म सन् २००५ देखि सुदूरपश्चिमको स्वास्थ्य सेवामा आवद्ध छु। मैले उक्त क्षेत्रम सेवा दिन थालेको अठार वर्ष पुगिसकेको छ। अहिले म नेपाल सरकारको दशौँ तहको कर्मचारी हुँ। बिगत चार वर्षदेखि सेती प्रादेशिक अस्पतालमा सेवा दिईरहेको छु। त्यहाँको प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र पनि मैले हेरिरहेको छु। मैले २०६१ सालमा सुदूरपश्चिममामा निजी स्रोतबाट संचालन हुने अस्पताल सुरु गरेको थिएँ। त्यो समय देशमा जनआन्दोलन चलिरहेको थियो। त्यहाँ निजी स्रोतबाट व्यवसायहरु चल्न सक्ने अवस्था थिएन्। मैले त्यस्तो अवस्थामा पहिलो निजी अस्पताल खोलें। बिगत १८ वर्षमा उक्त अस्पताल १०० शय्यामा रुपान्तरण भइसकेको छ। सोहि अस्पतालले विभिन्न शैक्षिक कार्यक्रमहरु पनि चलाइरहेको छ। त्यस संस्थामा प्रत्यक्ष रुपमा १४० जनाले रोजगार पाइरहेका छन्। मैले समाजलाई गर्नुपर्ने कुराहरु त्यहाँ बसेर गरिरहेको छु। मेरो आफ्नो विज्ञता भने रेडियोलोजी हो।
मैले मेडिकल क्षेत्रमा यसअघि केके भए भन्ने विषय राम्रोसँग देखेको छु। नेपाली समाजमा चिकित्सकहरु किन खुसी छैनन्, किन अफ्ट्यारो महशूस गरिरहेका छन्, किन चिकित्सकहरु विदेशिनु पर्ने वाध्यता छ? किनकी नेपालमा चिकित्सकहरुले काम गर्ने राम्रो वातवरण भेटाउन सकेनन्। सरकारी सेवामा एकदमै न्युनतम पारिश्रमिक छ। त्यो पारिश्रमिकले एउटा परिवार पाल्न सक्दैन। त्यसकारण आफ्नो सम्मान खोज्दै, आफ्नो जीविकोपार्जन गर्न, बालबच्चाको भविष्य सुनिश्चित गर्नको लागि यत्रो समय खर्च गरेर पढेर पनि चिकित्सकहरुको मासिक तलब ४५ हजार मात्रै छ, त्यसलाई परिवर्तन गर्नुपर्छ। नेपाल सरकारको जुन नीति छ, त्यसलाई छुट्टै बनाउनुपर्छ।
म डाक्टर सन्तोषको टिमबाट उपाध्यक्षको उम्मेद्वार हो। हामी अहिलेसम्म मौका नपाएको टिम पनि हो। नेपाल मेडिकल एसोसिएसनमा एकछत्र कुनै अमुक पार्टीको राज छ। संसारमा कहीं पनि यस्तो हुदैन्।
एसोसिएसनमा चुनाव जित्दै गर्दा हामीले स्वयंमसेवकको रुपमा काम गर्ने हो। त्यहाँबाट हामीले कुनै पारिश्रमिक लिन मिल्दैन। स्वयंमसेवा गर्न तब मन लाग्छ जब मान्छेले समाजलाई परिवर्तन गर्ने कल्पना गर्छ। त्यो हिसाबले मैले उम्मेद्वारी दिएको हुँ। मैले समग्रमा नेपालकै स्वास्थ्य बुझेको छु। अहिले असुरक्षित महसुस गरिरहेका चिकित्सकहरुको समस्या कम गर्न सक्छु। बिगतमा पनि सरकारले गरेका अवैज्ञानिक निर्णयको विरुद्धमा हामीले निरन्तर खबरदारी गरेका थियौं। म अहिले नेपाल सरकारको जिम्मेवार पदमा कार्यरत छु। भोलि गएर हाम्रा चिकित्सकलाई यो भएन भनेर भन्न सक्छु। मैले आफ्नो निजी संस्था संचालन गरेकाले निजी र सरकारी दुवै क्षेत्रको संगसंगै मिलाएर लग्न सक्ने क्षमता छ। मैले काठमाडौँमा बसेर पनि लामो समय सेवा गरें, त्यो हुनाले मैले काठमाडौँको वेतिथि पनि देखेको छु।
