गर्भावस्था निकै संवदेनशील अवस्था हो। त्यसैले महिलाले गर्भवती हुुनुभन्दा पहिला धेरै कुरामा विचार पुर्याउनुपर्छ। सबैभन्दा पहिले शारीरिक रूपमा आफ्नो मूल्यांकन आफैंले गर्नुपर्छ। त्यो भनेको मेडिकल भाषामा गरिने मूल्यांकन हो। आफू मेडिकल हिसाबले कत्तिको स्वस्थ छु भन्ने कुरा हो।
बच्चा पाउनका लागि आफ्नो शरीर तयार छ÷छैन, विचार गर्नु अति नै आवश्यक हुन्छ। कतिपय स्वास्थ्य समस्याबारे महिला स्वयंलाई थाहा नहुन सक्छ। ती समस्याले गर्दा भविष्यमा आमा र बच्चा दुवैलाई खतरा हुन सक्छ। त्यही खतरा नहोस् भन्नका लागि मेडिकल परीक्षण जरुरी छ। मेडिकल र सर्जिकल रूपमा कुनै जोखिम छ भने त्यो पत्ता लगाउन सकिन्छ।
रोग पालेर बसेकी महिला गर्भवती भइन् भने आमा र बच्चा दुवैलाई असर गर्छ। कतिपय रोग गर्भावस्थाका कारण बढ्ने र जटिल हुने खालका हुन्छन्। यी सबै कुरामा हामी बच्चाको योजना बनाइरहेका दम्पतीसँग सल्लाह गर्छौं।
महिलाको कुन रोगले सन्तानलाई असर गर्छ ?
सन्तानको योजना बनाइरहेका दम्पतीले चिकित्सकसँग परामर्शमा जाँदा विभिन्न कुरामा ध्यान दिनु अनिवार्य छ। आफ्नो स्वास्थ्य समस्याबारे महिलाले खुलेर चिकित्सकसँग कुरा गर्नुपर्छ। ती महिलाको स्वास्थ्य अवस्था बुझेपछि मात्र चिकित्सहरूले उपयुक्त सल्लाह दिन सक्छन्।
सन्तानको योजना बनाइरहेका महिलामा रक्तअल्पता, उच्च रक्तचाप, मधुमेह जस्ता स्वास्थ्य समस्या हुनु हुँदैन। मुटुजन्य, मिर्गौला र कलेजोको रोग छ भने त्यसले गर्भावस्थालाई असर गर्छ। कुनै मानसिक समस्याका लागि औषधि खाइरहेका महिलाले पनि विशेष ध्यान दिनुपर्छ। ती महिलाको मानसिक अवस्था कुन स्तर को हो, उनले बच्चाको स्याहार गर्न सक्छिन्÷सक्दिनन्, सेवन गरिरहेको औषधि कस्तो हो, यी सबै कुरामा ध्यान दिनु अति जरुरी छ।
यी रोगसँगै महिलाको तौलले पनि गर्भावस्थालाई फरक पार्छ। धेरै मोटो वा धेरै पातलो हुँदा गर्भावस्थालाई असर गर्छ। चुरोट, रक्सी जस्ता लागुऔषधले पनि असर पु¥याउँछ।
यौनजन्य रोग भएका महिलाको पेटमा भएका बच्चालाई पनि असर पर्न सक्छ। एचआइभी तथा हेपाटाइटिस ‘बी’ आमालाई छ भने बच्चालाई सर्न सक्छ। जोखिम न्यूनीकरणका लागि चिकित्सकसँग सल्लाह लिनुपर्ने हुन्छ। यस बाहेक पहिला कुनै सर्जरी भएको थियो वा पहिलो सन्तानमा कुनै दोष÷खराबी थियो भने अर्को सन्तानको योजना बनाउँदा ध्यान पुर्याउनुपर्ने हुन्छ।
महत्वपूर्ण ‘प्रि–कन्सेप्सन काउन्सिलिङ’
सन्तानको योजना बनाइरहेका दम्पतीले चिकित्सकको परामर्श लिँदा बच्चामा हुन सक्ने विभिन्न जोखिमबाट बचाउन सकिन्छ। सन्तानको योजना बनाउनुअघि केही कुरा थाहा पाउने र परामर्श गर्ने काम नै ‘प्रि कन्सेप्सन काउन्सिलिङ’ हो।
