बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नर्स र बिरामी पक्षबीचको कुराकानी सामाजिक सञ्जालमा भाइरल भएपछि नर्सहरुको पक्ष र विपक्षमा बहस नै चल्यो। नर्सहरुको छाता संस्था नेपाल नर्सिङ संघले पनि उक्त विषयमा चासो व्यक्त गर्दै नर्सहरुको समस्या समाधानका लागि कदम अगाडि बढायो। नेपालमा नर्सिङ क्षेत्रमा देखिएका समस्या? नर्स र बिरामी पक्षबीच बढ्दो क्रममा रहेको सम्बन्ध? समस्या समाधानका उपाय लगायतका विषयमा स्वास्थ्यखबरकी रिता लम्सालले नर्सिङ संघकी अध्यक्ष मनकुमारी राईसँग कुराकानी गरेकी छिन्। प्रस्तुत छ अध्यक्ष राईसँग गरिएको कुराकानीः
बिपी कोइराला मेमोरियल क्यान्सर अस्प्तालमा नर्स र बिरामीपक्षबीच भएको विवादलाई संघले कुन रुपमा लिएको छ?
यो नहुनुपर्ने कुरा भयो। बिरामी कुरुवा र नर्सबीचको मिस अन्डरस्ट्यान्डिङबाट विवाद सुरु भएको छ। विवाद टिकटकमा भाइरल भएपछि थप समस्या आएको हो। यो घटना हुनु नै दुखद कुरा हो। नहुनुपथ्र्यो भयो। क्यान्सर पीडित बिरामी बहिनी एक वर्षदेखि क्यान्सरको उपचार गराइरहेको हो। अलिअलि निको भएपछि घर फर्किएको र फेरि रिल्याप्स भएपछि आर्थिक सहयोग गर्नु भनेर भिडियोमा बोलेको थिइन् भन्ने सुनेका थियौं। त्यही भिडियो हेरेर आफूलाई समाजसेवी बताउने गिभिना बहिनीले पैसा उठाएर सहयोग गर्न जानुभएको रहेछ। बिरामीलाई लिएर उपचारका लागि ओपिडीमा पनि जानु भएको रहेछ। ओपिडीमा डाक्टरले जाँच गरिसकेपछि उहाँको उपचार सुरु भयो। उपचार सुरु भएको कुरा र औषधि दिएको कुरामा विवाद देखिएको छ।
यसमा बिरामी पक्षले कुरा नबुझेको र नर्सले पनि कुरा बुझाउन नसकिएको जस्तो देखिएको छ। २४ घण्टामा दिनुपर्ने औषधिको समयमा २ बजे र ४ बजेको कुराबाट विवाद सुरु भएको छ। खासमा कुरा के हो भने जो औषधि दिने नर्स हुनुहुन्थ्यो उहाँ ड्युटी सकिएर जानुभयो। त्यहाँ अर्को ह्याण्डओभर लिएर बस्ने बहिनीको कुरा अनुसार उहाँले बिहान दिनुपर्ने औषधि बिहानको ड्युटी गर्नेले दिइसक्यो र दिउसो २ बजे दिने भनेर लेखिएको औषधि २ बजे नदिएको अवस्थामा वादविवाद सुरु भएको रहेछ। त्यतिबेला बिरामीहरु धेरै भएको र औषधि २ बजे नै नदिएको भनेर विवाद सुरु भएको रहेछ। नर्सले गिभिनालाई अहिले जानुस् यदी अघिल्लो दिन २ बजे औषधि लगाएको भए २ बजे आउनुस् ४ बजे लगाएको भए ४ बजे आउनुस् भनेर पठाएको देखिन्छ। सो भन्ने क्रममा नर्सको पनि टोन चाँही अलिकति ठूलो हो कि जस्तो भिडियो हेर्दा हामीले पनि देख्यो। त्यति भनेर नर्स अरु बिरामीको केयरमा खटिए।
