'हो हामी क्षयरोग अन्त गर्दछौ' भन्ने नाराका साथ यस वर्षको विश्व क्षयरोग दिवस २०२३ नेपालमा संघ प्रदेश तथा स्थानीय तहमा विभिन्न क्रियाकलापका साथ मनाइयो।
हरेक वर्ष मार्च २४ मा मनाइने विश्व क्षयरोग दिवश यस वर्ष क्षयरोग सम्बन्धि जनचेतना फैलाउने र यसबाट बच्ने उपायहरू आम सर्वसाधारणमा पुर्याइ हालको क्षयरोगको अवस्थालाई घटाइ क्षयरोग अन्त्यका लागि हामी सबै एक जुट हौ भन्ने उदेश्यमा केन्द्रित छ। दिवसका दिन पालिका केन्द्रबाट हिडेर ४ घण्टा लाग्ने वडा न ९ चिमाथ गाउँमा पुगेँ। जानुको अर्थ थियो कि घरमै पुगेर क्षयरोगीको स्वास्थ्य अवस्था औषिध सेवन, रोकथामका उपायबारे परामर्स गर्नु र रोगीको अवस्था बुझ्नु।
मुगुमकार्मारोङ गाउपालिका वडा न ९ चिमाथ गाउँकी महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका देविसरा बुढाले खानु पर्ने समय भन्दा २ हप्तापछि मात्रै टिवीको औषधि सुरू गर्नुभएको थियो। नेपालगञ्जस्थित भेरी अस्पतालबाट क्षयरोग पहिचान भएकी उनी २ हप्तासम्म पाइरोडक्सिन नामक भिटामीन मात्रै खाएको खुलेपछि गत हप्ता स्वास्थ्य शाखामा दर्ता गरी टिवी को औषधि सुरू गरिएको थियो। हाल स्वास्थ्य अवस्था राम्रो हुदै गएको उहाँले बताउनु भयो।
उहाँले नेपालगञ्जसम्म जाँच गर्न जाँदा आउँदा झण्डै ८० हजार खर्च भएको बताउनुभयो। यता सरकारले हरेक स्वास्थ्यचौकी, आधारभूत स्वास्थ्य केन्द्र अस्पतालमा डट्स सेन्टर विस्तार गरि निशुल्क औषधि पाउने व्यवस्था गरे पनि रोग पहिचानका लागि व्यवस्थित ल्याब तथा निदानका सामाग्री नहुँदा देविसरा जस्तै धेरै जुम्ला, सुर्खेत, नेपालंगज, काठ्माडौ धाउनु पर्ने अवस्था छ र पहिचान भएपनि समयमा उपचार सुरू हुँदैन।
मुगुमकार्मारोङ गाउपालिकामा अधिकांस जनजातिको बसोबास भएकोले क्षयरोग सम्बन्धी स्वास्थ्य जनचेतना दिन पनि उत्तिकै कठिन छ। क्षयरोगको संका लागेर होइन कुनै पनि रोग समयमा सन्चो नभएमा मात्रै संका गरि स्वास्थ्य संस्था वा अस्पतालमा लिने गरिन्छ।
यसैबीच पालिकाभित्र रहेका सबै बिरामी लाइ फोन सम्पर्क मार्फत क्षयरोगीको स्वास्थ्य अवस्था र औषिध सेवन, रोकथामका उपायबारे स्वास्थ्य परामर्स गरियो।
क्षयरोग अन्तका लागि सबै क्षेत्र लागिरहेको अवस्थामा स्वास्थ्य सेवामा जानकारी भएको मानिने महिला स्वास्थ्य स्वयंसेविका नै अलमलीएर १५ दिन पछि उपचार पाउनुले सबै ठाउँमा थुप्रै चुनौतीको संकेत गर्दछ ।