विश्व क्षयरोग दिवस 'हामी क्षयरोग अन्त्य गर्छाैंं' भन्ने नाराका साथ आज मनाइँदै छ। विश्वव्यापी रुपमा क्षयरोग नियन्त्रणको प्रतिबद्धता बमोजिम क्षयरोग अन्त्य गर्नका लागि समुदायस्तरमै व्यापक जनचेतना अभिबृद्धिमा जोड दिन यो दिवस मनाइन्छ। खास गरेर सन् २०१९ देखि विश्वभर फैलिएको कोरोना भाइरस संक्रमण (कोभिड– १९) लाई मध्यनजर गरी समुदायस्तरमा जनचेतना अभिबृद्धि गरी क्षयरोग अन्त्य गर्ने लक्ष हासिल गर्ने अचुक उपायका रुपमा विश्व स्वास्थ्य संगठनको विश्वव्यापी स्वास्थ्य कभरेज सुनिश्चित गर्दै यस वर्षको विश्व क्षयरोग दिवसको नाराले उच्चस्तरमै नेतृत्व एवम् लगानी अभिबृद्धि गरी क्षयरोगजस्तो घातक संक्रमणका कारण विश्वभरका समुदायस्तरसम्मको स्वास्थ्य, सामाजिक तथा आर्थिक प्रतिकूल असरलाई निर्मुल गर्न सकिने आशालाई सार्थक पार्न आव्हान गरेको छ।
विश्व क्षयरोग दिवसको उद्देश्य
महामारीका रुपमा फैलिएको क्षयरोगलाई विश्वबाटै अन्त्य गर्न लगानी बृद्धि गरी बहुआयामिक समन्वय र सहकार्यबाट जनचेतना अभिबृद्धि गरी समुदायस्तरको दयनीय स्वास्थ्य, सामाजिक तथा आर्थिक प्रतिकूल असरलाई निर्मुल गर्न माथिल्लो तहदेखि गरिएका प्रतिवद्धतालाई सार्थक पार्ने प्रयास गर्नु हो।
क्षयरोगको इतिहास
सन् १८८२ मा डा रबर्ट कोच नामक वैज्ञानिकले ‘माइकोव्याक्टेरियम ट्युबरकुल’ नामक किटाणुबाट क्षयरोग लाग्ने तथ्य पत्ता लगाएका हुन्। त्यसकारण क्षयरोगका जिवाणुलाई ‘कोच ब्यासिलस’ पनि भनिन्छ। सन् १९८२ मा क्षयरोग तथा फोक्सोसम्बन्धि रोग विरुद्धको अन्तर्राष्ट्रिय संघको १००औं वर्षगाँठमा रबर्ट कोचको प्रस्तुतीकरण बमोजिम हरेक वर्ष २४ मार्चका दिन विश्व क्षयरोग दिवसको रुपमा मनाउने औपचारिक घोषणा गरियो। त्यसैलाई आत्मसात गर्दै विश्व स्वास्थ्य संगठनद्वारा क्षयरोगलाई सधैंका लागि अन्त्य गर्ने नाराकासाथ विश्व क्षयरोग दिवस मनाउन थालियो। उनले क्षयरोगको समयमै निदान र उपचार गरे निको हुने तथ्यसमेत घोषणा गरेका हुन्।
वर्तमान अवस्था
विश्वभरको सवभन्दा बढी जनसंख्यालाई संक्रमण गर्ने क्षयरोगले वर्षेनी एक करोड भन्दा बढी व्यक्ति संक्रमित गर्छ भने् एकलाख पचास हजारभन्दा बढीको मृत्यु हुने गरेको छ। विश्वव्यापी क्षयरोगीको संख्यामध्ये झण्डै पचास प्रतिशत दक्षिण पूर्वी एशियामा वसोवास गर्छन् भने विश्वव्यापी क्षयरोगको उच्च समस्या भएका छवटा यसै क्षेत्रका वंगलादेश, कोरिया, भारत, इन्डोनेशिया, म्यानमा तथा थाइलैण्ड पर्छन् भने बहु–औषधि प्रतिरोध क्षमता ह्रास भएका (मल्टी ड्रग रेसिस्टेण्ट) क्षयरोगीको समस्यामा भने नेपालले यस क्षेत्रकै मुलुकलाई माथ गरेको छ। विश्व स्वास्थ्य संगठनको २०२१ को प्रतिवेदन अनुसार दक्षिण पूर्वी एशियाका विश्वको जनसंख्यामध्ये ४३ प्रतिशतमा क्षयरोगको समस्या देखिएको छ। सन् २०१५ देखि क्षयरोग संक्रमणको अवस्था उँभो लाग्दो छ।