गिभिनाले सोध्ने क्रममा अरु पनि बिरामीहरु थिए। उहाँले ठिकै छ ४ बजे आउछु भन्ने हिसाबले जानुभएको भए यो विषयले यति ठूलो रुप नै लिने थिएन। तर उहाँले त्यो कुराको भिडियो टिकटकमा हालेर भाइरल गराउनुभएछ। नर्सहरुले यो कुरा थाहा पाएपछि नर्सिङ प्रशासनसम्म कुरा उठ्यो। त्यसपछि नर्सिङ प्रशासनले गिभिना बहिनीलाई बोलाएर उहाँहरु बीचमा सहमति भएछ। गिभिना बहिनीले टिकटकको भिडियो डिलिट गर्ने र नर्सले पनि ठूलो स्वर गरेकोप्रति माफी माग्ने काम भएछ। बुधबार सहमति भएको तर शुक्रबार फेरि त्यही भिडियो अपलोड गर्नुभएछ। त्यसपछि यो विवादले झनै ठूलो रुप लिएको अवस्था छ।
यसअघि पनि अस्पतालहरुमा बिरामी कुरुवामाथि दुव्र्यवहार गरेको र नर्सहरुले पनि बिरामी तथा बिरामी कुरुवामाथि रुखो व्यवहार गरेको घटनाहरु आइरहेको हुन्छ। यस्त्ता घटनाहरु किन भइरहेको छ? बिरामीका आफन्तले सोधपुछ गर्दा नर्सहरुले झर्किने कि सम्झाउने?
पहिला पहिला अस्पतालहरुमा हुने गरेको घटना र यो घटना फरक छ। त्यो बेलामा कुनै विषयमा असमझदारी हुदा नर्सले पनि केही बोलिहाल्ने, भिजिटरले पनि केही भनिहाल्ने हुन्थ्यो। उहाँहरुको बीचमा केही समय झगडा हुन्थ्यो, विवाद हुन्थ्यो फेरी घटना सामसुम हुन्थ्यो। दुवै पक्षले एकअर्काप्रति गुनासो गरेपछि सकिन्थ्यो। अहिलेको घटना चाँही टिकटकमा भाइरल भयो। उहाँले जुन भिडियो पोष्ट गर्नुभयो त्यहा उहाँहरु फलोअर्सहरुले नर्सहरुलाई तथानाम गाली गर्ने, अश्लिल शब्द प्रयोग गर्ने देखि नर्सहरुको सम्बन्धलाई नै एकदमै नराम्रो देखाउने गरी समाजमा प्रस्तुत भयो। त्यसबाट नर्सहरु सबैले हेर्यो। समाजमा परिवार, नाता र विभिन्न पेसाबीच नर्सहरुले आफुलाई लज्जाबोध गर्नुभयो। यसरी समग्र नर्सिङ पेसामाथि नै आक्रमण गरियो भनेर त्यसको विरुद्धमा नर्सहरुले प्रहरीको साइबर ब्युरोमा पनि मुद्धा हाल्ने र धर्ना बस्ने गरिरहनुभएको छ। नर्सहरुलाई धम्की पनि आइरहेको छ। गालीगलौज पनि भइरहेको छ। समग्र नर्सिङ पेसाप्रति नै दुव्र्यवहार बढेकाले नर्सिङ संघले नर्सिङ पेसा सुरक्षित हुनुपर्छ भनेर आवाज उठाएका छौं।
पछिल्लो समय नर्स र बिरामी पक्षबीच किन दुरी बढ्दै गइरहेको छ?