चिकित्सकहरुको चुनाव यति लामो भइसक्यो। माघको पहिलो हप्तादेखि सुरु भएको निर्वाचन काठमाडौँमा हुन बाँकी नै छ। डाक्टरहरु भनेको बिरामी हेर्ने, सेवा गर्ने क्षेत्र हो। यो निर्वाचनलाई अनलाईन गर्न पनि सकिन्थ्यो नि। यति लामो समयदेखि एसोसिएसन कब्जा हानिरहेको अमुक समुहले अनलाईन भोटिङ किन गराएनन्? कुरा स्पस्ट छ, अनलाइन भोटिङ गर्दै गर्दा नयाँ परिवर्तन आउछ। नयाँ अनुहार आउँछन्। पुराना मान्छेहरु फ्यालिन्छन्। यदी हाम्रो टिमले जित्यो भने हामी अनलाइन भोटिङको व्यवस्था गराउने छौँ। कोहि चिकित्सकहरु बिरामीलाई बिचल्ली पारेर भोट हाल्न जाने दिन आउने छैन। चिकित्सकहरुको चुनाव यस्तो हुनु हुन्न भन्ने मेरो सोच छ। हाम्रो समुह भनेको अहिलेसम्म मौका नपाएको समुह हो। हामीले प्रशासन तहमा बसेर काम गरेका छौँ। हामीले समस्या कहाँ छ र त्यसको समाधान कसरी गर्ने भनेर राम्रोसंग बुझेका छौँ। हाम्रो चिकित्सक साथीहरुले हाम्रो उम्मेद्वारी अनुमोदन गरेको खण्डमा सबैभन्दा पहिले हामी मेम्बरसिप ड्राइभ गर्नेछौं। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका ३३ हजार चिकित्सक छन्। नेपाल मेडिकल एसोसिएसनमा जम्मा १२ हजार मात्रै सदस्य छन्। यो भनेको त एक तिहाई मात्रै सङ्ख्या हो। एसोसिएसनको ७२ वर्षको इतिहासमा जम्माजम्मी १२ हजार मात्रै मेम्बरसिप ड्राईभ गर्नु भनेको नालायकीपनको पनि हद हो। त्यसकारण हामी काउन्सिलको दर्ता हुनेबित्तिकै हामी एसोसिएसनको स्वत: नि:शुल्क सदस्यता प्रदान गर्ने छौँ।
चिकित्सकहरुको पारिश्रमिक एकदमै न्यून छ। पारिश्रमिक बढाइ दे भनेर नक्कली नारा या झुटो आश्वासन दिदैंनौं। त्यसका लागि हामीले छुट्टै चिकित्सा सेवा ऐनको परिकल्पना गरेका छौँ। त्यो डाक्टरहरुको समुहहरुको ल्याईएको छुट्टै कानुन हो। डाक्टर भनेको निजामती कर्मचारी जस्तो होइन। जतिबेला जे पनि पर्न सक्छ। डाक्टर जीवन मरणको खेलमा छ। जीवन बचाउने, रक्षा गर्ने खेलमा छ। चिकित्सा क्षेत्रलाई विशिष्टीकृत भनेर राज्यले घोषणा गर्नुपर्छ। त्यसलाई शब्दमा मात्रै सिमित राखेर हुँदैन, कानुन नै छुट्टै बनाउनु पर्छ। त्यो ऐनमा हामी डाक्टरहरुका सबै खाले समस्याहरुको सम्बोधन गर्ने छौँ।
