काठमाडौं- नेपालमा महिलाको प्रजनन् अधिकारीको सुनिश्चितताका लागि ‘सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन २०७५’ जारी गरिएको छ।
ऐनले महिलाको सुरक्षित मातृत्व तथा प्रजनन् अधिकारको सुनिश्चित गरेपनि यसलाई प्रत्याभूत गर्न सकिएको छैन। बाँझोपन तथा निःसन्तापनको समस्या भएका ग्रामीण भेगका महिलाहरुले सही उपचार पाउन सकेका छैनन्। आफैँमा निकै महँगो उपचार विधि भएकाले पनि सबैको पहुँचमा यो सेवा उपलब्ध छैन।
संघीय अस्पतालहरुमा पनि बाँझोपन तथा निःसन्तापनको सम्पूर्ण उपचार उपलब्ध नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा यो विषयलाई पनि सम्बोधन गरिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ ५ गते सार्वजनिक गरिएको कार्यक्रममा भनिएको छ, ‘सातै प्रदेशका संघीय अस्पतालहरुमा बाँझोपन तथा निःसन्तान उपचार सेवा विस्तार गरिनेछ।’
नीति तथा कार्यक्रममा परेका स्वास्थ्यका १८ बुँदामध्ये एक हो यो। यो कार्यक्रम लागू भएको खण्डमा सातै प्रदेशका संघीय अस्पतालहरुमा बाँझोपन तथा निःसन्तान उपचार सेवा विस्तार हुनेछन्।
नेपाल सोसाइटी अफ अब्सटेट्रिसिएन्स एण्ड गाइनोकोलोजिस्ट (नेसोग) ले सरकारले अघि सारेको यो कार्यक्रम सकारात्मक रुपमा हेरेको छ। सरकारले यो सेवा सबै संघीय अस्पतालमा विस्तार गरे बाँझोपन तथा निःसन्तानको उपचार सेवा सबैको पहुँचमा पुग्ने नेसोगकी महासचिव डा सपना अमात्य वैद्य बताउँछिन्। यो उपचारको लागि काठमाडौं आउनुपर्ने बाध्यता हट्ने उनको भनाई छ।
उनी भन्छिन्, ‘अहिले यो सेवाका लागि काठमाडौंमा आउनुपर्ने धेरैको बाध्यता छ। सबैको पहुँचमा यो सेवा अहिले पनि छैन। संघीय अस्पतालहरुमा यो सेवा सुरु हुने हो भने सबैमा यो सेवा पहुँच हुन्छ।’
उनका अनुसार धेरै महिला/दम्पत्तिहरु बाँझोपनको उपचारका लागि गाउँ–गाउँबाट काठमाडौं आउने गरेको उनले बताइन्। बाँझोपनको उपचार एक दिन वा एक हप्तामा पुरा हुँदैन। एउटा निश्चित प्रक्रिया र समय यसमा लाग्छ। टाढाबाट काठमाडौंसम्म उपचार गर्न आउँदा समय र पैसा दुवै बढी लाग्ने गर्दछ। संघीय अस्पतालमा यो सेवा सुरु भए बिरामीको समय र पैसा दुवै जोगिने डा अमात्यले बताइन्। यो कार्यक्रम लागू भए एउटा प्रदेशका नागरिक सेवाका लागि अन्य प्रदेशमा भौतारिनु नपर्ने उनले बताइन्।
सरकारले यो कार्यक्रम विस्तार गर्ने भनिरहँदा व्यवस्थापनमा ध्यान दिनुपर्ने नेसोगको सुझाब छ। सरकारले आवश्यकता र समस्या बढी भएका ठाउँहरुको छनोट गरेर मूल्यांकनका आधारमा सेवा सुरु गर्दै लग्नुपर्ने उनले बताइन्।
‘यो सेवा सुरु गर्दा सबैभन्दा पहिले ग्याप मूल्यांकन गर्नुपर्छ। सुरुमै सबै गर्न खोज्नु हुँदैन। कुन ठाउँमा बढी समस्या र आवश्यकता छ त्यसको पहिचान गरिनुपर्छ। टुप्पोबाट जानुभन्दा पनि फेदबाट गयो भने त्यो दीर्घकालीन हुन्छ,’ उनले भनिन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त सचिव डा संगीता कोशल मिश्र यो सेवा सुरु गर्न संभव भएको बताउँछिन्। सबै अस्पतालहरुमा स्त्री तथा प्रसुति रोगको उपचार हुने भएकाले त्यहाँ भएका जनशक्ति र प्रविधिलाई थप विस्तार गरे सेवा सुरु गर्न सकिने उनले बताइन्। एकै पटक सबै ठाउँमा सेवा सुरु गर्न नसकिएपनि चरणवद्ध रुपमा कार्यक्रम सुरु गर्न सकिने उनले बताइन्।