एकजना नर्सले सामान्य वार्डमा पनि कति बिरामी हेर्ने भन्ने मापदण्ड हुन्छ। अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सामान्य वार्डमा एकजना नर्सले ६ जना बिरामी, सघन उपचार कक्ष भेन्टिलेटर सहितको आइसीयूमा बिरामी छ भने एकजना बिरामी बराबर दुईजना जना नर्स, आइसीयूमा मात्र हो भने एकजना बिरामी बराबर एकजना नर्स र डेलिभरीको केसमा एकजना बिरामी बराबर दुईजना नर्स चाहियो। तर यहाँ त साधारण वार्डमा एकजना नर्सले ३०, ४० जना बिरामी हेर्नुपर्ने बाध्यता छ। बिरामीको आफन्तले मेरो बिरामी हेर्दियोस् भन्ने चाहनु स्वभाविक पनि हो, आसा पनि गर्नुहुन्छ। तर एउटा नर्सले कतिलाई स्याहार गर्ने, इन्जेक्सन दिने, औषधि दिने? उनीहरुलाई भ्याइनभ्याइ हुन्छ। बिरामी कुरुवाले मेरो बिरामी हेर्देउ भन्छन्, प्रश्नहरु गर्छन्। सो क्रममा बिरामी कुरुवाले पनि नर्सहरुलाई सम्मानपूर्वक शब्द बोलिरहेका हुँदैनन् भने नर्सहरुमा पनि कामको बोझको कारण बिरामी कुरुवासँग राम्रोसँग बोल्न खोज्दा पनि कहिलेकाँही झर्किने, नमिठो स्वर निस्कने गुनासो आएको पनि हो। त्यसैले कम्तिमा पनि यो नर्स र बिरामीको अनुपात मिलेको खण्डमा नर्सहरुले पनि बिरामी राम्रोसँग हेर्न र केयर गर्न सक्छन्। काउन्सिलिङ गर्न सक्छन्। यसका लागि हामीले स्वास्थ्य मन्त्रालयलाई पनि भन्दै आएका छौं।
अस्पतालमा नर्स र बिरामीको अनुपात मापदण्ड अनुसार नमिलेकै कारण नर्स र बिरामी पक्षबीचको सम्बन्ध सुमधुर नभएको हो?
नर्स र बिरामी पक्षबीचको सम्बन्ध सुमधुर नहुनुको एउटा कारण यही नै हो। यसमा अरु पनि थुप्रै कारणहरु छन्। व्यक्तिको बानीव्यहोराको कुरा पनि हुन्छ। नर्सहरुको सेवा सुविधाको कुरा पनि छ। १२ घण्टा ड्युटी गर्ने नर्सको तलब महिनामा १०,१२ हजार मात्र पनि छ। अन्य व्यवस्थापनको कुरा र पारिवारिक समस्याहरु पनि हुन्छ। तर हामी के भन्छौं भने जस्तोसुकै समस्या भएपनि आफ्नो पिडा भएपनि बिरामी र बिरामी कुरुवासँग राम्रो व्यवहार गर्नुपर्छ भनेर सिकाउछौं र पढाउछौं। नर्सिङ अध्ययनको क्रममा विद्यार्थीहरुले यो विषयमा व्यवहारिक र शैद्धान्तिक शिक्षा नै लिएको हुन्छ। विद्यार्थी हुदासम्म त उसले यो कुरा सिक्छ, तर पास भइसकेपछि स्वतन्त्र हुन्छन् र कहिलेकाँही ड्युटी गर्ने क्रममा भुलचुक हुन्छ।
नर्सिङ अध्ययनकै क्रममा बिरामी र बिरामीपक्षलाई कस्तो व्यवहार गर्ने भनेर सिकाइन्छ तर पछि काम गर्दा नर्सहरुबाट किन बेलाबखत गल्ती भइरहेको छ?
