सन् १९८७ मा विश्व स्वास्थ्य संगठनका सदस्य राष्ट्रहरुले सुर्तीजन्य पदार्थको घातक असरबारे सचेतना जगाउन विश्व धूम्रपान रहित दिवसको स्थापना गरेका थिए र सन् १९८८ अप्रिल ७ मा विश्व धूम्रपानरहित दिवसको विश्व स्वास्थ्य संगठनको सभाले पारित गरिदिएपछि मे ३१ लाई विश्व धूम्रपानरहित दिवसको रुपमा मनाउन थालियो।
हरेक वर्ष मे ३१ मा धूम्रपान तथा सुर्तीजन्य पदार्थको घातक असर र यसले परिवार, समाज र वातावरणमा पार्ने असर बारे सचेत गराइन्छ। विश्वमा हरेक वर्ष करिब ८० लाख मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनले हुने गर्दछ। करिब ७० लाख मानिसले प्रत्यक्ष सेवन गर्ने गर्दछन् भने लगभग १२ लाख मानिसलाई अप्रत्यक्ष अर्थात वातावरणीय असर हुने गरेको पाइन्छ।
विश्वमा सबैभन्दा बढी धूम्रपान कर्ता नाउरु राज्यमा छन्। जहाँ कुल जनसङ्ख्याको ५२.१ प्रतिशत मानिसहरु धूम्रपान गर्दछन्। नेपाल धुम्रपान गर्ने राष्ट्रहरुमध्ये २२ औं स्थानमा पर्दछ। जहाँ जनसङ्ख्याको लगभग ३० प्रतिशत मानिसहरु धूम्रपान गर्दछन्। हरेक वर्षको तथ्यांकलाई हेर्ने हो भने नेपालमा वर्षेनि धूम्रपानकर्ता घट्दै गएको पाईन्छ। सन् २००० मा नेपालमा जनसङ्ख्याको ६४.५ प्रतिशत धूम्रपानकर्ताहरु रहेका थिए।
विश्वमा झण्डै ८० प्रतिशत धूम्रपान तथा सुर्तीजन्य पदार्थको प्रयोगकर्ता निम्न तथा मध्यम आयस्रोत भएको राष्ट्रका छन्। विश्वमा करिब ३५ लाख हेक्टर जमिन सुर्तीजन्य पदार्थको खेतीको लागि प्रयोग गरिन्छ भने यसको लागि वार्षिक करिब २ लाख वन फडानी गर्ने गरिन्छ। सुर्ती खेतीले जमिनलाई पनि नकारात्मक असर गर्दछ। यसको खेती गर्न निकै नै मात्रामा रसायनिक मल तथा किटनाशक औषधिको प्रयोग हुने गर्दछ जसले गर्दा खेतको उत्पादनमा ह्रास आउछ र खाद्य उत्पादनमा कमी हुन्छ।
यो वर्ष बिश्व स्वास्थ्य सङ्गठनको नारा पनि यही छ, 'हामीलाई खाना चाहिन्छ, सुर्ती होइन'। धूम्रपान तथा सुर्तीजन्य पदार्थको प्रयोगले हरेक वर्ष करिब ८० करोड किलो चुरोटको ठुट्टो तथा अन्य हानिकारक पदार्थ निस्किने गर्दछ साथै हजारौ घातक रसायनहरु हावा, पानी तथा जमिनमा मिसिने गर्दछ। प्लाष्टिकबाट बनेका यी फिल्टरहरु माटोमा पतन हुन दशौ वर्ष लाग्दछ र ति सल्केका ठुटाहरुमा हुने हानिकारक रसायनहरुले माटोमा गाडिसकेपछी पनि भुमी र वातावरणमा नकारात्मक असार गर्दछ।
सुर्तीजन्य पदार्थको प्रयोग धूम्रपान वा धुवाँरहित तरिकाले प्रयोग गरिन्छ। धूम्रपानमा करिब ७ हजार घातक रसायन तथा ७० भन्दा बढी क्यान्सरका कारक तत्वहरु पाइन्छ। सुर्तीजन्य पदार्थ तथा धूम्रपानले मुटुको रोग, फोक्सोको समस्या, मस्तिष्कघात हुने गर्दछ। गर्भावस्थामा यसको प्रयोगले कम तौल भएको बच्चा जन्मनु तथा समय अगाडि बच्चा जन्मिने, गर्भ तुहिने, शिशुको राम्रो स्वास्थ्य विकास नहुन सक्छ।
धुवाँरहित सुर्तीजन्य पदार्थ अर्थात खैनी, सुर्तीमा घातक रसायनहरु जस्तै टोबाको स्पेसिफिक नाईट्रोसामाईन रहेको हुन्छ। यस्तै पोलोनियम-२१० तथा पोलिसिस्टिक एरोमाटिक हाईड्रो कार्बन्स नाममा क्यान्सरका कारक तत्व पाइन्छ। धूम्रपान तथा सुर्तीजन्य पदार्थले मुखको वा फोक्सोको क्यान्सर मात्र नभई कम्तीमा पनि शरीरका अरु १२ अंगको क्यान्सर गराउँदछ। जस्तै खाना नली, कलेजो, पेट, आन्द्रा, पाठेघरको मुख, पिसाब थैली, मिर्गौला, रक्त क्यान्सर आदि।
धूम्रपान तथा सुर्तीजन्य पदार्थ क्यान्सर र क्यान्सरबाट हुने मृत्युबाट जोगिन सक्ने प्रमुख कारक तत्वहरुमध्ये हुन्। हरेक १० क्यान्सरबाट हुने मृत्युमध्ये ३ को कारण धूम्रपान तथा सुर्तीजन्य पदार्थ रहेको पाइन्छ। त्यस्तै कुल क्यान्सरको ४० प्रतिशत कारण धूम्रपान तथा सुर्तीजन्य पदार्थको प्रयोगले हुने गर्दछ। धूम्रपानको कारण हुने क्यान्सरमध्ये फोक्सो तथा आन्द्राको क्यान्सरले कुल क्यान्सरको आधा भाग ओगटेको पाइन्छ। कुनै पनि उमेरमा धूम्रपान तथा सुर्तीजन्य पदार्थ त्याग्दा क्यान्सर हुने सम्भावना कम गर्दछ।
हाम्रो मूख्य चुनौती भनेको नै अझै पनि मनिसको मृत्यु धूम्रपान तथा सुर्तीजन्य पदार्थको कारणबाट हुने क्यान्सरले हुने गर्दछ।
कम गर्न कसरी सकिन्छ?
राज्यले धूम्रपान तथा सुर्तीजन्य पदार्थको नियन्त्रणमा लगानी गर्ने
धूम्रपान तथा सुर्तीजन्य पदार्थको उत्पादन, बिक्री तथा वितरणमा नियन्त्रण गर्ने
धूम्रपान गर्ने क्षेत्र (स्मोकिङ जोन) बनाउने, जसले गर्दा धूम्रपान नगर्ने व्यक्ति यसबाट प्रभावित हुँदैन।
राज्यले धूम्रपान तथा सुर्तीजन्य पदार्थविरुद्ध शैक्षिक सामाग्रीमा लगानी गर्ने।
धूम्रपान त्याग्न चाहनेलाई सो सम्बन्धी उपचार सहजिकरण गर्ने।
(लेखक क्यान्सर रोग विशेषज्ञ हुन्।)