्दै गएको जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयले जनाएको छ। रासस