नर्सहरुको व्यवहार राम्रो नभएको भनेर नर्सिङ संघमा गुनासो पनि आइरहेको हुन्छ। प्राय आकस्मिक कक्षमा, क्लिनिकहरुमा नर्सहरुको व्यवार राम्रो भएन भनेर गुनासो आउँछ। कहिलेकाँही सुत्केरी गराउने ठाउँहरुमा नर्सको व्यवहार राम्रो भएन भनेर गुनासो आउँछ। विशेषगरी नर्सहरुले बोल्दा झर्किएको, समयमा जवाफ नदिएको भन्ने खालका गुनासोहरु आउँछ। बिरामीको रिपोर्ट लेख्दा वार्डमा रेस्पोन्स नगरेको भन्ने गुनासो पनि धेरै आएको छ। यस्तो गुनासो आइसकेपछि हामीले जहाँबाट गुनासो आएको छ त्यहाँको सम्बन्धित नर्ससँग सम्पर्क गर्छौं र उहाँको सुपरभाइजरसँग पनि कुरा गरेर यस्तो गुनासो आएको छ के हो कुरा भनेर सोध्छौं। धेरै गुनासो आएको नर्सको विषयमा नर्सको आचारसंहिता पालना नगरेको छ भने नर्सिङ काउन्सिलमा पनि भन्छौं।
नर्स र बिरामी पक्षबीचको सम्बन्ध सुमधुर बनाउन के गर्नुपर्ला?
नर्सहरुलाई पढाउने क्रममा नर्सको आचारसंहिताबारे पढाउछौं। त्यो अनुसारको व्यवहार गर्नुपर्छ भनेर सिकाउछौं। नर्सिङ अध्ययनका लागि सुरुमै आउँदा पढाइन्छ। उहाँहरुको अध्ययन अवधिभर नर्सको कतव्र्यबारे पढाइन्छ र सिकाइन्छ। कम्युनिकेसन भन्ने शिर्षक नै हुन्छ। बिरामीलाई औषधि दिँदा कसरी दिने? के भनेर औषधि दिने? बिरामीलाई इन्जेक्सन लगाउनु छ भने इन्जेक्सन लगाउन अघि के औषधि हो? बिरामी को हो?कसरी लगाउने? कति डोज लगाउने सबै हेरेर बिरामीलाई सबै कुरा बुझाएर अनि मात्र इन्जेक्सन लगाउनुपर्छ। उनीहरुसँग राम्रोसँग बोलेर उनीहरुलाई इन्जेक्सन लगाइदिन्छु भनेर अनि लगाउने हो। बिरामीसँग नबोली औषधि दिने, इन्जेक्सन दिने गर्न हुँदैन।
यस्तै बिरामीका आफन्तलाई अस्पतालमा बस्दासम्म खानपानको विषय औषधि ल्याउने बिषयमा विस्तारमा जानकारी दिनुपर्छ। बिरामी डिस्चार्ज हुनुअघि पनि उनीहरुलाई घरमा बिरामीले के के गर्नुपर्छ? खाने औषधिबारे जानकारी दिने, अरु ध्यान दिनुपर्ने कुराहरुबारे बताउने र फलोअपमा आउने विषयमा राम्रोसँग जानकारी दिएर मात्र डिस्चार्ज गराउनुपर्छ। बिरामी भर्ना हुन आउँछ भने नर्सले गर्नुपर्ने कुराहरुमा बिरामीको टेम्प्रेचर कसरी लिन्छ, ब्लड कसरी लिन्छ कुर्सीमा कसरी बसाउँछ, वेट कसरी लिन्छ, शौचालय कहाँ छ, हातखुम हुने ठाउँ कहाँ छ, बिरामीको वेड कहाँ छ भनेर सबै कुरा विस्तारमा नर्सिङ पढ्दा सिकाइन्छ र त्यो कुरा प्राक्टिकल गरेर उ पास हुनुपर्छ। अर्को पटक औषधि दिँदा, फेरि इन्जेक्सन दिँदा बिरामीलाई कस्तो छ भनेर सोध्ने, कम भयो वा भएन, केही समस्या छ किन गर्नुपर्छ भनेर सोध्नुपर्छ भनेर प्रत्यक नर्सलाई सिकाएका हुन्छौं। यो कुरा प्रत्येक बिरामीलाई सिकाइन्छ। यसमा नर्सले पढ्ने क्रममा प्राक्टिस गरेर पास हुनुपर्छ। यी सबै कुरा व्यवहारमा आउन सकेमा समस्या कम हुन्छ। यसका साथै जनशक्ति थप्ने, सेवासुविधा बढाउने कुरा भयो भने गुनासा आउन धेरै कम हुन्छन्।
नर्सिङ अध्ययनको क्रममा सिकाइएको कुरा नर्सहरुले काम गर्ने क्रममा लागु गरेको कत्तिको पाउनुभएको छ?