उनले भनिन्, ‘सुरुमा आइयूआइ सेवा सुरु गर्न सकिन्छ। यसका लागि त्यहाँ भएका जनशक्तिलाई तालिम दिएर सुरु गर्न सकिन्छ। त्यसपछि आइभीएफ (टेष्ट ट्युब बेबी) पनि चरणगत रुपमा सुरु गर्न सकिन्छ।’
इन्ट्रायुट्रेन इनसेमीनेशन (आइयूआइ) बाँझोपनको उपचार गरिने विधिमध्ये एक हो। जसमा शुक्रकिटलाई कृत्रिम तरिकाले महिलाको पाठेघरमा राखिन्छ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सले हाल छात्रवृत्ति (फेलोसिप) मा विद्यार्थीहलाई पढाइरहेको उनले बताइन्। ती जनशक्तिहरुलाई यो सेवा सुरु गर्नका लागि प्रयोग गर्न सकिने उनले बताइन्।
सुरुवाती चरणमा प्रसुति थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालका जनशक्तिहरुलाई अन्य अस्पतालमा सहकार्य गरेर सुरु गर्न सकिने उनले बताइन्।
सेवा सुरु हुनु धेरै राम्रो कुरा हो
डा सपना अमात्य वैद्य, महासचिव, नेसोग
यो पक्कै पनि सकारात्क विषय हो। अहिले यो सेवाका लागि काठमाडौंमा आउनुपर्ने धेरैको बाध्यता छ। सबैको पहुँचमा यो सेवा अहिले पनि छैन। संघीय अस्पतालहरुमा यो सेवा सुरु हुने हो भने सबैमा यो सेवाको पहुँच पुग्छ। यो सेवाका लागि गाउँ गाउँबाट काठमाडौं आउनुहुन्छ। यदी यो सेवा सुरु हुने हो भने काठमाडौं आउनुपर्ने बिरामीको यो बाध्यता हट्छ।
बाँझोपनको उपचार एक दिन या एक हप्तामा गरिने होइन। यसको लागि एउटा प्रक्रिया र समय लाग्छ। काठमाडौंमै आउँदा आर्थिक रुपमा पनि धेरैको पैसा खर्च हुन्छ। लामो समय लाग्ने भएकाले समय र पैसा दुवै लाग्छ। त्यसैले यो संघीय अस्पतालमा सुरु हुनु धेरै राम्रो कुरा हो। हामीले चाहिरहेको कुरा पनि हो। तर यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने महत्वपूर्ण विषय हुन्।
सबै संघीय अस्पतालमा सेवा सुरु हुँदा एउटा प्रदेशको मान्छे अर्को प्रदेशमा या काठमाडौंमै आउनुपर्दैन। यो सेवा सुरु गर्दा सबैभन्दा पहिले ग्याप मूल्यांकल गर्नुपर्छ। सुरुमै सबै गर्न खोज्नु हुँदैन। कुन ठाउँमा बढी समस्या र आवश्यकता छ त्यसको पहिचान गरिनुपर्छ। टुप्पोबाट जानुभन्दा पनि फेदबाट गयो भने त्यो दीर्घकालीन हुन्छ।
सेवा सुरु गर्न संभव छ
डा संगीता मिश्र, अतिरिक्त सचिव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
यो सेवा सुरु गर्न संभव छ। सबै ठाउँमा स्त्री तथा प्रसुति रोगको उपचार हुन्छ। त्यहाँ ठाउँ, जनशक्ति सबै छन्। सबै ठाउँमा एकै पटक सुरु गर्न नसकिएला। तर चरणवद्ध रुपमा सुरु गर्न सकिन्छ। सुरुमा आइयूआइ सेवा सुरु गर्न सकिन्छ। यसका लागि त्यहाँ भएका जनशक्तिलाई तालिम दिएर सुरु गर्न सकिन्छ। त्यसपछि आइभीएफ टेष्ट ट्युब बेबी पनि चरणगत रुपमा सुरु गर्न सकिन्छ।
अहिले न्याम्सले पनि यो विषयमा फेलोसिपमा विद्यार्थीहरु पढाइरहेका छन्। ती जनशक्तिलाई यहाँ प्रयोग गर्न सकिन्छ। साथै प्रसुति गृहमा पनि आइभीएफ सेन्टर छन्। त्यहाँका जनशक्तिलाई अन्य अस्पतालमा सहकार्य गर्न र काम लगाउन सकिन्छ।
हाल सबै संघीय अस्पतालहरुमा यो सबै सेवा उपलब्ध छैन। केहीले आइयूआइ मात्र गरेका छन्। भने अधिकांशले प्रसुति सेवा मात्र दिइरहेका छन्। केही औषधि दिएर मात्र उपचार गरिरहेका छन्। प्रविधिको प्रयोग गरेर यो सेन्टरको सेवा दिने सुविधा संघीय अस्पतालमा छैन।
म प्रसृति गृहको निर्देशक हुँदा मैले आइभीएफ सेवा सुरु गरेकै हो। मिल्क बैंक पनि मैले सुरु गरेकी हुँ। त्यसैले यो सेवा सुरु गर्न संभव छ। र, नेपालमा यो सेवाको निकै आवश्यक पनि छ।