विश्व स्वास्थ्य संगठनले नेपालमा सवै प्रकारका १ लाख १७ हजार क्षयरोगी भएको र नयाँ तथा छिपेका गरी ६९ हजार भएको अनुमान गरेको छ। स्वास्थ्य सेवा विभागको २०७७/७८ को प्रतिवेदन अनुसार नेपालका क्षयरोगबाट ६९ हजारभन्दा बढी व्यक्ति संक्रमित हुने अनुमान गरिएको थियो। राष्ट्रिय क्षयरोग कार्यक्रममा २८ हजार ६ सय ७७ जना दर्ता भएका थिए, तीमध्ये ९८ प्रतिशत नयाँ तथा छिपेका क्षयरोगी पाइए। सवै प्रकारका क्षयरोगीमध्ये ७०.५ प्रतिशत फोक्सोको क्षयरोगी पाइए। तीमध्ये ८०.४ प्रतिशत निश्चित निदान गरिए। नेपालमा ६२ प्रतिशत पुरुष र ३२ प्रतिशत महिला क्षयरोगबाट संक्रमित भएका थिए भने ४८ प्रतिशत क्षयरोगी १५ देखि ४४ वर्ष उमेर समूहका छन् भने झण्डै ७ प्रतिशत बालबालिका थिए। क्षयरोग नेपालको प्रमुख जनस्वास्थ्य समस्याका रुपमा रहेको क्षयरोग मृत्युका दश कारणमध्ये एक भएको छ। मुलुकमा ४ हजार ९ सय ५५ परीक्षण तथा उपचार केन्द्र सेवारत छन्। क्षयरोग तथा एचआइभीबाट संक्रमित भएका व्यक्तिमा प्रतिजैविक औषधिको निष्प्रभाव (ड्रग रेसिस्टेण्ट) काकारण बढी मृत्यु हुने गर्दछ, उपचार सफलता दर ९१ प्रतिशत छ।
क्षयरोग माइकोव्याक्टेरियम ट्युबरकुलोसिस नामक किटाणुवाट अत्यन्त छिटो सर्ने रोग हो। क्षयरोग प्रमुख जनस्वास्थ्य समस्याको रुपमा रहेको छ। यसले मृत्युको मुखमा पुर्याउन सक्ने भएतापनि समयमै निदान र पूरा अवधिसम्म उपचार गरेमा निको हुने रोग हो। क्षयरोगले जुनसुकै उमेरका व्यक्तिलाई र रोगसंग लड्ने क्षमता कम भएकालाई सजिलै आक्रमण गर्दछ। क्षयरोग लागेका विरामीलाई एचआईभीबाट सजिलै संक्रमण हुन सक्छ। परिणाम स्वरुप निको हुन गाह्रो हुनुकासाथै अकाल मृत्युसमेत हुन्छ।
क्षयरोग सर्ने तरीका
स्वस्थ्य व्यक्तिसंग संगै वस्दा श्वास–प्रश्वास गर्दा, खोक्दा, हाच्छ्युँ गर्दा, जहाँ पायो थुक्दा, बोलचाल गर्दा हवामा फैलिएका क्षयरोगका जिवाणु हवाका माध्यमवाट स्वस्थ्य व्यक्तिमा प्रवेश गरेमा क्षयरोग सर्दछ।
चिन्ह र लक्षणहरु
दुइ हप्ता भन्दा बढी समयसम्म खोकी लाग्नु।
ज्वरो (साँझपख बढी) आउनु।
खकारमा रगत वा रगतका छीटा निस्कनु।
खान मन नलाग्नु, विना कारण शरीरको तौल घट्नु।
कमजोरी हुनु।
रातीमा पसिना आउनु।
छाती दुःख्नु।
उपचार नभए मृत्यु समेत हुनु।
रोकथाम तथा नियन्त्रण
कुनैपनि सूर्तिजन्य पदार्थ, हानिकारक मदिरा, लागुपदार्थ सेवन नगर्ने, सुरु गरेको भए तुरुन्तै छोड्ने।
शिशु जन्मनासाथ सकेसम्म चाँडै (एकवर्षभित्रै) बिसिजी खोप दिने।
दुई हप्ता भन्दा लामो समयसम्म खोकी र ज्वरो आएमा नजिकको स्वास्थ्य संस्थामा निशुल्क हुने परीक्षण र उपचार गर्ने र स्वास्थ्यकर्मीको परामर्शमा नियमितरुपमा नविराइकन ६ देखि ८/९ महिनासम्म नियमित रुपमा निःशुल्क उपचार गर्ने।
औषधि सेवन शुरु गरेपछि पनि स्वास्थ्यकर्मीको सल्लाह अनुसार समय–समयमा परीक्षण गर्ने।
स्वस्थ जीवनका लागि क्षयरोगीले अनिवार्यरुपमा एच.आई.भी.परीक्षण गर्ने र एच.आई.भी संक्रमितले अनिवार्यरुपमा क्षयरोगको परीक्षण गर्ने।