खासमा लाइन्सेन्स पास भएर काम गर्न योग्य भएपछि यो व्यवहार र गुणहरु नर्स आफैलें नर्सिङ पेसा गर्ने क्रममा आफैंले लागु गर्ने कुरा हो। र नजानेको कुरा आफ्नो सुपरभाइजरलाई सोध्ने नर्सको कतव्र्य हो। तर त्यही कुरा कसैको पर्सनल बानी व्यहोरामा पनि भर पर्छ। हामीले सिकाएको कुरा परीक्षामा नम्बर पाउन मात्र गर्ने भन्ने हुँदैन। त्यो व्यवहारमा उर्तानपर्छ भनेर नै सिकाइएको हुन्छ। नर्सहरुले आफ्नो कतव्र्य पुरा गर्ने कोसिस गर्नुपर्छ र उसलाई निगरानी गर्ने नर्सिङ सुपरभाइजर वा इन्चार्जले पनि निगरानी गरेर सिकाउन पर्छ। यसमा धेरै कुरा व्यक्तिगत आचरणमा भर पर्छ। नर्सहरुले गर्ने काम, कतव्र्य र अधिकारबारे अध्ययन गरेको हुन्छ त्यही अनुसार काम गर्नुपर्छ। नर्सहरु कोही धेरै बोल्ने, कोही कम बोल्ने हुनसक्छन्। उनीहरुको व्यक्तिगत स्वभाव हुन्छ तर उनीहरुले आफ्नो कतव्र्य अनुसार बिरामी तथा बिरामी कुरुवासँग कुराकानी भने गर्नुपर्छ। त्यो गरेको देखिएन भने इन्चार्जहरुले सचेत गराउँछन्। यदी सचेत गराउदा पनि नर्सले बिरामीलाई गर्ने व्यवहारमा सुधार भएन भने नर्सिङ सुपरभाइजरले सामान्य कारबाही गरेर वार्डको ड्युटी नै पनि परिवर्तन गराइदिने गर्छन्।
तर पछिल्लो समय समस्या नर्सहरुलाई पनि थपिएको छ। अहिले स्वास्थ्य समस्याहरु बढेको छ। बिरामी तथा बिरामी कुरुवाको नर्सप्रति अपेक्षा पनि धेरै भयो तर हाम्रा अस्पतालहरुको व्यवस्थापन भने कमजोर भयो। नर्सको संख्या बढाउनुपर्ने, बढाएको छैन। नर्सको काम धेरै छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट निर्देशित र निगरानी हुनुपर्छ। स्वास्थ्य मन्त्रालयमा मन्त्री नै परिवर्तन भइरहने हुँदा यसको कार्यन्वयन नै हुन सकेको छैन।
अहिलेको घटना घट्नुको पछि पनि कारणहरु यही हो। अस्पतालमा राम्रोसँग निगरानी पुगेको छैन, बिरामीले पनि पाउनुपर्ने सेवा अस्पतालबाट पाइरहेको छैन। त्यसमा पनि सबै दोष नर्सहरुलाई नै थोपारिने गरिएको छ। त्यसकारण दुवैतर्फी बिरामी कुरुवा र नर्स दुवै संयमित हुनुपर्छ। एकले अर्काको समस्या बुझेमा यो विवाद समाधान गर्न सकिन्छ। बिरामी पक्ष र नर्सबीचको सम्बन्ध सुमधुर पार्न सकिन्छ।
अहिले नेपालका सरकारी अस्पतालहरुमा नर्सिङ जनशक्तिको दरबन्दीको समस्या कस्तो छ? यो समस्या समाधानका लागि संघले कस्तो पहल गरेको छ?