सन्तानको योजनाका लागि परामर्श लिन आउने अवधारणा नेपालमा विस्तारै विकास हुँदै गइरहेको छ। विकसित राष्ट्रमा यो अवधारणा पहिलेदेखि लागू छ। ‘प्रि–कन्सेप्सन काउन्सिलिङ’ गर्नुका धेरै फाइदा छन्।
जसमध्ये मुख्य ४ फाइदा यस प्रकार छन्ः
– बच्चाको स्वास्थ्य राम्रो हुन्छ।
– आमाको स्वास्थ्य राम्रो हुन्छ।
– ‘बर्थ डिफेक्ट’ भएको बच्चा जन्मिने जोखिम कम हुन्छ।
– दम्पतीहरू सन्तान जन्माउन मानसिक रूपमा तयार हुन्छन्।
‘प्रि–कन्सेप्सन काउन्सिलिङ’ को सहयोगले लगातार गर्भ तुहिने, बच्चा सानो जन्मिने, समय अगावै जन्मिने जस्ता समस्या घटाउन सकिन्छ। परामर्शपछि दम्पतीहरू अविभावकत्वको जिम्मेवारी निभाउन मानसिक रूपमा तयार हुन्छन्। अनिच्छित गर्भाधारण हुने क्रम पनि कम हुन्छ।
कुनै महिला धूमपान गर्छिन्। उनले गर्भ बोक्नुभन्दा पहिले धूमपान गर्न छाडिन् भने समयअघि नै बच्चा जन्मिने ‘प्रिटम डेलिभरी’ सम्बन्धी जोखिम ५ देखि ७ प्रतिशतले कम हुन्छ। रक्सी पिउने महिलाले जन्माउने बच्चामा ‘फिटल अल्कोहल सिन्ड्रोम’ देखिन सक्छ। तर आमाले रक्सी पिउन छोडेको खण्डमा जोखिम कम हुन्छ।
‘प्रि–कन्सेप्सन काउन्सिलिङ’ मा उपचार गर्नुपर्छ वा औषधि नै खानुपर्छ भन्ने हुँदैन। यसमा विशेषत दुई÷तीन कुरालाई ध्यानमा राख्नुपर्ने हुन्छ। मेडिकल र सर्जिकल आवश्यक प¥यो भने मात्र चिकित्सकले औषधि चलाउन सक्छन्। नभए महिलाहरू आफैँले आफ्नो व्यवहारमा परिवर्तन ल्याएर गर्भावस्थाको समयलाई सुखद बनाउन सक्छन्। यसका लागि चुरोट र रक्सीको अम्मलीले त्यो बानी छोड्नुपर्छ भने थाइरोइडका बिरामीले औषधि खानुपर्छ। कुनै औषधिले बच्चालाई असर गर्छ भने ती औषधि परिवर्तन गर्नु अति आवश्यक छ।
छारे रोगको औषधि खाने बिरामीलाई चिकित्सकहरूले ‘फोलिक एसिड’ अलि ‘हाई डोज’ को दिन सक्छन्। धेरै आमाहरु पेटमा बच्चा बसिसकेपछि चिकित्सककहाँ आउने गर्नुहुन्छ। उहाँहरूलाई एक महिनाअघि मात्र ‘फोलिक एसिड’ औषधि सुरु गर्न सकिएको खण्डमा बच्चामा हुने एक किसिमको खराबी कम हुन्छ।
सन्तानको योजना बनाइरहँदा महिला र पुरुषको भूमिका फरक हुन्छ। कतिपय रोगहरू वंशाणुगत पनि हुन्छन्। त्यो रोग आमा र बुवा दुवैबाट बच्चालाई सर्न सक्ने जोखिम उत्तिकै रहन्छ। त्यो अवस्थामा पुरुष जिम्मेवार नहुने भन्ने हुँदैन।
त्यसैले सन्तानको योजना बनाउनुअघि ‘प्रि–कन्सेप्सन काउन्सिलिङ’ एकदमै जरुरी छ। योजना बनाएर सन्तान जन्माउँदा ‘विभिन्न बर्थ डिफेक्ट’ घटाउन सकिन्छ। ‘प्रि–कन्सेप्सन काउन्सिलिङ’ बाट आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिने हुनाले यो अवधारणालाई व्यापक बनाउनु जरुरी देखिन्छ।
(डा सापकोटा चितवनस्थित भरतपुर अस्पतालमा सिनियर कन्सल्टेन्ट गाइनोकोलोजिस्टको रूपमा कार्यरत छन्।)