धनगढी- कैलालीको धनगढी उपमहानगरपालिकाले नीजि–सरकारी साझेदारीमार्फत उपमहानगरपालिकाको फोहोर व्यवस्थापन कार्य अघि बढाएको छ। तर, उपमहानगरले ठेक्का सम्झौता गरेको मातृभुमी संरक्षण प्रालिले उपमहानगरपालिकाको आर्थिक ऐन २०७९ विपरित जथाभावी रकम संकलन गरेको पाइएको हो।
धनगढी उपमहानगरपालिका वडा नम्बर ४ तारानगरका भाडामा बस्दै आएका अजित थापाले फोहोर संकलनबापत चैत महिनामा दुई सय ५० रुपैया शूल्क तिरे। उपमहानगरपालिकाको आर्थिक ऐन २०७९ मा –‘प्रति भान्सा–परिवार बजार क्षेत्र मासिक एक सय रुपैयाँ, आंशिक बजार मासिक ७५, आवासीय क्षेत्र ५० रुपैयाँ मासिक र विद्यार्थीलाई ५० प्रतिशत छुट रहने’ व्यवस्था छ। थापाले उपमहानगरपालिका ऐन अनुसार ५० रुपैयाँ तिर्नुपर्नेमा कम्पनीले बढी शूल्क लिएको पाइएको हो।
तारानगर बस्दै आएका अरुणकुमार जोशीबाट सो कम्पनिले दुई सय २६ रुपैयाँ चैत महिनामा असुल गरेको छ। उनीबाट कम्पनीले फोहोर संकलनको दुई सय रुपैयाँ र १३ प्रतिशत करसहित सो रकम असुल गरेको हो। उनले उपमहानगरपालिकाले फोहोर संकलनवापत असुल गरेको रकम बढी भएको बताए। उनले भने –‘हप्तामा एक दिन कम्पनीको ट्याक्टर सिटी बजाउँदै आउँछ। घरमा थोरै फोहोर राखिएको हुन्छ। यसमा पनि यती ठुलो कर लिनु उपयूक्त देखिएन।’
धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा होलसेल पसल गरिरहेका छन् कैलाश जोशी। उनले चैत महिनामा उपमहानगरपालिकालाई करसहित दुई सय २६ रुपैयाँ शुल्क तिरे। उनी भन्छन –‘पसलबाट दैनिक फोहोर निस्कन्छ। तर, यहाँ हप्तामा एक दिन आउने गरेको छ। पसलबाट निस्केको फोहोर दैनिक संकलन गरेको भए कर तिरेको पनि फाईदा हुन्छ ।’ उनी यस महिना फोहोर संकलन कर नतिर्ने बताउँछन्। उनले पसल अगाडिका फोहोर देखाउँदै भने –‘कर पनि तिर्ने अनि आफनो पसलको फोहोर पनि आफै व्यवस्थापन गर्नुपर्ने अवस्था आईरहेको छ।’
उपमहानगरपालिकाको १७ औं कार्यपालिका बैठकले फोहोरमैलालाई आन्तरिक आयसँग आवद्ध गराउन निजी क्षेत्र, संघ संस्था वा कम्पनी (संकलनकर्ता) लाई संकलन गर्ने जिम्मेवारी दिने निर्णय गरेको थियो। कार्यपालिका बैठकको निर्णयमा भनिएको छ –‘संकलनकर्तालाई संकलित रकमको २० प्रतिशत लाभांश दिने गरी सरसफाई शूल्क संकलन गर्न सूचना प्रकाशित गरि कार्य अगाडि बढाउने र उक्त कार्य सुरु नहुन्जेल शूल्क संकलन गर्दा संकलन कार्यमा खटिएका कर्मचारीलाई संकलित रकमको १० प्रतिशत रकम उपलब्ध गराउने निर्णय गरियो।’ उपमहानगरपालिकाले फागुन महिनामा कम्पनिसंग सम्झौता गरि कम्पनिले चैतमहिनादेखि फोहोर संकलनसंगै शूल्क संकलन कार्य अघि बढाएको हो।
उपमहानगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ –‘माघ १० गते गरेको कार्यपालिकाको निर्णय अनुसार वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८ र १३ को फोहोर मैला व्यवस्थापन सेवा शूल्क उठाई उपमहानगरपालिकाको खातामा जम्मा गर्ने कार्यका लागि मातृभुमि संरक्षण प्रलि काठमाडौंसंग सम्झौता गरिएको हुँदा उक्त फर्मले चैत ९ गतेदेखि सेवा शूल्क लिन शूरु गरिसकेकाले तोकेबमोजिम सेवा शूल्क दिई सहयोग गरिदिन अनुरोध छ।’
धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बुद्धि खडकाले फोहोर संकलन कार्य भइरहेको तर, शूल्कबारे कार्यपालिका बैठकमा छलफल भईरहेको बताए। उनले भने –‘प्रति घरबाट ५० देखि एक सय रुपैयाँ संकलन गर्नेबारे कार्यपालिका बैठकमा छलफलमै रहेको छ । नीजि कम्पनिले संकलन गरेको भए जानकारी भएन्।’
आर्थिक ऐन विपरित शूल्क असुलिरहेको नीजि कम्पनिलाई उपमहानगरपालिकाले नियन्त्रण गर्नुपर्नेमा उल्टै संरक्षण गरिरहेको स्थानीयवासीहरु बताउँछन्।
जहाँ पायो त्यही फोहोर व्यवस्थापन
धनगढी उपमहानगरपालिकाभित्र संकलित रकम कम्पनिले मनोमानी ढंगले नदी किनार तथा खुल्ला ठाउँमा व्यवस्थापन गरिरहेको छ। निजी कम्पनिले उपमहानगरपालिकाको वडा नम्बर १ र २ मा फोहोर व्यवस्थापन गरिरहेको पाइएको छ। स्थानीयलाई जानकारी नै नदिई खुल्ला स्थानमा फोहोर फाल्दा टोलबस्तीनै दुर्गन्धीत भईरहेको स्थानीय बताउँछन्।
उपमहानगरपालिकाले खोला किनारमा फोहोर फाले जरिवाना गर्ने व्यवस्था गरेको छ। तर, धनगढीको राष्ट्र बैंकदेखि नेपाल रेडक्रस रहेको सुकुटी खोला किनारमा उपमहानगरपालिकाले फोहोर व्यवस्थापन गरिरहेको छ। उपमहानगरपालिकाले त्यहाँ जथाभावी फोहोर फाल्दा वस्तीनै दुर्गन्धीत भईरहेको स्थानीय खेम ओझा बताउँछन्।
यस्तै, धनगढी उपमहानगरपालिकाले वडा न १ का स्थानीयहरुलाई जानकारि नै नदिई पशुपति टोलमा फोहोर व्यवस्थापन गरिरहेको छ। उपमहानगरपालिकाले पशुपती टोलको सुदुरपश्चिम महोसव लाग्ने मैदानमा फोहोर फाल्ने गरेपछि त्यहाँका स्थानीय आक्रोशित भएका छन्। कैलाली नालाको छेउमा रहेको निजी जमिनमा नगरपालिकाले स्थानीहरुलाई जानकारी नगराई धनगढीमा रहेका अस्पताल, घरघरका फोहोरहरु ल्याएर त्यहा फालेपछि बातावरण दुर्गन्धीत भएको भन्दै बिरोध जनाए। टोलका बच्चाहरुले खेल्ने मैदान भएको कारण पनि त्यो फोहोरले आफुहरुलाई अव्यवस्थीत बनाएको धनगढी १ पशुपती टोलका पप्पु कुरैसीले गुनासो गरिन्।
‘फोहरले स्थानीय निकै हैरान भएका छन’ स्थानीय कुरैसीले भने–‘स्वास्थ्यमा गम्भीर लापरवाही हुने चिज जथाभावी टोलमा आएर फाल्नु राम्रो होईन।’
धनगढी उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष सन्तोष मुडभरीले आफुलाई जानकारि नगराई फोहोर फालेको बताए। स्थानीयहरुले आफुलाई जानकारी गराएपछि मात्रै जमिन डम्पिङ साईड नभएको तर जमिनमा खाल्डो भएका जग्गा भर्ने सहमति भएको वडा अध्यक्ष मुडभरीले बताए।