सरकारी अस्पतालहरुमै नर्सिङ जनशक्तिको दरबन्दी पर्याप्त छैन। नर्सिङ तथा मिड्वाइफ्री रणनीतिले नर्सिङ दरबन्दीको पक्षेपण गरेको छ। तर त्यो अनुसार नर्स राख्न आर्थिक रुपले नसक्ने अवस्था भएको सरकारले भन्छ। तर सरकारले चाहेको र निर्णय गरेको खण्डमा सरकारी अस्पतालमा मापदण्ड अनुसार नर्स राख्न सकिन्छ। सरकारले राम्रोसँग निगरानी गरेको खण्डमा निजी क्षेत्रका अस्पतालमा पनि मापदण्ड अनुसार नर्स राख्न सकिन्छ।
अस्पताल खोल्दा नै नर्स, डाक्टर यति राख्नपर्छ भनेर अस्पताल सञ्चालनको अनुमति दिनुअघि नै नियम लागु गराएर निगरानी गरेमा जनशक्ति पुग्नेगरी हुन्छन्। त्यसैले नियमन र निगरानी कडा भएको खण्डमा ८० प्रतिशत समस्या समाधान हुन्छ।
नर्सिङ जनशक्तिमाथी श्रम शोषण भएका गुनासोहरु पनि सुनिन्छ। यो समस्या कसरी समाधान गर्ने?
श्रम शोषण भन्ने वित्तिकै तलब र सेवासुविधा कै कुरा हो। अहिले नेपाल सरकारको स्टाफ नर्सले ३५ हजार मासिक तलब पाउँछन् भने निजी अस्पतालमा १२ देखि १५ हजार छ। धेरै दियो भने २० देखि २२ हजार मात्र छ। यो त श्रम शोषण नै हो। १८ हजार मासिक तलब त मजदुरको पनि छ। नर्सिङ पेसा त दक्ष जनशक्तिले गर्ने काम हो। नर्सको सेवा सुविधा न्यून हो। हामीले पटक पटक भनिरहेका छौं। सरकारले दिइरहेको न्युनतम तलब र सेवासुविधा अनुसार निजी अस्पतालले पनि दिनुपर्छ। यो भन्दा अगाडिको मन्त्रीहरुले निजी अस्पतालहरुलाई निर्देशन पनि दिएको अवस्था थियो। तर मन्त्री नै फेरिरहने हुँदा हाम्रो समस्याहरु सरकारलाई पटक पटक सुनाउन पर्छ। हामीले राखेका समस्याको समयमै समाधान भएको भए नर्सिङ क्षेत्रमा अहिले देखिएका समस्या आउने थिएनन्।
अन्त्यमा, नर्सिङ क्षेत्रका समस्या र विकृती कसरी समाधान गर्न सकिन्छ?
पहिलो कुरा नर्स र बिरामीको अनुपात मिलाउने, नर्सको सेवा सुविधा उपलब्ध गराउने र रोगको किसिम अनुसार नर्सिङ शिक्षा परिवर्तन गर्दै लाने र सोही अनुसार जनशक्ति तयार गर्नुपर्छ।
सरकारले सरकारी, निजी सबैलाई समेट्न सक्नुपर्छ। नर्स भनेको बिरामीको उपचार २४ घण्टा सेवा गर्ने व्यक्ति हुन्। उनीहरुको सेवा–सुविधामा कन्जुस्याइँ गर्न हुँदैन। यो भएमा नर्सिङ क्षेत्रको समस्या समाधान हुँदै जान्छ।