काठमाडौं- राष्ट्रिय ट्रमा सेन्टरका डाक्टर जनिथ सिंहमाथि आक्रमण भएपछि दोषि माथि कारबाहीको माग गर्दै विरोधमा उत्रेका वीर अस्पतालका डाक्टर जफिर आलम माथि पनि प्रहरीले आक्रमण गरेको छ। सो क्रममा डा आलम पनि घाइते भएका छन्।
डा सिंहमाथि आक्रमण भएको केही समयपछि डा आलम माथि पनि आक्रमण भएको हो। प्रहरीले आफ्नो टाउकोमा र पेटमा लाठीले हानेको आलमले बताए।
डा आलमको ट्रमा सेन्टरको आकस्मिक कक्षमा उपचार भइरहेको छ। आक्रमणकारीले लाठीले हान्नुका साथै आफ्नो कार्ड, पर्स, मोबाइल र औंठी समेत लगेको उनले जानकारी दिए।
'डा जनिथमाथि आक्रमण भएपछि हामीले दोषि माथि कारबाहीको माग गरेका थियौं। प्रहरीले चिकित्सकमाथि गरेको दमनको विरोध गरेका हौं। तर त्यही बेला म सँगै अरु साथी माथि पनि आक्रमण भयो। मेरो टाउकोमा र पेटमा लाठीले हानिएको छ। असाध्यै दुखिरहेको छ। ती प्रहरीले मेरो कार्ड, मोबाइल, पर्स र औंठी समेत लगेका छन्।'
उनले दोषिलाई कडाभन्दा कडा कारबाही गर्न माग गरे।
डा आलमको मोबाइल, पर्स, औंठी र कार्ड लगिएको विषयमा प्रहरीका एसएसपी दानबहादुर कार्कीलाई चिकित्सकहरुले जानकारी गराएका छन्। एसएसपी कार्कीले दोषिलाई कारबाहीसँगै उक्त विषयमा सिसिटिभी फुटेज हेरेर थप प्रक्रिया अगाडि बढाइने जानकारी दिएका छन्।
शुक्रबार अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीको यात्राको क्रममा सुरक्षामा खटिएका प्रहरीको लाठी चार्जबाट उनीहरु घाइते भएका हुन्।
संघीय संसदको संयुक्त सदनलाई सम्बोधन गरेर राष्ट्रपति भण्डारी फर्कने क्रममा वीर अस्पताल बाहिर हिँडिरहेका चिकित्सक सिंह र त्यसपछि डा आलमलाई त्यहाँ सुरक्षामा खटिएका प्रहरीले लाठी चार्ज गरेका थिए।
यो पनि
प्रहरीको आक्रमणबाट घाइते डा जनिथ भन्छन्- कार्ड खोसेर टाउकोमा लाठीले हाने
प्रत्यक्षदर्शी बस्नेत भन्छन्- डाक्टरलाई आक्रमण गर्ने प्रहरीले मदिरा पिएका थिए