क्षयरोगका विरामीलाई घरपरिवार, आफन्त वा स्याहारकर्ताले राम्रोसंग स्याहार, मायाँ–ममता र सरसफाईमा ध्यान दिने।
क्षयरोगको उपचार
स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानी(डट्स) पद्घतिका निशुल्क प्राप्त हुने औषधि सेवन गर्न सुरुगर्ने। नियमितरुपमा बीचमा नछुटाईकन ६ देखि ८÷९ महिनासम्म सेवन गरेमा क्षयरोग पूर्णरुपमा निको हुन्छ। घरवाट टाढा जानु परेमापनि औषधि लिएर गई सेवन शुरु गरेपछि विरामीलाई आराम हुदै जान्छ,तर विचैमा औषधि खान छोड्नु हुदैन। स्वास्थ्यकर्मीको सल्लाह अनुसार क्षयरोगको औषधिसंगै अन्य रोगका औषधि सेवन गर्न सकिन्छ।
क्षयरोग नियन्त्रणमा समस्या
मुलुकको साक्षरता दर कम छ। शंका लाग्नासाथ नजिकको स्वास्थ्य संस्थामा निःशुल्क परीक्षण र उपचार गरे निको हुने सन्देश पाउन सकेका छैनन्। उत्पादनशील उमेर समूह (१५–४४ वर्ष) का युवा जनशक्ति क्षयरोग संक्रमित छन्। सन् २०२० मा विश्व स्वास्थ्य संगठनले गरेको क्षयरोग निर्मुलको प्रतिवद्धता कार्यान्वय भएको छैन। क्षयरोगका विरामी–मैत्री क्षयरोग उपचार केन्द्रको अभाव छ। शंकास्पद क्षयरोगीको निदान र उपचारमा सेवा केन्द्र पर्याप्त छैनन्। स्वास्थ्यकर्मीहरुलाई क्षयरोग व्यवस्थापन तालिमको खाँचो छ। क्षयरोगको परीक्षण र उपचारबारे समुदायस्तरसम्म जनचेतना जगाउन सकिएको छैन। संघीय–प्रादेशिक अस्पतालबीच समन्वयको अभाव छ। सूर्तिजन्य पदार्थको नियन्त्रण तथा नियमनमा अपेक्षित ध्यान दिइएको छैन। अझैपनि सामाजिक अपहेलनाको डरले क्षयरोगको समयमा परीक्षण गराउँदैनन्।
संंगठनात्मक संरचना र कार्यक्रम: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगत राष्ट्रिय क्षयरोग केन्द्रको स्थापना गरी कार्य सञ्चालन गरिएको छ। दक्षिण एशियाली राष्ट्रहरुको सहयोग संगठनस्तरीय क्षयरोग नियन्त्रणमा सेवारत छ। तर समुदायस्तरसम्म डट्स केन्द्र पर्याप्त स्थापना गर्न सकिएको छैन। प्रत्यक्ष निगरानीमा गरिने उपचार (डट्स) केन्द्र पर्याप्त छैनन्, राजनैतिक प्रतिवद्धता कम छ।
जनचेतनाको कमी: स्वास्थ्यशिक्षा, सुचना तथा सञ्चार कार्यक्रम मार्फत अधिराज्यका अधिकांश शंकास्पद विरामीले निशुल्क परीक्षण तथा उपचार सुविधा पाउन सकिने अर्थात समुदायसम्म व्यापक रुपमा जनचेतना पुर्याउन सकिएको छैन।
क्षयरोगको औषधिमाथी निष्प्रभाव (मल्टी ड्रग रेसिष्टेण्ट टिबी): क्षयरोग नियन्त्रणमा मल्टी ड्रग रेसिष्टेण्ट ठूलो चुनौती हो। किनभने वर्षेनी १ हजार ५ सयभन्दा बढी बहुऔषधि प्रतिरोधक क्षयरोगीको उपचारमा दिइने रिफाम्पिसिन,आइसोनियाजाईड, पाईरिजिनामाइड र ईथाम्बुटोल गरी ४ किसिमका औषधि मध्ये रिफाम्पिसिन र आइसोनियाजाईड कम्तीमा दुई किसिमका औषधिमाथी क्षयरोगका जिवाणुले प्रतिरोध ह्रास पैदा गरेमा निको पार्न मुश्किल पर्छ।