अर्को भनेको देशभरि ७५३ वटा पालिकाहरु छन्। राज्यले हरेक पालिकाबाट आधारभूत स्वास्थ्य सेवा दिने भनेको छ। त्यहाँ पनि डाक्टरको सिट बनाउने सोचेका छौँ। हामीले त्यसो गर्दा दश हजार डाक्टरलाई सरकारबाट सम्बोधन गर्न सक्छौं। अहिलेसम्म देशभरी १४ सय चिकित्सक मात्रै सरकारी सेवामा आवद्द छन्। हामी लोकसेवाको दरबन्दी पनि खोल्न दबाब दिनेछौँ।
स्वास्थ्यमा राज्यले लगानी गर्नुपर्छ। लगानी गर्दा करारमा लिएर होइन की स्थायी दरबन्दी खुलाउनु पर्छ। यसलै हामीले तलबदेखि, डाक्टरहरुलाई रोजगारी सिर्जना गर्ने र नेपालमै बस्ने वातवरण सिर्जना गर्दै छौँ। नेपाल मेडिकल एसोसिएसनमा लामो समयदेखि उही शैलीका मान्छेहरु मात्रै छन्। नयाँ काम गर्न सक्ने मान्छेहरु आएर परिवर्तन गर्न जरुरी छ। त्यो शैलीलाई चिरेर परिवर्तन गर्न पनि हाम्रो उम्मेद्वारी हो। चिकित्सक भनेको बुद्दिजिबि, पढेलेखेको वर्ग हो त्यसकारण हाम्रो उम्मेद्वारी अनुमोदन हुन्छ होला भन्ने आशा लिएको छौँ।
विगतका निर्वाचन हेर्दा चिकित्सकहरुले अन्धभक्त (ब्लाइन्डली) भएर भोटिङ गरेको जस्तो देखिन्छ। निर्वाचन एक प्रकारको राजनीति पनि हो र चिकित्सकले राजनीति गर्नु कुनै अपराध होइन्। राज्यको बारेमा जानकरी लिने, नीति बनाउने, प्रशासनलाई घच्घच्याउने ठाउँमा , राज्यलाई दबाब दिनुपर्ने ठाउँमा राजनीति चाहिन्छ। म घरमै बस्छु भात दाल खान्छु, राजनीति गर्दिनँ भनेर र आफ्नो मुद्दा सम्बोधन हुँदैन्। नेपाल मेडिकल एसोसिएसन पेशागत संघठन हो। यसले चिकित्सकहरुको हकहितको लागि काम गर्छ। हरेक तीन वर्षमा यसको निर्वाचन हुन्छ। त्यसकारण अहिलेको निर्वाचनमा मतदान गर्ने चिकित्सक साथीहरुलाई ब्लाइन्डली भोट नगर्न अनुरोध गर्छु। उमेद्वार चिन्नुहोस, बोल्न सक्ने मान्छे हो या होइन् थाहा पाउनुहोस्, बोलेर मात्रै पनि भएन, काम गर्न सक्ने मान्छे हो या होइन बुझ्नुहोस्। तपाईं तरकारी या फलफुल किन्न जाँदा राम्रोसँग केलाएर हेर्नुहुन्छ भने डाक्टरहरुको तीन वर्षमा हुने निर्वाचनमा अजेण्डा नबुझी भोट हाल्नु हुन्छ?
त्यसकारण उम्मेद्वार चिनेर, उनीहरुको कार्यकौशलता बुझेर, इतिहास हेरेर, एजेन्डा हेरेर, नीति नियममा बसेर चिकित्सकहरुको समस्या सम्बोधन गर्न सक्ने उम्मेद्वारलाई भोट गर्नुहोस्। आँखा बन्द गरेर होइन, आँखा खोलेर उम्मेद्वार चिनेर, परिवर्तनको पक्षमा भोट गर्नुहोला भन्न चाहान्छु।