क्षयरोग र एचआईभी: नेपालमा क्षयरोग र एचआईभीसँगै संक्रमण तथा मृत्यु समस्या बढ्दै गईरहेको छ। क्षयरोग र एच.आई.भी संक्रमितमा रोगसंग लड्नसक्ने क्षमता घट्दै जान्छ र जुनसुकै रोगले पनि सजिलै संक्रमण गर्न सक्दछ। त्यसकारण क्षयरोगीलाई एच.आई.भी.संक्रमण हुन गएमा र एच.आई.भी. संक्रमितलाई क्षयरोगको भएमा व्यक्तिको शारीरिक, आर्थिक, पारिवारिक र सामाजिक अवस्था समेत नाजुक वन्दछ। एच.आई.भी. संक्रमित व्यक्तिहरुमा क्षयरोगको संक्रमण हुने दर १० % भन्दा बढी हुन्छ।
क्षयरोगको सर्वेक्षण: क्षयरोगका नयाँ विरामीको पहिचान गर्न, उपचार शुरु गरी नियमित गर्न र उपचारमा रहेका विरामीलाई पूरा औषधि सेवनमा परामर्श दिन सकिएको छैन भने नयाँ र छिपेर वसेका क्षयरोगीको व्यापक खोजपडताल तथा उपचार हुन सकेको छैन।
क्षयरोगको सफल उपचार: नेपाल सरकारले निःशुल्क वितरण गरिएका औषधि नियमित सेवन गरेकामध्ये ९१ प्रतिशत मात्र क्षयरोगको सफल उपचार दर छ। उता मल्टिड्रग रेसिस्टेण्ट क्षयरोगीका कारणले पनि प्रभावकारी उपचारमा समस्या छ।
क्षयरोगीको व्यवस्थापनः क्षयरोगीलाई नियमित र पूरा अवधिसम्म औषधि खानु पर्ने, घर वाहिर कतै जानु पर्दा औषधि लिएर जानु पर्ने, पोषिलो खानेकुरा खानुपर्नेजस्ता कुरामा राम्ररी परामर्श, स्वास्थ्य प्रवर्धन गरिएको पाइदैन। क्षयरोग नियन्त्रण कार्यक्रममा स्वास्थ्य प्रणाली लगायत समुदायस्तरसम्म अभिमूखीकरण र तालिम, शंकास्पद क्षयरोगीको परीक्षण, परामर्श तथा उपचार व्यवस्थापनमा कमी देखिन्छ।
सुपरिवेक्षण तथा अनुगमनः क्षयरोग नियन्त्रण कार्यक्रममा सुपरिवेक्षण तथा अनुगमन अत्यन्त फितलो भएकोले खोजपडताल,परामर्श, परीक्षण र उपचार गुणस्तरीय बन्न सकेको छैन।
क्षयरोग अन्त्य गर्न स्वास्थ्य प्रबर्धन
दुई हप्तासम्म खोकी र ज्वरो आएमा समयमै नजिकको स्वास्थ्य संस्थामा परीक्षण, निदान र उपचार गर्न जान स्वास्थ्य शिक्षा सन्देश प्रवाह गरी जनचेतना जगाउने।
समुदायस्तरसम्म स्वास्थ्यकर्मीको परामर्शमा निःशुल्क परीक्षण, परामर्श र नियमितरुपमा पूर्ण अवधि (६ देखि ८-९ महिना)सम्म औषधि सेवन गरेमा पूर्णरुपेण निको हुनेबारे अन्तरक्रिया र पैरबी गर्ने।
सूर्तिजन्य पदार्थ, लागु पदार्थ वा मादकपदार्थ सेवन नगर्ने, यदि सेवन गरेको भएमा तुरुन्तै छोडिदिन प्रोत्साहन गर्ने।
क्षयरोगीले अनिवार्यरुपमा एच.आई.भी.परीक्षण गर्नु पर्ने र एच.आई.भी संक्रमितले अनिवार्यरुपमा क्षयरोगको परीक्षण गर्नु पर्नेमा जोड दिने। यदि एच.आई.भी. संक्रमण भए एच.आई.भी.÷एड्स र क्षयरोगको औषधि संगसंगै खान परामर्श दिने।
समयमै परीक्षण, परामर्श र औषधि सेवन गर्नेबारे विभिन्न सञ्चार माध्यम स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार माध्यमबाट व्यापक जनचेतना अभिबृद्धि गर्ने।
केन्द्रमा मनाइने क्षयरोग दिवस हरेक स्वास्थ्य संस्थालगायत समुदायस्तरसम्म मनाउने।
समुदायस्तरसम्मका स्वास्थ्यकर्मीलाई सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमनबारे तालिम प्रदान गरी क्षयरोग अन्त्य गर्ने कार्यमा परिचालन गर्ने।
क्षयरोगको उपचारकासाथै रोग प्रतिरोध क्षमता बढाउन सधैं खाने खानेकुरा, गेडागुडीकोरस, दूध,फुल, नजिकै पाईने र मौषम अनुसारका फलफूल खाने।